काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालले अटो माबोइल क्षेत्रमा पुनः गतिशीलता ल्याउन निजी सवारी साधनका लागि ‘लोन टू भ्यालु रेसियो’ ७५ प्रतिशत पुर्याउनुपर्ने बताएको छ ।
आज सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी नाडाका प्रतिनिधिमण्डलले अटोमोबाइल व्यवसायको क्षेत्रमा देखा परेका विभिन्न समस्याहरूबारे छलफल गर्दै अटोमोबाइल क्षेत्रमा पुनः गतिशीलता ल्याउन विभिन्न नीतिहरू परिमार्जन गर्नुपर्ने बताएको हो ।
नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अटोमोबाइल व्यवसायको क्षेत्रमा देखा परेका विभिन्न समस्याहरूबारे संक्षिप्त रूपमा चर्चा गर्दै सरकारका विभिन्न कार्यविधिहरूका कारण व्यवसायीहरू आफनो व्यवसाय सञ्चालन गर्न निरुत्साहित हुँदै गएको सन्दर्भमा नेपालको अटोमोबाइल व्यवसायलाई माथि उठाउन आवश्यक नीतिगत सुझावहरू समेत पेश गरेको छ ।
उक्त छलफलमा अध्यक्ष करण चौधरीले विशेषगरी अटोमोबाइल व्यवसायलाई पुनः गतिशील बनाउन बैंकहरूबाट निजी सवारी साधनको ‘हायर पर्चेज लोन’ प्रवाह गर्ने प्रकियामा ‘लोन टू भ्यालु रेसियो’ हालको ५० प्रतिशतको सीमालाई वृद्धि गरेर ७५ प्रतिशत गरिनुपर्ने, चालु पुँजी कर्जा मार्गदर्शन २०७९ लागू भएपछि लागू भएको मिति भन्दा अगाडि कर्जा लिएकाहरूलाई त्यो व्यवस्था लागू नहुने तर यो लागू भएको मितिपछि कर्जा लिएकाहरूलाई मात्रै चालु पुँजी कर्जा मार्गदर्शन २०७९ लागू हुनेगरी कार्यान्वयनमा ल्याएमा सम्पूर्ण समस्याको समाधान हुने बताए ।
त्यसैगरी, सो छलफलमा अध्यक्ष चौधरीले नेपालमा विद्युतीय सवारी साधनहरूको आयात बढदै गएको भएपनि सोहीअनुरूप राजमार्ग तथा सहरहरूमा चार्जिङ्ग स्टेशनहरूको निर्माण हुन नसकेको भन्दै नेपालमा विद्युतिय सवारी साधनहरूका सम्बन्धमा सरकारले स्थायी प्रकृतीको नीति नियम ल्याउनु पर्ने जिकिर गरे ।
सोही छलफलको क्रममा अध्यक्ष चौधरीले दुईपांग्रे सवारी साधनहरूको सन्दर्भमा पनि पैठारीकर्ताले डिलरलाई बिल गरेको दिनबाट सवारी कर लाग्दै आएकोमा डिलरले ग्राहकलाई बिल गरेको दिनबाट मात्र कर लाग्ने व्यवस्थाका लागि समेत आग्रह गर्दै नेपालमा आयात भइरहेका दुई पांग्रे सवारी साधनहरूमध्ये करिब ९८% भन्दा बढी आयात भारतमा निर्मित दुई पांग्रे सवारी साधनहरू भएको तर हाल नेपालमा लागू भएको इम्बोस्ड नम्बर प्लेटको साइज, भारतमा लागू भएको इम्बोस्ड नम्बर प्लेटको साइज अनुसार नभई फरक साइजको भएकाले सवारी सञ्चालनको त्रममा अगाडिको सकरमा ठोकिने भएको कारणले चालकको सुरक्षाको दृष्टिकोणले उपयुक्त नभएको हुँदा इम्बोस्ड नम्बर प्रयोगको हकमा भारतमा लागू भएको साइजको इम्बोस्ड नम्बर प्लेट वा हाल नेपालमा लागू भएको इम्बोस्ड नम्बर प्लेटमध्ये कुनै एक राख्न मिल्ने गरी व्यवस्था गरिदिन समेत अनुरोध गरे ।
यसैक्रममा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले नेपालको अटोमोबाइल उद्योगहरूको समस्या र चुनौतीहरूबारे जानकारी दिए ।
छलफलमा प्रधानमन्त्री ओलीले सवारी साधन, टायर, ट्यूव, ब्याट्री तथा लुब्रिकेन्टस उद्योगहरूको वर्तमान अवस्थाका सम्बन्धमा विशेष चासो र जिज्ञासा राख्दै प्रस्तुत समस्याहरूको समाधानका लागि आवश्यक पहलकदमी लिइने आश्वासन दिए ।
छलफलमा नाडाका कोषाध्यक्ष मिलनबाबु मल्ल तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति थियो ।
FACEBOOK COMMENTS