काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१/८२ मा कर्मचारीको तलब, भक्ता र अन्य सुविधा बढाएको छैन ।
सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनद्वारा आज प्रस्तुत आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट वक्तव्यमा कर्मचारीको तलब, भत्ता र अन्य सुविधाको विषयमा केही पनि उल्लेख गरिएको छैन । गत आवमा पनि कर्मचारीको तलब, भत्ता र अन्य सुविधा वृद्धि भएको थिएन ।
यस्तै, सरकारले सामाजिक सुरक्षा भत्ता वृद्धि गरेको छैन । हाल सरकारले जेष्ठ नागरिक, दलित, एकल महिला, विधवा, पूर्ण अपाङ्गता, बालबालिका र लोपोन्मुख जाति लगायतलाई सामाजिक सुरक्षा प्रदान गर्दै आएको छ ।
चालु आवमा सरकारले जेष्ठ नागरिक (६८ वर्ष) लाई मासिक ४ हजार रुपैयाँ, दलित (६० वर्ष) २ हजार ६६० रुपैयाँ दिँदै आएको छ । यस्तै, ६० वर्ष नाघेका एकल महिलालाई मासिक २ हजार ६६० रुपैयाँ, विधवालाई २ हजार ६६० रुपैयाँ, पूर्ण अपाङ्गता भएका व्यक्तिलाई ३ हजार ९९० रुपैयाँ, अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई २ हजार १२८ रुपैयाँ मासिक रुपमा दिँदै आएको छ ।
यसैगरी, पाँच वर्षसम्मका बालबालिकालाई पनि मासिक ५३२ रुपैयाँ र लोपोन्मुख जातिलाई पनि ३ हजार ९९० रुपैयाँ भत्ता दिँदै आएको छ ।
FACEBOOK COMMENTS