काठमाडौं । चालु आवको ११ महिनामा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) १० अर्बले बढेको छ ।
आव आव २०७९–८० मा ३४ अर्ब ५८ करोड एफडीआईको प्रतिबद्धता आएकोमा चालु आवको सोही अवधिमा ४४ अर्ब ४० करोड रुपैयाँको प्रतिवद्धता आएपछि एफडीआई १० अर्बले बढेको हो ।
चालु आवको वैशाखमा भएको तेस्रो लगानी सम्मेलनमा आठ सयभन्दा बढी विदेशी प्रतिनिधिसहित दुई हजार पाँच सयभन्दा धेरैको सहभागिता रहेको थियो । सम्मेलनमा सङ्कटबाट बाहिर ननिस्किसकेको अर्थतन्त्रलाई उकास्नका लागि आवश्यक पर्ने आर्थिक एजेन्डामा सबैै राजनीतिक दलले राष्ट्रिय सहमति व्यक्त गरेका थिए । मुलुकमा स्वदेशी तथा विदेशी लगानी भित्र्याएर आर्थिक समुन्नति हासिल गर्ने उद्देश्यका साथ लगानी सम्मेलनको आयोजना भएको थियो । सम्मेलनमा सबै राजनीतिक दलका नेता तथा प्रतिनिधिहरुले नेपालमा लगानीको राम्रो वातावरण भएको सन्देश दिएको कारण अघिल्लो वर्षको तुलनामा चालु वर्षमा लगानी प्रतिवद्धता बढेको हो ।
उद्योग विभागका अनुसार जेठमा ३ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको छ । यस वर्ष स्वीकृत भएको एफडीआईबाट २० हजार १ सय ४६ जनालाई रोजगारी सृजना हुने अनुमान गरिएको छ । जेठमा भित्रिएको विदेशी लगानीबाट २ हजार ३ सय २३ जनालाई रोजगारी सृजना हुने अनुमान गरिएको छ । जेठसम्म ३ सय ५९ वटा प्रत्यक्ष वैदेशिक लगानीका प्रस्ताव स्वीकृत भएका छन् । जेठमा मात्र ५२ वटा प्रस्ताव स्वीकृत भएको विभागको तथ्यांकमा उल्लेख छ । ६ अर्ब रुपैयाँभन्दा कमको लगानीका लागि उद्योग विभागबाट स्वीकृति दिने कानुनी व्यवस्था छ । ६ अर्ब भन्दा धेरै लगानीमा सञ्चालन हुने परियोजनाका लागि भने लगानी बोर्डबाट स्वीकृति लिनुपर्ने प्रावधान छ ।
प्रत्यक्ष वैदेशिक लगानीको आकर्षण पर्यटनमा अधिक देखिन्छ । पर्यटनमा १७६ वटा प्रस्ताव स्वीकृत भएको छ । यो कुल प्रस्तावको ४९ प्रतिशत हो । सेवा क्षेत्रमा ११४ वटा प्रस्ताव स्वीकृत भएको छ । जुन कुल प्रस्तावको ३२ प्रतिशत हो । उत्पादनमा ४० वटा प्रस्ताव स्वीकृत भएका छन् । सूचना प्रविधिमा १०, कृषिमा ८, पूर्वाधारमा ७, खानीमा ३ र ऊर्जामा १ वटा प्रस्ताव स्वीकृत भएको विभागको तथ्यांकमा उल्लेख छ ।
चालु आवको वैशाखमा भएको तेस्रो लगानी सम्मेलनमा सङ्कटबाट बाहिर ननिस्किसकेको अर्थतन्त्रलाई उकास्नका लागि आवश्यक पर्ने आर्थिक एजेन्डामा सबैै राजनीतिक दलले राष्ट्रिय सहमति व्यक्त गरेको कारण लगानी प्रतिवद्धतामा सुधार आएको अनुमान
तथ्यांक अनुसार यस वर्ष कुल ३ सय ४१ वटा साना उद्योगमा एफडीआई आएको छ । मध्यमस्तरीय उद्योगमा १४ र ठूला उद्योगमा ४ वटामात्र प्रस्ताव स्वीकृत भएको छ । जेठमा ५१ वटा साना उद्योगमा विदेशी स्वीकृत भएको छ । एउटामात्र मझौला उद्योगमा प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत भएको विभागले जनाएको छ । नेपालमा सुरुवातदेखि हालसम्म कुल प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) करिब ५ खर्ब पुगेको छ । अहिलेसम्म ६ हजार २ सय १८ वटा विदेशी लगानी स्वीकृत भइसकेका छन् । स्वीकृत लगानीबाट ३ लाख २९ हजार ६ सय ५५ जनालाई रोजगारी सृजना हुने अनुमान गरिएको छ ।
११ अर्ब अटोमेटिक रुटबाट
सरकारले चालु आवबाट सञ्चालनमा ल्याएको अटोमेटिक रुटबाट जेठसम्म ११ अर्ब ८१ करोड रुपैयाँ बराबर वैदेशिक लगानी भित्रिएको छ । जेठसम्म कुल ९० वटा प्रस्ताव अटोमेटिक रुटबाट भित्रिएर स्वीकृत भइसकेको उद्योग विभागले जनाएको छ ।
सरकारले गत वैशाख १६ र १७ मा गरेको लगानी सम्मेलनबाट अटोमेटिक रुटबाट लगानी स्वीकृत गर्ने व्यवस्था गरेको हो । लगानी सम्मेलनमा आशयपत्र मागिएका १९ र लगानीकर्ताको प्रतिक्रिया संकलन ९ सहित १५४ परियोजना प्रस्तुत गरिएको थियो । आशयपत्र पेश गर्न लगानीकर्तालाई ऊर्जा परियोजनाको हकमा ४५ दिन र गैरऊर्जा परियोजनाको हकमा ३५ दिनको समय दिइएको छ । नेपालले सोकेस गरेको परियोजना मुख्य गरी ऊर्जा, आईसीटी, पूर्वाधार, प्रविधि तथा अन्य क्षेत्र रहेका छन् । सम्मेलका क्रममा सार्वजनिक निजी साझेदारी अवधारणालाई अगाडि बढाउन लागि समझदारीपत्रसहित करिब एक दर्जन समझदारीमा हस्ताक्षर भएको थियो ।
FACEBOOK COMMENTS