काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले आगामी भदौमा आयोजना गर्ने १६औं संस्करणको ‘नाडा अटो शो २०२४’को स्टल गोलाप्रथाबाट उपलब्ध गराइने भएको छ ।
प्रदर्शनीमा भाग लिनेसम्बन्धी गरिएको सर्वेक्षणको आधारमा स्टलका लागि अत्यधिक माग भएकाले विगतका संस्करणहरु जस्तै यस वर्ष पनि गोलाप्रथाद्वारा नै स्टल उपलब्ध गराइने नाडाले जानकारी दिएको छ ।
नाडाले आगामी भदौ ११ देखि १६ गतेसम्म सवारी साधन, पार्टपूर्जा, वित्तीय सेवा एवम् अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको एक मात्र भव्य प्रदर्शनीका रूपमा १६औं संस्करणको ‘नाडा अटो शो २०२४’ आयोजना गर्दैछ । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आयोजना हुने प्रदर्शनीका लागि आजदेखि स्टल बुकिङका लागि रजिष्ट्रेशन खुला गरिएको हो । इच्छुक व्यवसायीहरूले आगामी असार ५ गतेसम्ममा रविष्ट्रेशन गरिसक्नुपर्ने नाडाले बताएको छ ।
प्रदर्शनीमा दुई पांग्रे, तीन पांग्रे, चार पांग्रे, लाइट कमर्सियल, वित्तीय संस्था, अटो कम्पोनेन्ट्स एवम् ग्यारेज उपकरणहरुलाई समूह अनुसार छुट्टयाइएको हुँदा सोही अनुरुप रजिष्ट्रेशन गर्न मिल्ने व्यवस्था मिलाइएको आयोजनकको भनाइ छ ।
नाडा अटो शो समितिका संयोजक अनुपकुमार बरालका अनुसार अर्थतन्त्रमा राजस्व सङ्कलन र रोजगारी सृजनाका लागि विषेश योगदान पुर्याउँदै आइरहेको सवारी साधन क्षेत्रमा सङ्लग्न उद्योगी, व्यापारी, उद्यमी, कर्मचारी एवम् आम उपभोक्ताहरूलाई नाडा अटो शो २०२४ ले सकारात्मक ऊर्जा एवम् नवीनतम् प्रविधिहरुको साक्षात्कार गराउने विश्वास आयोजकको छ ।
FACEBOOK COMMENTS