काठमाडौं । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले निर्माण व्यवसायीहरुको बाँकी भुक्तानी असार मसान्तसम्म गरिसक्ने प्रतिवद्धता गरेर खुसीको सन्देश प्रवाह गरेका छन् ।
काठमाडौंमा आयोजित युथ कम्युनिटी फर नेप्लिज कन्ट्रयाक्टर्सको कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्माण व्यवसायीहरुको भुक्तानी सरकारले गर्दैन कि भनेर शंका नगर्न आग्रह गर्दै यही असार मसान्तसम्ममा सबै भुक्तानी दिइसक्ने बताएका हुन् ।
उनले निर्माण व्यवसायी र सरकारले भुक्तानी गर्ने तथ्याङ्कमा मेल नखाएको भन्दै निर्माण व्यवसायी महासंघले सरकारले गर्नुपर्ने भुक्तानी कति छ ? त्यसको विवरण सरकारलाई उपलब्ध गराउन आग्रह गरे । उनले अर्थ मन्त्रालयले रकमान्तर नगरेको भन्दै दोष दिइने गरेको उल्लेख गर्दै अर्थ मन्त्रालय पनि कानुनअनुसार चल्नुपर्ने भएकाले अर्थ मन्त्रायलाई मात्रै दोष दिन नहुने बताए ।
उनले भने, ‘यहाँ मैले धेरै सुनेँ, पेमेण्टको बारेमा । नेपाल सरकार जति प्रतिकुल स्थितिमा भएपनि सरकार सरकार हो । एउटा सरकारको लागि १०/२० अर्ब रुपैयाँ भनेको धेरै ठूलो कुरा होइन । अहिले हामी सबै दोष दिन्छौँ । अर्थ मन्त्रालयले समयमा भुक्तानी दिएन र रकमान्तर गरिदिएन । अर्थ मन्त्रालय पनि कानूनको भित्र त चल्नुपर्छ नि । अर्थ मन्त्रालयले पनि चाहेको जतिखेर त गर्न पाउँदैन नि त ।’
उनले आफू मन्त्रालयमा आउनेवित्तिकै प्रधानमन्त्री, मन्त्री र सचिवहरूसँग यसबारे छलफल गरेर निर्माण व्यवसायीको कुनै पनि भुक्तानी नरोक्ने निर्णय गरेको पनि बताएका छन् । ‘म यो मन्त्रालयमा आएकै दिन सम्माननीय प्रधानमन्त्रीजी, अहिलेको अर्थमन्त्रीजी, त्यो बेलामा हाम्रा नयाँ सचिव जी, अहिले बजेट शाखा प्रमुख आइसक्नुभएको थिएन । हामी बस्यौँ । भुक्तानीको सवालमा प्रधानमन्त्री, उपप्रधानमन्त्री र अर्थमन्त्रीको एउटा समझदारी भयो । हामीले देशभर सर्कुलर गरेका थियौँ । रणनीतिक सडक र पुलहरु जति बन्छ, बनाउन दिनुस्, पेमेण्ट हामी रोक्दैनौँ । पेमेण्ट नै नभएको होइन । पेमेण्ट अलिकति बढेको छ । म विश्वास दिलाउँछु, सकभर हाम्रो सोच, यो असार भित्रमा हामी तपाईंहरुका पेमेण्ट रोक्दैनौँ । हामी तपाईंहरुको पेमेन्ट गर्छौं असार मसान्तसम्ममा,’ उनले भने ।
तर बजारमा हल्ला भइरहेको र आफूले पाएको भुक्तानी गर्न बाँकी विवरणमा फरकपन आएको भन्दै उनले वास्तविकता लिएर आफूकहाँ आउन पनि अनुरोध गरेका छन् । ‘बजारमा हल्ला छ, ७० अर्ब, ७५ अर्ब पाएनौँ, मैले सबै डाटा लिँदा यो वास्तविकतामा गइरहेको छैन । सबैको डाटा लिँदा तपाईंहरुले भने अनुसार पाइनँ । त्यसैले मेरो अनुरोध १५ गतेभित्र बजेट पास भइसक्दासम्म सक्नुहुन्छ भने हामीले त आफ्नो प्रकारले निर्माण मन्त्रालयले आफ्ना आफ्ना योजना प्रमुखलाई, कार्यालय प्रमुखलाई निर्देशन दिन्छ, कहाँ–कहाँ कति पेमेण्ट बाँकी छ, त्यो डाटा ल्याएर अर्थ मन्त्रालयलाई दिने । महासंघमार्फत आओस् कति पेमेण्ट गर्न बाँकी छ ? अनि हामी मिलाउँछौँ । तपाईंको पेमेण्ट नेपाल सरकारले भुक्तानी गर्ने नै छ, यसमा शंका गर्ने कहीँ छैन ।’
उपप्रधानमन्त्री महासेठले असार १५ गतेसम्म निर्माण व्यवसायीको बाँकी भुक्तानीको यकिन र सही तथ्याङ्क मन्त्रालयाई प्रस्तुत गर्न आग्रह गरे ।
FACEBOOK COMMENTS