काठमाडौं,चैत ११- सरकारले आजबाट लागु हुने गरी एक हप्ताका लागि देश लकडाउनको घोषणा गरेको छ । विश्व स्वास्थ्य संगठनले ‘विश्वव्यापी महामारी’ घोषणा गरेको कोभिड १९ (कोरोना भाइरस) को संम्भावित जोखिमबाट राष्ट्रलाई बचाउन सरकारले उक्त कदम चालेको हो ।
आज काठमाडौं उपत्यका सहित देशभरका सडक सुनसान देखिएका छन् भने सडकमा ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ । प्रहरीले सरकारको आदेशको अवज्ञा गरी बाहिर हिडिहेका नागरिकलाई सम्झाई घर पठाउने काम समेत गरिरहेका छन् । तर सडकमा जनताको सुरक्षाको लागि परिचालन गरिएका प्रहरी, शसस्त्र तथा अन्य अत्यावयक सेवामा खटिरहेका कर्मचारीहरु यो महामारीबाट सुरक्षित छन त ? उनीहरुको सुरक्षाको लागि आवश्यक पर्ने प्रोटेक्टिभ पोसाक, माक्स , चस्मा, ग्लोभस् तथा जुत्ताको व्यवस्था सरकारले गरेको छ त ?
पक्कै पनि छैन् । अहिले पनि सडकमा पुलिस तथा शसस्त्रका जवानहरु साधारण मास्कको भरमा देशका विभिन्न ठाँउमा परिचालित भएका छन् । सर्वसाधरण जनताको सुरक्षाका लागि जुटेका ती सरकारी कर्मचारीको सुरक्षा गर्नु सरकारको दायित्व हो । यसतर्फ सरकारी निकायको छिटोभन्दा छिटो ध्यान जान जरुरी छ ।
त्यसै गरी सरकारले उपत्यकालगायत देशका विभिन्न अस्पताललाई कोारेना अस्पतालको रुपमा परिणत गरी सोहि अनुरुपको आइसियु बेर्डहरु बनाइरहेको छ । यो सरकारको राम्रो काम हो तर अस्पतालमा बेर्ड त बनायो तर उपचारमा संलग्न डाक्टर तथा नर्सहरुलाई आवश्यक पर्ने पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) को अभाव देखिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले स्वास्थ्यकर्मीलाई दिएको उपचारको गाइडलाइनमा पीपीईलाई पहिलो र अनिवार्य शर्त भनिएको छ । पीपीईविना उपचार गर्नु घातक रहेको भन्दै डब्लुएचओले चिकित्सकहरुलाई सचेत रहन चेतावनी दिएको छ ।
तर स्वास्थ्य मन्त्रालयले अझैसम्म पीपीई जोहो गर्न सकेको छैन । जसका कारण कोरोना संक्रमितको उपचारमा खटिने चिकित्सकहरुमा मनोवैज्ञानिक त्रास बढेको छ । स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले सरकारसँग ५ सय थान पीपीई स्टकमा रहेको बताएका छन् । पीपीई कहिलेसम्म आइपुग्छ भन्नेबारे उनीहरु नै अनविज्ञ रहेको पाइएको छ । यसले सरकारले रोग नियन्त्रणका लागि ठूला ठूला निर्णय गरेता पनि कार्यान्वयनको पाटो भने फितलो रहेको दर्साउँछ ।
नेपालमा अहिले सम्म दुई जनामा मात्र कोरोना संक्रमणको पुष्टि भएको छ । जसमध्य एक युवा संक्रमणबाट पूर्ण रुपमा निको भएका छन् भने एक युवतीको शुक्रराज सरुवा रोग अस्पतालमा टेकुमा आइसोलेसनमा राखेर उपचार भइरहेको छ । यसै सन्दर्भमा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनलाई हामीले कोरोना भाइरससँग लड्न सरकारको तयारी पर्याप्त छ त भनी प्रश्न गरेका थियौ ?
उनले सरकारले चालेको कदम सकारात्मक रहेको बताए । उनले भने – ‘कोरोना भाइरसको संक्रमणका लागि सरकारले चालेको कदम स्वागत योग्य छ तर सरकारले यो कदम एक महिना अघि नै गर्नु पर्दथ्यो । सरकारले कोरोना संक्रमितका लागि छुट्टै अस्पतालको घोषणा गरेको छ तर त्यहाँ रहेका स्वास्थ्यकर्मीको सुरक्षाका लागि आवश्यक पर्ने पीपीईको राम्रो व्यवस्था हुन सकेको छैन् । सरकारले निर्णय त गर्यो तर त्यसको कार्यान्वयनमा ढिलासुस्ती देखिएको छ । ‘
उनले नाकाहरुमा पनि हेल्थ डेक्स देखाउनका लागि मात्र रहेको र सयौं मानिस विना स्वास्थ्य जाँच नेपाल प्रबेश गरेको प्रसंग उठाउँदै यदि ती व्यक्ति संक्रमित रहेको खण्डमा ठूलो समस्याको रुपमा देखिने बताए । उनले भने – ‘नाकाबाट विना स्वास्थ्य परिक्षण सयौं नेपाली आफ्नो घरगाँउ गएका छन् यदि उनीहरु संक्रमित छैनन् भने त ठिक छ यदि संक्रमित रहेको खण्डमा उनीहरुले सिंगो समाजलाई नै सार्ने जोखिम देखियो । यस तर्फ सरकार गम्भीर भएर सोच्नु पर्दछ ।’
हाम्रोले खाद्यन्नको अभावको अवस्था त सृजना हुदैंन नी भन्ने प्रश्नमा उनले हाल नभएपनि हुदैंन नै भन्न सक्ने अवस्था नरहेको बताए । उनले लामो समय यस्तै अवस्था रहे सरकारको प्रयाप्त तयारी नरहेको समेत आरोप लगाए ।
FACEBOOK COMMENTS