काठमाडौं । कामको खोजीमा यो वर्ष पनि बिदेसिने संख्या ८ लाख नजिक पुग्ने भएको छ । स्वदेशमा रोजगारी क्षेत्रमा संकुचन आएपछि रोजगारी खोज्दै विदेशिने संख्या चालु आवमा समेत ८ लाखसम्म पुग्ने देखिएको हो ।
चालु आर्थिक वर्षको चैत, वैशाख र जेठमा मात्र प्रति महिना ७० हजारभन्दा बढी युवा विदेसिएका छन । गत वर्ष पनि यही संख्यामा वैदेशिक रोजगारीमा युवा जनशक्तिले देश छाडेका थिए ।
वैदेशिक रोजगार विभागका निर्देशक लोकनाथ भुसालले वैदेशिक रोजगारीमा जाने युवा संख्या बढी रहेका बताएका छन् । चालु आवको चैत महिना ७१ हजारले श्रम स्वीकृति लिएकोमा वैशाखमा ७० हजार र जेठमा पुनः७१ हजारले श्रम स्वीकृति लिएका छन् ।
वैशाखमा ६० हजार ९४१ पुरुष र ६ हजार २०१ महिला वैदेशिक रोजगारीमा गएको विभागले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । यस्तै जेठमा ६३ हजार ७३२ पुरुष र ७ हजार ७८९ महिलाले विदेश जान श्रम स्वीकृति लिएको विभागले जनाएको छ । गत महिनासम्म वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्याका आधारमा मासिक औसत ६० हजार बढी युवा वैदेशिक रोजगारीमा गएको देखिएकोमा जेठसम्मको तथ्याङ्कले औसत मासिक ६२ हजार युवा विदेश गएको देखिन्छ । यो संख्या बिदामा आएर पुनः श्रम स्वीकृति लिनेको समेत हो ।
चालु आवमा दैनिक औसत २ हजार ६४ र मासिक औसत ६१ हजार ९३० युवा खाडी तथा मलेसियालगायतका श्रम गन्तव्य जाने गरेका तथ्याङ्कले देखाएको छ । आन्तरिक रोजगारीका क्षेत्र संकुचित बन्दै जाँदा विकल्प खोज्दै बिदेसिने संख्या बढ्दो क्रममा रहेको छ ।
⇒ चालु आवमा दैनिक औसत २ हजार ६४ र मासिक औसत ६१ हजार ९३० युवा खाडी तथा मलेसियालगायतका श्रम गन्तव्य जाने गरेका तथ्याङ्कले देखाएको छ । आन्तरिक रोजगारीका क्षेत्र संकुचित बन्दै जाँदा बिदेसिने युवा बढेका हुन् ।
विदेश जानेमध्ये जेठ महिनामा यो वर्षको हालसम्मकै बढी ७१ हजार ५३१ पुगेको वैदेशिक रोजगार विभागले जनाएको छ । विगत २ वर्षअघिको सामान्य अवस्थामा नेपालबाट मासिक औसत ४० हजार युवा मात्र वैदेशिक रोजगारीमा जाने गरेकोमा २ वर्षयता यसको दरमा वृद्धि भएको छ ।
विभागको २ आर्थिक वर्षको ११ महिनाको तथ्याङ्क हेर्दा चालु आवमा दैनिक औसत २१ हजारभन्दा बढी युवाले श्रम स्वीकृति लिएको देखिन्छ । गत वर्षको वैशाखसम्म मासिक औसत ५० हजार युवाले श्रम स्वीकृति लिएको देखिन्छ भने चालु आवमा यो संख्या मासिक ६१ हजार रहेको छ ।
चालु आवको साउनमा ६३ हजार, भदौमा ७६ हजार, असोजमा ५६ हजार, कात्तिक र मंसिरमा क्रमशः ६८ हजार, पुषमा ६५ हजार, माघमा ६४, फागुनमा ६१, चैतमा ६१ हजार, वैशाखमा ६७ हजार र जेठमा ७१ हजारले श्रम स्वीकृति लिएको देखिन्छ । कोरोना संक्रमण हुँदा लागू गरिएको लकडाउन यता आन्तरिक रोजगारीमा संकुचन आए पनि विगत २ वर्षयता वैदेशिक रोजगारमा जाने संख्याले रेकर्ड नै कायम गर्न थालेको छ । साउनपछि लगातार उकालो लागेको विदेश जाने क्रम हालसम्म पनि कायम रहेको छ ।
नेपाल र नेपाली युवाको प्रमुख आयस्रोतको रूपमा रहेको वैदेशिक रोजगारी विगतका २ वर्षअघि घटेको देखिए पनि अबका दिनमा भने यसले गति लिने विज्ञको भनाइ छ । अघिल्लो आवबाट वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्दै गइरहेको देखिन्छ । गत आर्थिक वर्षमा श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको संख्या ३.६८ गुणाले वृद्धि भएर ७ लाख ७० हजार पुगेको थियो ।
FACEBOOK COMMENTS