काठमाडौं । पछिल्लो समय नेपालमा विद्युतीय गाडीको प्रयोग र आकर्षण तीव्र गतिमा बढिरहेको छ ।
प्रयोग र आकर्षण बढेसँगै नेपाली बजारमा चीन र भारतलगायत विभिन्न मुलुकमा उत्पादन भइ ख्याती कमाएका ब्राण्डहरू पनि भित्रिसकेका छन् । हाल नेपालमा दर्जन भन्दा बढी ब्रान्डका थुप्रै सेगमेन्टहरू बिक्रीवितरण भइरहेका छन् ।
सन् २०१० देखि नै नेपालमा विद्युतीय सवारी साधन आयात सुरू भए पनि पछिल्लो पाँच वर्षमा यसको आयात, प्रयोग र आकर्षण तीव्र बन्दै गएको छ । सुरूमा रेभा र महिन्द्रा ईटूओ नेपाल भित्रिएका थिए । तर अहिले अल न्यू ई–६, आयोनिक–५, एटो थ्री, एमजी जेडएस, किया निरो, कोना, टाटा टिगोर एक्सई, टाटा नेक्सन ईभी, निसान लिफ, नेटा–भी, ईभी–६, बीवाईडी, सेरेसलगायत ब्राण्ड र कारहरू नेपाली बजारमा भित्रिएका छन् । यीमध्ये धेरैजसो कारहरू नेपाली उपभोक्ताको रोजाइमा पनि पर्ने गरेका छन् ।
तर, विद्युतीय गाडीको प्रयोग बढेसँगै यसले निम्त्याउने जोखिमहरू पनि बढ्न थालेका छन् । फलस्वरूप विद्युतीय गाडीप्रतिको आकर्षण नै घट्ने हो कि भन्ने चिन्ता समेत बढाएको छ । किनभने नेपालमा ईभी गाडीको प्राविधिक परीक्षण हुन सकिरहेको छैन । ईभीको प्राविधिक परीक्षणका लागि कानुनकै अभाव भएको यातायातसँग सम्बन्धित अधिकारीहरू बताउँछन् ।
यसैबीच, नेपाल भित्रिएकामध्ये चिनियाँ ब्राण्ड एमजीको कारमा थुप्रै प्राविधिक समस्याहरू देखिन थालेका छन् । प्राविधिक पक्ष कमजोर भएकै कारण यो ब्राण्डका विद्युतीय कार नेपालमा दुईवटा गम्भीर प्रकृतिका दुर्घटना समेत भइसकेका छन् । जुन दुर्घटनाबाट नेपालका पूर्वरक्षामन्त्री भीमसेन दास प्रधानकी जीवनसँगीनी विद्या वनमाली प्रधान हाल गम्भीर अवस्थामा उपचाररत छिन् ।
गत मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अराइभलतर्फको भन्सार गेटमा भएको सो दुर्घटनाबाट उनको टाउकोमा गम्भीर चोट लागेको छ भने हात तथा छातीका विभिन्न हड्डीहरू भाँचिएको बताइएको छ । अमेरिका उडेकी आफ्नी छोरीको बिदाइ गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्किन लाग्दा वनमालीले चलाएको एमजी ब्राण्डको बागमती प्रदेश ०१–०२७ च १५९० नम्बरको गाडी दुर्घटनामा परेको हो ।
वनमालीले पार्किङमा कार स्टार्ट गर्नेवित्तिकै अच्चानक प्रतिघण्टा १०० किलोमिटरको गति लिँदा कार दुर्घटनामा परेको हो । दुर्घटनापछि अचेत अवस्थामा रहेकी वनमालीलाई ट्राफिक प्रहरी, प्रहरी र सर्वसाधारणले उद्दार गरी अस्पताल पठाएका थिए । यो दुर्घटना हनुको मुख्य कारण गाडीको कमजोर प्राविधिक पक्ष भएको अनुमान गरिएको छ । स्टार्ट हुनेबित्तिकै गाडी एक्कासी हुत्तिनु र गाडी ठोक्किँदा पनि एयरब्याग नखुल्नु यसको खराब पक्ष भएको देखिन्छ ।
कुनै पनि सवारी साधन ठूलो दुर्घटनामा पर्दा चालकको टाउको र छाती जोगियोस् भनेर एयरब्यागको व्यवस्था गरिएको हुन्छ । गाडीको स्टेरिङमा रहने उक्त एयरब्याग गाडी ठोक्किएर उच्च प्रेसर भएको पाँच मिलिसेकेन्डभित्रै खुल्ने र यसले टाउको र छातीलाई स्टेरिङ वा त्योभन्दा अगाडिको भागसँग ठोक्किनबाट जोगाउँछ । तर, यो दुर्घटनामा एयरब्यागले समेत काम नगरेको घाइते वनमालीका पति भीमसेन दास प्रधानको भनाइ छ ।
दुर्घटनामा परिसके पछि पनि कम्पनी र बिक्रेताले कुनै चासो नदिएको भन्दै ऊनले आक्रोश व्यत्त गरेका छन् । एमजीका इलेक्ट्रिक गाडीहरू नेपालमा प्यारामाउन्ट मोटर्सले बजारीकरण गर्दै आएको छ । प्यारामाउन्ट मोटर्स मुरारका अर्गनाइजेसन अन्तर्गत रहेको कम्पनी हो । जसको सञ्चालन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का पूर्व अध्यक्ष पशुपति मुरारकाले गर्दै आएका छन् ।
इलेक्ट्रिक एमजीमा भएको यो पछिल्लो दुर्घटना हो । यसअघि गत पुसमा बूढानीलकण्ठको देउवाचोकमा चार्जमा राखिएको बाग्मती प्रदेशको ०१–०२७ च १५८१ नम्बरको गाडीमा आगलागी भएको थियो । चार्जमा राखिएकामे बेला भएको आगलागीबाट मानवीय क्षति नभए पनि ईभीको बजारीकरणको सन्दर्भमा गम्भीर रूपमा लिइएको थियो ।
गाडीमा आगलागी हुनाका कारण पत्ता लगाउन अध्ययन समिति बने पनि त्यसले घटनालाई सामसुम पार्नेबाहेक कुनै उपलब्धि निकालेन । यदि, सो समितिले एमजीको कारमा प्राविधिक समस्या देखाएको भए बिक्रीवितरणमा रोक लाग्न पनि सक्थ्यो । तर, समितिले ‘सिस्टेमिक इरर’ नभएको प्रतिवेदन बुझाएका कारण बचेको थियो ।
विश्वका अन्य मुलुकहरूमा यस प्रकृतिको घटना भए बिक्रीवितरणमा प्रतिबन्ध लाग्ने गरेको प्रशस्त उदाहरणहरू छन् । जस्तोः केही समयअघि अस्ट्रेलियाको सिड्नीस्थित एयरपोर्टमा पार्किङमा राखिएको अवस्थामा एमजीको गाडी अचानक विस्फोट भएको थियो । घटनापछि अष्ट्रेलियाको सरकारले सो गाडी तत्कालका लागि बिक्रीवितरण गर्न रोक लगाएको थियो । त्यतिमात्र होइन, अष्ट्रेलियन सरकारले एमजीको गाडीमा ब्याट्रीको गम्भीर समस्या रहेको भन्दै प्रश्न समेत उठाएको थियो ।
यस्तै, छिमेकी देश भारतमा समेत एमजीका गाडी चलिरहेकै बखत, पार्किङमा राखिएको समय र चार्जिङमा राखिएको समयमा विस्फोट भएका घटनाहरू छन् । सो घटनाहरूका कारण भारतमा एमजी गाडीको बिक्री बन्द गर्नुपर्ने आवाज उठिरहेको छ ।
अन्य गाडीको तुलनामा एमजीका गाडीमा अनावश्यक आवाज आउने, इन्जिन कराउने, बारम्बार मिसफायरको आवाज आउने, समयमा नै एयर ब्याग नखुल्ने र ब्रेक भनेकै समयमा नलाग्ने जस्ता समस्या रहेको प्रयोगकर्ताहरू बताउँछन् । सरकारले सबैभन्दा पहिला गाडीहरू झिकाउने कम्पनीहरूको प्राविधिक क्षमता र अवस्थाबारे चेकजाँच गर्नुपर्ने उनीहरूको माग छ ।
‘यो गाडी हुत्तिने अनि कन्ट्रोल नहुने हुँदो रहेछ । ओभरटेक गर्ने बेलामा पनि यो गाडीको सेन्सरले दायाँतिरको सेतो लाइन क्रस गर्न दिँदैन र बायाँतिरनै तान्छ, जसले गर्दा अर्को गाडीसँग ठोक्किने र दुर्घटना हुने सम्भावना ज्यादा छ,’ एक जना उपभोक्ताले भने । यद्यपि, ती उपभोक्ताले भनेको विषय भने दुर्घटनाको सम्भावनासँग भन्दा पनि विद्युतीय गाडी र नयाँ प्रविधिको पर्याप्त ज्ञानको अभावसँग मेल खाने देखिन्छ ।
यो पनि पढ्नुहोस्–
एमजी कार कनेक्सन लुज हुँदा आगलागी, यसरी गरौँ विद्युतीय गाडीको सुरक्षा !
FACEBOOK COMMENTS