काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा करिब एक अर्ब २१ करोड रूपैयाँको करिव ११ हजार बीमा पोलिसी परित्याग भएको छ ।
गत आवको जेठ महिनाको तुलनामा चालु आवको जेठसम्म जीवन बीमा पोलिसी परित्याग गर्ने दर १७ प्रतिशतले बढेको हो । गत वर्षको जेठम १ अर्ब ३ करोडबराबरको बीमा परित्याग भएको थियो ।
अर्थतन्त्रको सुस्तता र बीमाप्रति विश्वासको वातावरण बनाउन सरोकारवालाहरू चुक्दा बीमालेख परित्याग गर्ने क्रम बढेको हो । नियामक निकाय र बीमा कम्पनी दुवैले समयमै ध्यान पुर्याउन नसक्दा बीमा पोलिसी परित्याग गर्ने क्रम बढेको जानकारहरू बताउँछन् ।
अर्थतन्त्रमा आएको शिथिलताका कारण मानिसलाई आर्थिक संकट पर्दै जाँदा सरेण्डर गरेरै भए पनि खर्च चलाउने सोच विकास भइरहेकाले अहिले सरेण्डर बढेको कतिपयको बुझाइ छ ।
कतिपयलाई बीमा पोलिसीका फाइदा र सरेण्डर गर्दा हुने नोक्सानबारे राम्रोसँग जानकारी कम्पनीहरूले दिन नसक्दा धेरैले सरेण्डर रोज्ने गरेको पाइएको छ । बीमा प्राधिकरणले बीमा सरेण्डर कम्तिमा तीन वर्षपछि मात्रै गर्न सक्ने व्यवस्था गरेको छ ।
सुरुमा सरेण्डर गरेर पैसा राम्रो नआउने वा जति ढिलासम्म बीमा पोलिसी जारी राखियो त्यति राम्रो हुन्छ भन्ने बुझाउन नसक्दा पनि अहिले बीमा पोलिसी सरेण्डरको संख्या बढिरहेको हो । बीमा सरेण्डरको संख्या घटाउन बीमा साक्षरतामा जोड दिनुपर्ने विज्ञहरूले बताएका छन् ।
हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरूमध्ये नेपाल लाइफ इन्स्योरेन्समा सबैभन्दा धेरै बीमालेख सरेण्डर भएका छन् ।
कम्पनीको ३५ करोड ९७ लाख रूपैयाँबराबरको बीमा लेख अवधि नसकिँदै निरन्तता नदिने गरी रद्द गरेका हुन् । यस कम्पनीको २ हजार २०९ वटा पोलिसी सरेण्डर भएको छ ।
यसैगरी दोस्रो ठूलो सरेण्डर लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडमा भएको छ । उक्त कम्पनीमा एक महिनाको अवधिमा ३५ करोड ४९ लाख रूपैयाँबराबरको ३ हजार ४६३ वटा पोलिसी सरेन्डर भएको छ ।
राष्ट्रिय बीमा कम्पनीको पनि ११ करोड ३० लाख रूपैयाँबराबरका १ हजार ४०८ वटा बीमा बीमालेख सरेन्डर भएको छ ।
नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार जेठ महिनामा १० करोड रूपैयाँभन्दा बढीको बीमा पोलिसी सरेन्डर हुने जीवन बीमा कम्पनीको संख्या तीन वटा रहेको छ ।
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ७ करोड ६३ लाख रूपैयाँ मूल्यको ६३६ वटा बीमालेख सरेन्डर भएको छ । धेरै पोलिसी सरेन्डर हुने कम्पनीको पाँचौं नम्बरमा सूर्यज्योति लाइफ इन्स्योरेन्स रहेको रहेको छ । सो कम्पनीको ६ करोड ९७ लाख रूपैयाँबराबरको ५९८ वटा बीमा पोलिसी सरेन्डर भएको छ ।
यस्तै जेठ महिनामा एशियन लाइफ इन्स्योरेन्सको ५ करोड ७३ लाख रूपैयाँबराबरको ७७६ वटा र हिमालयन लाइफ इन्स्योरेन्सको ५ करोड ६३ लाख रूपैयाँबराबरको ५६८ वटा बीमा पोलिसी सरेन्डर भएको छ ।
यस अवधिमा मेट लाइफ इन्स्योरेन्सको ४ करोड २४ लाख रूपैयाँबराबरको ३९२ वटा, बीमा पोलिसी सरेण्डर हुँदा प्रभु महालक्ष्मी लाइफको ३ करोड ४२ लाख रूपैयाँको १८१ वटा, सानिमा रिलायन्स लाइफको १ करोड ६३ लाख रूपैयाँबरारबको १२० वटा बीमा पोलिसी सरेन्डर भएको छ ।
यस्तै आइएमई लाइफ इन्स्योरेन्सको १ करोड ३२ लाख रूपैयाँ बराबरको १४७ वटा, सिटिजन लाइफ इन्स्योरेन्सको १ करोड २३ लाख रूपैयाँको २४६ वटा बीमालेख सरेन्डर भएका छन् । त्यस्तै रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको जेठ महिनामा ९१ लाख रूपैयाँबराबरको १३४ वटा बीमा पोलिसी सरेन्डर भएका छन् ।
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका बीमितले सबैभन्दा कम बीमालेख त्याग गरेका छन् । जेठ महिनामा कम्पनीको ४४ लाख रूपैयाँबराबरको ५७ वटा बीमा पोलिसी सरेन्डर भएको हो ।
FACEBOOK COMMENTS