भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकले चालू आर्थिक वर्षको ११ महिनामा तीन खर्बको पेट्रोलियम पदार्थ आयात भएको देखाएको छ । यसले नेपालको कुल निर्यातले आधा मात्र पेट्रोलियम पदार्थ किन्न सक्ने देखाएको छ ।
असार महिनाको इन्धन आयातलाई जोड्ने हो भने वर्षमा साढे ३ खर्ब रूपैयाँ जतिको इन्धन आयात हुने देखिन्छ । यो भनेको धेरे ठूलो रकम हो । ११ महिनामा नेपालको व्यापार घाटा १३ खर्ब १४ अर्ब रूपैयाँमा रहेको छ । अघिल्लो वर्ष १३ खर्ब ३७ अर्ब रूपैयाँ बराबर व्यापार घाटा थियो ।
१३ खर्ब मध्ये पेट्रोलियम आयातमा हुने खर्चलाई कटौती गर्न सकेमा व्यापार घाटा १० खर्ब जतिमा झर्ने थियो । यसका लागि इन्धनबाट चल्ने गाडीको विकल्पमा विद्युतीय गाडी (ईभी)लाई प्रवर्द्धन गर्नुपर्ने देखिएको छ ।
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भइ पारित समेत भइसकेको छ । बजेटमा ईभीमा मोटर क्षमताअनुसार भन्सार र अन्तःशुल्क लगाइएको छ । १० सिटयुक्त ईभीमा अनएसेम्बल्ड र अन्यमा १० प्रतिशतबाट १५ प्रतिशत भन्सार पुर्याइएको छ । यसअघि अन्तःशुल्क लगाइएको थिएन ।
५० किलोवाटसम्मको मोटर भएका ईभीमा भन्सार बढाइएको र अन्तःशुल्क थप लगाइने उल्लेख छ । यस्ता मोटर क्षमता भएका ईभीमा पहिले १० प्रतिशत रहेको भन्सार महसुल अब १५ प्रतिशत पुर्याइएको छ । यस्तै ईभीमा ५ प्रतिशत अन्तःशुल्क थप लगाइने छ । यसअघि अन्तःशुल्क लाग्ने व्यवस्था थिएन ।
यसैगरी, ५० देखि १०० किलोवाट मोटर क्षमता भएका ईभीमा भन्सार र अन्तःशुल्क दुवै समान ५ प्रतिशतका दरले बढाइएको छ । यस्ता क्षमताका ईभीमा अनएसेम्बल्ड अन्तःशुल्क नलाग्ने व्यवस्था रहेकामा अब १५ प्रतिशत लाग्नेछ । यस्तै, क्षमताका अन्य ईभीमा १० प्रतिशत रहेको अन्तःशुल्क १५ प्रतिशत पुगेको छ भने भन्सार १५ प्रतिशतबाट २० प्रतिशत पुर्याइएको छ ।
यस्तै, १०० देखि २०० किलोवाट क्षमतायुक्त ईभीमा भन्सार १० प्रतिशतले बढेको छ । अन्तःशुल्क यथावत् राखिएको छ । यस्तै मोटर क्षमताको अनएसेम्बल्ड ईभीमा अब २० प्रतिशत लाग्ने भएको छ । आर्थिक विधेयक अनुसार १०० देखि २०० किलोवाट मोटर क्षमतायुक्त ईभीको भन्सार महसुल ३० प्रतिशत पुगेको हो । बढेको भन्सार अनएसेम्बल्डका लागि पनि हो । यसअघि २० प्रतिशत थियो ।
सरकारले २०० देखि ३०० सय किलोवाटभन्दा बढीको मोटर क्षमता भएका ईभीमा भन्सार बढाएको छ भने अन्तःशुल्क घटाएको छ । यस्ता ईभीमा अनएसेम्बल्ड र अन्य दुवैमा भन्सार ६० प्रतिशत पुगेको छ । यसअघि ४० थियो । उक्त क्षमताको अनएसेम्बल्ड ईभीमा अन्तःशुल्क ३५ प्रतिशत लाग्ने भएको छ भने अन्यमा ४५ प्रतिशत रहेकोमा ३५ प्रतिशतमा झारिएको छ ।
यस्तै ३०० किलोवाटभन्दा धेरै मोटर क्षमता भएका ईभीमा ८० प्रतिशत भन्सार महसुल पुर्याइएको छ । यस्तो अवस्थामा सरकारले ईभी गाडीको भन्सार र अन्तःशुल्क घटाएमा पेट्रोलियम आयतमा हुने वार्षिक साढे ३ खर्ब रकम देशभित्रै रहने थियो ।
त्यसैले, पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनको विकल्पमा विद्युतीय गाडीमा कर छुट दिनुपर्ने देखिएको छ । विदेशी मुद्रामा खरिद गरिने पेट्रोलियम पदार्थको उपभोग घटाई आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी अर्थतन्त्र बनाउनुपर्ने देखिएको छ । ग्यासको सट्टा विद्युतीय चुलो प्रयोग गर्दा लागत कम पर्ने देखिएको छ ।
पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधन विस्थापनले स्वदेशमै उत्पादित बिजुलीको खपत तथा वातावरण प्रदूषणलगायत समस्या न्यूनीकरण गर्ने छ । नेपालमा जलविद्युत् क्षेत्रमा धेरै कम्पनीहरू सञ्चालनमा रहेको हुँदा स्वदेशमा उत्पादित बिजुली भारतबाहेक अन्य देशमा निर्यात गर्न नसकेको अवस्थामा उत्पादित विद्युत्लाई स्वदेशमै खपत गर्ने वातावरण सृजना गर्ने नीति लिनुपर्ने देखिएको छ ।
योसँगै इन्धन खपत कम गर्न नवीकरणीय ऊर्जाका स्रोतलाई बढावा दिनुपर्ने देखिएको छ । हरित हाइड्रोजन उत्पादनलाई बढावा दिन सकेमा इन्धन आयात कम हुने थियो । ठूला राजनीतिक दलहरूले हरित हाइड्रोजन उत्पादन गरी देशभित्रै खपत गर्नेदेखि मल उद्योग स्थापना गर्ने तथा हाइड्रोजन निर्यात गरी देशको अर्थतन्त्र सुधार गर्नेसम्मका विषय आफ्ना घोषणपत्रमा समेटेका छन् ।
यी सबै कुरालाई हेर्दा सरकारलाई पहिलो चरणमा सहज हुने काम भनेको ईभीमा लगाउँदै आएको भन्सार र अन्तःशुल्क कम गर्नुलाई लिन सकिन्छ । यसले वातावरण प्रदुषण न्यूनीकरण र इन्धन आयात घटाउन सहयोग पुर्याउने छ ।
प्राविधिक परीक्षण गर्न आवश्यक
पछिल्लो समय नेपालमा विद्युतीय गाडीको प्रयोग र आकर्षण तीव्र गतिमा बढिरहेको छ । प्रयोग र आकर्षणसँगै चीन र भारतलगायत विभिन्न मुलुकमा उत्पादन भइ ख्याती कमाएका ब्राण्डहरू नेपाली बजारमा भित्रिसकेका छन् । हाल नेपालमा दर्जन भन्दा बढी ब्रान्डका थुप्रै सेगमेन्टहरू बिक्रीवितरण भइरहेका छन् ।
सन् २०१० देखि नै नेपालमा विद्युतीय सवारी साधन आयात सुरू भए पनि पछिल्लो पाँच वर्षमा यसको आयात, प्रयोग र आकर्षण तीव्र बन्दै गएको छ । सुरूमा रेभा र महिन्ऽा ईटूओ नेपाल भित्रिएका थिए । तर अहिले अल न्यू ई–६, आयोनिक–५, एटो थ्री, एमजी जेडएस, किया निरो, कोना, टाटा टिगोर एक्सई, टाटा नेक्सन ईभी, निसान लिफ, नेटा–भी, ईभी–६, बीवाईडी, सेरेसलगायत ब्राण्ड र कारहरू नेपाली बजारमा भित्रिएका छन् । यीमध्ये धेरैजसो कारहरू नेपाली उपभोक्ताको रोजाइमा पनि पर्ने गरेका छन् ।
तर, विद्युतीय गाडीको प्रयोग बढेसँगै यसले निम्त्याउने जोखिमहरू पनि बढ्न थालेका छन् । फलस्वरूप विद्युतीय गाडीप्रतिको आकर्षण नै घट्ने हो कि भन्ने चिन्ता समेत बढाएको छ । किनभने नेपालमा ईभी गाडीको प्राविधिक परीक्षण हुन सकिरहेको छैन । ईभीको प्राविधिक परीक्षणका लागि कानुनकै अभाव भएको यातायातसँग सम्बन्धित अधिकारीहरू बताउँछन् ।
यसैबीच, नेपाल भित्रिएकामध्ये चिनियाँ ब्राण्ड एमजीको ईभी कार ‘जेडएस’ यही असार १९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै भयानक दुर्घटनामा पर्यो । सो दुर्घटनाबाट नेपालका पूर्वरक्षामन्त्री भीमसेन दास प्रधानकी जीवनसँगीनी विद्या वनमाली प्रधान हाल गम्भीर अवस्थामा उपचाररत छिन् ।
वनमालीले हाँक्ने बागमती प्रदेश ०१–०२७ च १५९० नम्बरको गाडी स्टार्ट गर्नेवित्तिकै अच्चानक प्रतिघण्टा १०० किलोमिटरको गति लिँदा दुर्घटनामा परेको बताइएको छ । तर, सत्यतथ्य पत्ता लागिसकेको छैन । यद्यपि, गाडीको कमजोर प्राविधिक पक्षका कारण दुर्घटना भएको भन्दै अब नेपाल भित्रिने सबै ईभी कारको प्राविधिक परीक्षण गर्न र दुर्घटनाका वास्तविक कारण पत्ता लगाउन आवाज उठिरहेको छ ।
इलेक्ट्रिक एमजीमा भएको यो पछिल्लो दुर्घटना हो । यसअघि गत पुसमा बूढानीलकण्ठको देउवाचोकमा चार्जमा राखिएको बाग्मती प्रदेशको ०१–०२७ च १५८१ नम्बरको गाडीमा आगलागी भएको थियो । चार्जमा राखिएकामे बेला भएको आगलागीबाट मानवीय क्षति नभए पनि ईभीको बजारीकरणको सन्दर्भमा गम्भीर रूपमा लिइएको थियो । गाडीमा आगलागी हुनाका कारण पत्ता लगाउन अध्ययन समिति बने पनि त्यसले घटनालाई सामसुम पार्नेबाहेक कुनै उपलब्धि निकालेन ।
यस्तै, सेरेस ब्राण्डको ईभी गाडीमा समस्या देखिएपछि ग्राहकले गाडी नै फिर्ता गरेको घटना पनि नेपालमै छन् । चिनियाँ ब्राण्डको सेरेस मिनीमा ब्रेक, रेञ्ज, पिकअप र स्टेरिङमा समस्या देखिएको भन्दै नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले ग्राहकबाट गाडी फिर्ता लिएको हो । सेरेस मिनीको स्टेरिङ, ब्रेक र पिकअपमा समस्या देखिएपछि ग्राहक रुष्ट हुँदा कम्पनीले आधा दर्जन भन्दा बढी गाडी फिर्ता लिएको छ ।
यस्तै, गत वैशाख २९ गते बिहान ललितपुरको कुपण्डोलमा बीवाईडी ब्राण्डको कार घुम्तीमा मोड्न खोज्दा सामान्य गतिमै भयानक दुर्घटना भयो । तर, मानवीय क्षति हुनबाट जोगियो । कारका चालकले मदिरा सेवन गरेका कारण सो दुर्घटना भएको बताइएको थियो । तर, घटना भएको स्थान र प्रकृति हेर्दा कुनै प्राविधिक समस्या भएकै कारण गाडी चालकले चाहेभन्दा छिटो र बढी मोडिएर दुर्घटना भएको जस्तो देखिन्थ्यो ।
तर, घटना वा दुर्घटना जेजसरी भएका हुन् ती सबैको आवश्यक अनुसान्धान गरी सत्य र तथ्य पत्ता लगाइ ईभीका उपभोक्ताहरूलाई ढुक्कसँग प्रयोगको वातावरण बनाउनुपर्ने आजको आवश्यकता देखिएको छ । यसरी दुर्घटनाहरू हुँदै जाने, दुर्घटनाबारे आ–आफ्नै प्रकारका प्रचार हुने र उपभोक्तामा भ्रमहरू सृजना भइरहने हो भने नेपालमा ईभीको बजार सोचेजति विस्तार हुन नसक्ने अवस्था देखिन्छ । यसबाट इन्धनको आयात नघट्ने र देशको ऊर्जाशक्ति खपतमा समेत समस्या सृजना हुने स्थिति आउन सक्छ । यो अवस्थालाई सुधार गर्न पनि सरकारले नेपाल भित्रिने ईभी गाडीको प्राविधिकलगायत सबै पक्षको परीक्षण गर्न जरुरी छ । साथै ईभी प्रवर्द्धनका लागि भन्सार र अन्तःशुल्क घटाउन पनि अति नै आवश्यक छ ।
एमजीको ईभी ‘जेडएस’ दुर्घटना : यस्तो छ, पूर्वरक्षामन्त्री भीमसेन दास प्रधानको वयान !
FACEBOOK COMMENTS