काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ, काठमाडौं (एनसीआईसीके)ले आयोजना गरेको ‘एनसीआईसीके डिजिटल एक्सपो, २०८१’ सम्पन्न भएको छ ।
देशरभर छरिएका कुटीर, घरेलु र साना–ठूला सबै उद्योगी व्यवसायीहरूको वस्तु तथा सेवा उत्पादन र व्यापार व्यवसायलाई डिजिटल बजारमार्फत नेपाली उत्पादनको विश्वव्यापीकरण गर्ने उद्देश्यका साथ पहिलोपटक आयोजना गरिएको डिजिटल एक्सपो सम्पन्न भएको उद्योग वाणिज्य संघ काठमाडौंले जानकारी दियो ।
गत वैशाख १४ गतेदेखि सुरू भएको एक्सपो हिजो शुक्रबार औपचारिक कार्यक्रम गरी सम्पन्न गरिएको आयोजक संस्था नेपाल उद्योग वाणिज्य संघ, काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए । संघका अध्यक्ष श्रेष्ठको अध्यक्षता र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद (डीपी) अर्यालको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम गरिएको मेला समितिका सभापति उज्वल जंग शाहले जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्यालसहित आयोजक संस्था एनसीआईसीकेका अध्यक्ष दिनेश श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठ, मेला समितिका सभापति उज्वल जंग शाह, संघका वरिष्ठ उपाध्यक्ष जय शिवाकोटीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
मन्तव्यका क्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्यालले उद्योग वाणिज्य संघ, काठमाडौंले पहिलो प्रयासस्वरूप गरेको ‘एनसीआईसीके डिजिटल एक्सपो, २०८१’ को प्रसंशा गर्दै आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरे । सरकारले निजी क्षेत्रलाई नबुझेसम्म, सुरक्षा नदिएसम्म र देशमै उद्योगधन्दा खोल्ने वातावरण नबनाएसम्म भाषणबाजीले मात्रै देश समृद्ध बन्न नसक्नेमा आफू स्पष्ट रहेको भन्दै मन्त्री अर्यालले निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार रहेको प्रष्ट पारे ।
‘व्यक्तिगत रूपमा भन्नुपर्दा म पनि निजी क्षेत्रबाटै हुर्किएको हुँ । केही नयाँ गर्ने हुटहुटी बोकेर हामी सरकारमा आएका छौँ, अवश्य पनि केही गर्नेछौँ,’ मन्त्री अर्यालले भने, ‘पछिल्लो समय हामी रोजगारी सृजना कसरी गर्न सकिन्छ भनेर गहन अध्ययन गरिरहेका छौँ । त्यसका लागि साना र मझौला व्यवसयाका क्षेत्रमा काम गर्दा रोजगारी सृजना हुने भएकाले हाम्रो ध्यान त्यसतर्फ गएकै छ । यी सबै कामका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छ ।’
बेरोजगारले रोजगारी नपाउने र रोजगारदाताले उपयुक्त श्रमिक नपाउने समस्याको अन्त्य गर्नका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘श्रमाधान’लाई अघि बढाएको मन्त्री अर्यालले स्पष्ट गरे । यस्तै, उनले रोजगार बैंकको समेत अवधारणा अघि सारिएकाले अब रोजगार र श्रमिक एक क्लिकमा एउटै पोर्टलबाट पाउन सकिने जानकारी दिए । यसैगरी उनले अबको दुई वर्षजति शीपमूलक कार्यक्रम अगाडि बढाएर बजारको माग अनुसार शीपयुक्त जनशक्ति तयार पार्ने काममा पनि मन्त्रालय लागिरहेको जानकारी दिए ।
यसैगरी नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठले काठमाडौं च्याप्टरले पहिलोपटक डिजिटल मेला आयोजना गरेकोमा खुसी व्यक्त गर्दै अब अरु संघहरूले पनि यो विषय अनुशरण गर्नुपर्ने धारणा व्यक्त गरे ।
यस्तै, आयोजक संस्थाका अध्यक्ष दिनेश श्रेष्ठले सबैको सहयोगका कारण डिजिटल एक्सपो सफल भएको बताउँदै निःस्वार्थ सेवाभावबाट प्रेरित नेतृत्वकर्ता, पदाधिकारी, उद्योगी व्यवसायी र डिजिटल माध्यमबाट भाग लिने प्रदर्शकर्ता, मेलालाई हौसला प्रदान गर्ने प्रमुख अतिथि, अतिथिवर्ग, सञ्चारकर्मी एवम् डिजिटल एप प्रदान गर्ने मण्डला सिस्टमका समूहलगातलाई धन्यवाद व्यक्त गरे ।
मेलामा केही साना–साना कमीकमजोरी भएको र त्यसलाई आगामी दिनमा सिक्दै र सच्याउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै उनले भने, ‘यो मेलाबाट हामीले धेरै कुरा सिक्ने मौका पाएका छौँ । केही गल्तीहरू पनि भएका छन् । यसबाट पाठ सिक्दै आउँदा दिनमा सुधार गर्दै अझ परिस्कृत र भव्य रूपमा मेला आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।’
मन्तव्यका क्रममा उनले एउटा मन्त्रालयले गरेको निर्णय अर्को मन्त्रालयले थाहै नपाउने वा मन नपरे अर्को मन्त्रालवयले काट्ने परिपाटीको अन्त्य गर्न मन्त्री अर्यालको ध्यानाकर्षण गराए । सरकारका एजेन्सीहरूले सरकारकै निर्णय थाहा नपाएजस्तो गरेर उद्योगी–व्यवसायीहरूलाई अनावश्यक दुःख दिने गरेकोतर्फ सङ्केत गर्दै उनले भने, ‘सरकारको एउटा नियकाले गरेको निर्णय चाल पाउन अर्को निकायलाई वर्ष लाग्छ । एउटाको निर्णय अर्कोले थाहा नपाउने हुँदा हामीलाई समस्या परिरहेको छ । एउटा मन्त्रालयले गरेको निर्णय अर्कोले काट्न नसक्ने कानुन बनोस् । नागरिकलाई कानुन थाहा पाएनौँ भन्ने छुट छैन भने सरकारका निकायहरूले पनि निर्णय थाहा पाएनौँ भनेर छुट पाउने छिद्र नरहोस् । यदि यस्तै भइरहने हो भने हामीले हाम्रो समस्याहरू ढुक्क भएर कसलाई सुनाउने ?’
यस्तै, संघका वरिष्ठ उपाध्यक्ष जय शिवाकोटीले आफूहरूले पहिलोपटक गरेको डिजिटल मेला सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउने सबै व्यक्ति–व्यक्तित्व र संघसंस्थाहरूलाई धन्यवाद ज्ञापन गरे । उनले मेला समितिका सभापति उज्वल जंग शाह र उनको टीमले महिनाभर गरेको प्रभावकारी कामको प्रसंशा गर्दै सबैको सहयोगबाट मेला सफल बनेको धारणा व्यक्त गरे । दैनिक जीवनका धेरैजसो कामहरू डिजिटल माध्यममार्फत हुन थालेको परिप्रेक्ष्यमा नेपाल उद्योग वाणिज्य संघ, काठमाडौंले त्यसैलाई प्रोत्साहन मिल्नेगरी डिजिटल मेला आयोजना गरेको स्पष्ट गरे ।
यसैगरी, मेला समितिका सभापति उज्वल जंग शाहले मेला आयोजना गर्नुको उद्देश्यमाथि प्रकाश पार्दै मेलामा २०० प्रदर्शनकर्ता र करिब पाँच लाख अवलोककर्ताले सहभागिता जनाएको जानकारी दिए । भौतिकरूपमा मेला आयोजना गर्दा सबैको पहुँच नपुग्ने र डिजिटल गर्दा देशदेखि विदेशमा समेत पहुँच पुग्ने यथार्थलाई दृष्टिगत गरी आफूहरूले पहिलो प्रयासस्वरूप भर्चुअल मेला आयोजना गरेको जानकारी उनले दिए ।
‘हामीले अहिले यो बाटो मात्र बनाएका हौँ, अझै धेरै गर्न बाँकी छ,’ सभापति शाहले भने, ‘हामी यो मेला गर्न सफल भएका छौँ । अब उद्योग वाणिज्य संघ जिल्ला र नगरका संगठनहरूले पनि यस्तो प्रदर्शनीलाई अपनाउन सक्नेछन् ।’ करिब दुई वर्षयता समस्यामा रहेको अर्थतन्त्रलाई चलायमान बनाउन र उद्योगी व्यवसायीको गिरेको मनोबल उकास्नका लागि मेहनतका साथ डिजिटल मेला आयोजना गरिएको उनको भनाइ थियो ।
उनले मेलाको उद्घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र समापन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्यालबाट गर्न पाउँदा संघ अत्यन्तै खुसी भएको बताउँदै मन्त्रीद्वयको हौसलाले पनि उद्योग–व्यवसायको क्षेत्रमा सकारात्मक रक्तसञ्चार भएको धारणा व्यक्त गरे । सभापति शाहले मेलाका दौरान सयोग गर्ने सबै पक्षलाई धन्यवाद ज्ञापन गरे ।
कार्यक्रममा डिजिटल एक्सपोलाई विभिन्न क्षेत्रबाट सहयोग पुर्याउनेहरू, रवीन्द्र श्रेष्ठ, संगीता खत्री, माधव मुल्मी, सञ्जीव लामा, कार्यसमिति सदस्यद्वय फुपुतेञ्जिङ शेर्पा र प्रेमहरि मैनालीलाई प्रशंसापत्रले सम्मान गरिएको थियो । यस्तै, मेलालाई प्रायोजन गर्ने प्रायोजकहरू अशोका कार्वन, श्रेष्ठ एण्ड इन्ड्रष्टीज, रिद्धिसिद्धि, ज्वेलर्स, मैनाली इन्ड्रष्टी प्रालि, श्रीनाथ कलेक्सन, फेसियल हाउस, सगरमाथा लुम्बिनी इन्स्योरेन्स लिमिटेड, एनएमबि बैंकलगायतलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो ।
यसैगरी, डिजिटल मेलाको अवधारणालाई व्यवहारमा उतार्न मुख्य भूमिका खेल्ने मण्डला सिस्टमका अध्यक्ष विप्लवमान सिंह, इन्टरनेट पार्टनर भायानेट र जर्मन चेम्बर अफ कमर्सलाई पनि सम्मान गरिएको थियो ।
यस्तै, चेम्बर अभियानमा सहयोग पुर्याएको भन्दै बागमती प्रदेशका जिल्ला नगर उद्योग वाणिज्य संघहरू गोदावरी उद्योग वाणिज्य संघ, धुलीखेल उद्योग वाणिज्य संघ, कीर्तिपुर उद्योग वासणिज्य संघ, भक्तपुर उद्योग वाणिज्य संघ, चन्द्रागिरी नगर उद्योग वाणिज्य संघ, महालक्ष्मी नगर उद्योग वाणिज्य संघ, शंकरापुर नगर उद्योग वाणिज्य संघ, काभ्रे नगर उद्योग वाणिज्य संघलगायतलाई पनि सम्मानपत्र प्रदान गरिएको थियो ।
सम्मानितहरूसहित थप तस्बिरहरू–
FACEBOOK COMMENTS