काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले निष्कासन गर्न लागेको साधारण सेयर (आईपीओ) का विषयमा सार्वजनिक लेखा समितिले नेपाल धितोपत्र बोर्डसँग सात दिने स्पष्टीकरण सोधेको छ ।
आज समितिले रिलायन्सलाई बुक बिल्डिङमार्फत आईपीओ निष्काशन गर्दा मूल्य कसरी तय गरियो भन्ने विषयमा सात दिने स्पष्टीकरण सोधेको हो ।
बुक बिल्डिङमार्फत रिलायन्सले आईपीओ जारी गर्दा तयार भएका वित्तिय विवरणहरुमा छेडखानी गरेरनगरेको प्रष्ट पार्न समितिले निर्देशन दिएको हो । रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिबाट असार २७ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्न लागेको छ ।
कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि सेयर निष्कासन गर्न लागेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सार्वजनिक निष्कासनको १० प्रतिशत अर्थात १ लाख १५ हजार ५९६ कित्ता सेयर निष्कासन गरेको हो ।
कम्पनीले प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले सेयर निष्कासन गर्न लागेको हो । आईपीओमा न्यूनतम ५० कित्ता आवेदन दिनु पर्नेछ ।
कम्पनीले आगामी आर्थिक वर्ष २०७९/८० को अनुमानित प्रतिसेयर आम्दानी ५४ रुपैयाँ ३४ पैसा देखाएपनि बास्तविक आम्दानी २ रुपैयाँ ८ पैसा रहेको भन्दै समितिले प्रक्षेपित विवरण र वास्तविक विवरण फरक पर्नुको कारण बोर्डसँग स्पष्टीकरण मागेको हो ।
FACEBOOK COMMENTS