काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले विद्युत्को न्यूनतम महसुल तिर्न नसकी लाइन काटिएका पौने दुई लाख जनताका बारेमा सदनमा छलफल हुनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको आज मंगलबार बसेको बैठकको विशेष समयमा उहाँले जनताको मतबाट निर्वाचित सांसदले ठूला व्यक्तिका बारेमा मात्र छलफल गर्ने परम्पराबाट मुलुक समृद्धिको मार्गमा अगाडि बढ्न नसक्ने बताएका हुन् ।
सांसद भण्डारीले प्रश्न गर्दै भने, ‘केही सीमित व्यक्तिका निम्ति सदनमा बहस भइरहेको छ, तर एक लाख ७५ हजार जनताले पैसा तिर्न नसकेर बिजुली काटिएको छ । तीनका बारेमा कसले छलफल गर्ने ? जनताको मत लिने तर छलफल ठूला व्यक्तिको मात्र गर्ने ?’
तीन दिनदेखि सदनमा ‘लोडसेडिङ’का समयमा ‘डेडिकेटेड’ र ‘ट्रङ्क’लाइनबाट निरन्तर बिजुली पाइरहेका उद्योगसँग बक्यौता रु २१ खर्ब उठाउने वा छोड्ने वा कसले तिर्ने भन्नेमा दोहोरी चलिरहेकामा उनले दुःख व्यक्त गरे । ‘यसरी हुँदैन, राज्य अब गरिबको पनि बन्नुपर्छ, सदनमा गरिबका विषय पनि उठाउनुपर्छ,’ उनले भने, ‘औषधि नपाएका, बिजुली काटिएका, पढ्न नपाएका बालबालिकाका कुरा कसले गर्दिने सदनमा ?’
संसदमा ठूलाबडाको कुरा गर्ने, जनताका कुरा नगर्ने परम्पराबाट सरकार जनताबाट धेरै टाढा भएको अनुभूति भएको उल्लेख गर्दै सांसद भण्डारीले सदनमा जनताको समस्यामा छलफल हुनुपर्नेमा जोड दिए ।
बिजुली नपाएर उद्योग बन्द हुने अवस्था अन्त्य हुनुपर्छ : सांसद पदम गिरी
FACEBOOK COMMENTS