नरेन्द्र कुमार गुप्ता
सञ्चालक रिद्धिसिद्धि ज्वेलर्स
उपाध्यक्ष, नेपाल रत्न तथा आभूषण संघ
पछिल्लो समय सुनको व्यापारमा नाफा कति कमाउने भनेर स्वयम् व्यवसायी–व्यवसायीबीच नै वहस, आरोप, प्रत्यारोप र भनाभन चलिरहेको छ । २०५३ सालदेखि यो व्यवसायमा रहेका नरेन्द्र कुमार गुप्ता श्री रिद्धिसिद्धि ज्वेलर्सका सञ्चालक हुन् । रिद्धिसिद्धिबाहेक उनका अरु पनि गहना पसलहरू छन् । पछिल्लो समय व्यवसायी गुप्ता उपभोक्तावादीका रूपमा चर्चित छन् । व्यवसायीहरूले जर्तीको नाममा उपभोक्तासँग चर्को मूल्य असुलिरहेको, व्यवसायीका नेताहरूले सुनको कोटा र जर्तीको नाममा चरम दुरूपयोग र राजस्व समेत छली गरिरहेको भनेर आम व्यवसायीमाथि आरोप लगाएसँगै उनी अहिले चर्चाको केन्द्र बनेका हुन् ।
तर, सुन व्यवसायसँग सम्बद्ध महासंघहरूले उनको आरोप स्वीकार गरेका छैनन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका कार्यवाहक अध्यक्ष अर्जुन रसाइली, गुप्ता स्वयम उपाध्यक्ष रहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष किसान सुनार र नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले गत असार २ गते संयुक्त रूपमा विज्ञप्ति जारी गुप्ताका सबै आरोपहरूको खण्डन गर्ने प्रयत्न गर्यो । त्यतिमात्र होइन, श्री रिद्धिसिद्धि ज्वेलर्सले ल्याएको ‘जर्तीबापतको शुल्क नलिने’ घोषणाले गुणस्तरमा सम्झौता गर्ने र बजारमा अस्वस्थ प्रतिस्पर्धा बढ्ने टिप्पणी गरेको छ ।
वास्तवमा सुनचाँदी व्यवसाययभित्र भइरहेको यो रडाको केका लागि हो ? यसले ककसको हित गर्छ र ककसको हित गर्दैन ? यो विषय बडो रोचक बनेको छ । यिनै जिज्ञासा मेटाउने हेतुले श्री रिद्धिसिद्धि ज्वेलर्सका सञ्चालक तथा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका उपाध्यक्ष नरेन्द्र कुमार गुप्तासँग कर्पोरेट खबरले कुराकानी गरेको छ । प्रस्तुत छ, बजारमा चलेका र चलाइएका विभिन्न हल्लाको वास्तविकताहरूलाई समेटेर गुप्तासँग गरिएको कुराकानीको सम्पादित अंशः–
पछिल्लो समय सुनको मूल्यले दिनप्रतिदिनजसो नयाँ–नयाँ रेकर्ड बनाइरहेको बेलामा जर्तीको शुल्क नलिने अभियान रिद्धिसिद्धिले चलाएको छ । यसको कारण के हो ?
सुनको मूल्य अत्यधिक बढ्यो । राज्यले दिग्भ्रमित भएर १५ बाट २० भन्सार बनायो । वास्तवमा भारतमा १५ नै छ । नेपालमा धेरै हुँदा १६ हुनुपर्थ्यो । किनकी भारतमा भन्दा नेपालमा प्रतितोला सुनको मूल्य पाँच हजार रूपैयाँ बढी छ । यसले गर्दा सीमावर्ती क्षेत्रका सम्पूर्ण पसलहरू बन्द हुन्छन् र व्यवसायीहरू धरापमा पर्छन् भनेर मैले पहिलोचोटी कुरा उठाएको थिएँ । यो विषयमा हामीले माइतीघर मण्डलामा नेपाल सरकारको ध्यानाकर्षणका निम्ति र्याली निकालेका थियौँ । मलाई लाग्छ सरकारको ध्यानाकर्षण भएको छ । श्री रिद्धिसिद्धि ज्वेलर्स विशालबजार २५ वर्षदेखि उपभोक्तको हितमा निरन्तर काम गर्दै आएको, नेपालको सबैभन्दा ठूलो गहना पसल हो । आजको मितिसम्म यसले सबैभन्दा धेरै गहना विलविजकसहित विक्री गर्दै आएको छ । यति भन्न पाउँदा हामीलाई गौरव लाग्छ । सुनको मूल्य अत्यधिक महङ्गो भएको बेला उपभोक्तालाई थोरै भए पनि राहत मिलोस् भनेर यस्तो योजना ल्याएका हौँ ।
रिद्धिसिद्धि ज्वेलर्सले सीमित समयका लागि ‘जर्ती नलिने’ अफर चलाएर गर्न खोजेको चाहिँ के हो, बजारमा त विभिन्न खालका आलोचना पो सुनिन्छि त ?
यो अफर श्री रिद्धिसिद्धि ज्वेलर्सले ल्याएको हो । उपभोक्तासँग ज्याला लिनका लागि हामीले नै बनाएको सजिलो सिस्टमबाट अपारदर्शी रूपमा जर्ती लिन थालिएपछि यो व्यवस्थालाई जुन ६ तारिख २०२४ मा खारेज गरिदिएका हौँ । रिद्धिसिद्धिले मात्र नभइ अन्य धेरै कम्पनीले पनि यो व्यवस्था खारेज गरेका छन् । खारेज गरेको विषयलाई लिएर अहिले घोर विरोध भइरहेको छ ।
यो उपभोक्तामारा नीति थियो । यसलाई खारेज गरियो । यसको समर्थन हुनुपर्ने थियो । तर, तीन–तीनवटा महासंघ मेरो विरुद्धमा आएका छन् । त्यो पनि उपभोक्ताबाट जर्ती खान पाएनौँ भनेर । उहाँहरूलाई मेरो सिधा प्रश्न छ– एक तोला सुन बनाउँदा १४ हजार रूपैयाँको सुन हराउँछ ? के एक किलो सुन बनाउँदा १४ लाखको सुन हराउँछ ? के २० किलो बैंकले ल्याउँदा दुई किलो जर्तीमा हराउँछ ? यो प्रश्न मात्र होइन खोजीको विषय हो । नेपाल राष्ट्र बैंकले मुनाफा, जर्ती, खर्च सबै जोडेर १० प्रतिशत भ्यालु एड गर भनेको छ । तर, उहाँहरूले त उपभोक्तालाई दिग्भ्रमित बनाउन घुमाएर निर्यातमा १० प्रतिशत लिन पाउने अधिकार छ भन्ने आउनुभएको छ ।
राज्यले दिने २० किलो सुनमा दुई किलो सुन हराउँदैहराउँदैन भनेर आम उपभोक्तालाई जानकारी दिन र सुन बनाउँदा लिइने ज्यालालाई पारदर्शी बनाउन र वैज्ञानिक प्रणाली लागू गराउने उद्देश्य अनुसार मैले यो जर्ती नलिने अभियान सञ्चालन गरेको हुँ । मेरो यो कदम क्रान्तिकारी हो । ज्यालालाई जर्तीको रूपमा उपभोक्ताबाट लिन सजिलो थियो । अब यो नलिनुस्, वैज्ञानिक ज्याला प्रणाली लागू गर्नुहोस् भन्ने मेरो कुरा हो । एक तोला सुन बेच्नुभएको छ भने उपभोक्तालाई भनेर ज्याला लिनुहोस् तर, जर्तीको नाममा छुट्टै १४ हजार नलिनुहोस् । यो सही कदमको तीनवटा मात्र होइन ६ वटा महासंघले विरोध गरे पनि उपभोक्ताले मान्नेवाला छैन । २१औँ सताब्धीको उपभोक्तालाई भ्रमति गर्ने दुष्प्रयास हिजोका दिनमा भए म एउटा उपभोक्ता पनि भएको नाताले त्यसप्रति खेद प्रकट गर्न चाहान्छु । यदि २० किलो सुन नेपालमा आयात गर्दा दुई किलो सुन जर्तीका रूपमा खेर जान्छ भन्ने कुरा सत्य हो र त्यसलाई पुष्टि गर्ने प्रमाण दिनुहुन्छ भने मेरा यी अफरलगायतका सबै क्रान्तिकारी कदम फिर्ता लिन तयार छु ।
यदि २० किलो सुन ल्याउँदा दुई किलो खेर जाँदैन भने कतिचाहिँ खेर जान्छ ? त्यो सिधा भनिदिनुहोस् न ?
यो कुरा मलाई मात्र होइन पछिल्लो दिनमा मेराविरुद्ध विज्ञप्ति जारी संघसंस्था, तिनका नेतृत्व र अरु सबैलाई थाहा छ । उनीहरूलाई पनि यो उपभोक्तामारा नीति हो भन्ने कुरा राम्रोसँग थाहा छ । ७% टक्सार विभागले लिन्छ भनेर कुप्रचार गरी टक्सारलाई नै बदनाम गरी नेपालको निर्यात नीतिलाई नै बदनाम गरेर आफ्नो चोरी–ठगी खाने व्यवस्था जोगाउन राष्ट्र बैंकलाई नै मुछ्न खोजिरहेका छन् ।
सुन बनाउँदा जर्ती जाने कुरा पक्का हो । तर, जर्ती जाने कुराको रेकर्ड कारखानामा सुरक्षित हुन्छ । उपभोक्तालाई अन्दाजको भरमा यति जर्ती गयो भनेर पैसा असुल्न पाइन्छ र ? मेरो मुद्दालाई आज तीन करोड नेपालीले जयजयकार गरेका छन् । यी कोटाको सुन खाने २०–५० जना मान्छेहरूले विरोध गर्दैमा केही हुँदैन । अर्जुन रसाइली, किसान सुनार र नेपाल हस्तकला महासंघ समेत मेरो मुद्दाको विरुद्धमा लागेको पाएको छु ।
अचम्मको कुरा हस्तकला महासंघले त सुन लिएर हस्तकला व्यवसायीलाई दिने हो । तर, यहाँ त हस्तकला महासंघले समेत सुनको दुरूपयोग गरेको देखियो, शीघ्र छानबिन गरियोस् । किनभने हस्तकला महासंघले कोटाको सुन लगेर कहाँ दियो ? यसको छानबिन राज्यले गर्नुपर्छ । साथै, किसान सुनारहरूको कम्पनीले कति सुन दुरूपयोग गरेको छ त्यसको पनि छानबिन होस् । यी तीनवटा संघका पदाधिकारीहरूले कोटाको आडमा सुन तस्करी गरेका छन् भन्ने मेरो दाबी छ । यसबारे पनि छानबिन होस् ।
यदि म नरेन्द्र कुमार गुप्ताले गरेको काम र उठाएको मुद्दा बेठिक छ भने यी १०–२० जनाले विरोध गरेर हुँदैन सारा उपभोक्ताले बेठिक छ भन्नुपर्यो । तर, अहिले आम उपभोक्ताले मलाई यो कुरा ठिक गर्नुभयो भनेर स्याबासी दिइरहेका छन् । मैले कम मुनाफा लिएर उपभोक्तालाई सस्तोमा सुन बेच्दा यी २०–२५ जनाको झुण्ड किन उफ्रिनुपर्ने मविरुद्ध ? मेराविरुद्ध विज्ञप्ति किन आवश्यक पर्यो ? आयात हुने २० किलो सुनमा दुई किलो सुन जर्तीमा हराउँछ भनेर प्रमाणित गरेर देखाइदिनुहोस् म व्यापार छोड्न तयार छु ।
कुरा नघुमाइ भनिदिनुहोस् कि तपाइँको अनुभवका आधारमा जर्तीका नाममा कति सुन साँच्चै हराउँछ ?
शून्यदेखि दुई प्रतिशतसम्म सुन हराउन सक्छ । हामी विस्तारै काम गर्छौँ । खसेको सुन सोहोर्छौँ, फेरि पोल्छौँ । एक लाख ४० प्रतितोलाको सुन हामी हराउन दिन्छौँ त ? कार्पेट ओछ्याएका हुन्छौँ, त्यहाँ खसेको सुन पनि हामी फेरि उठाएर रिकभर गर्छौँ । यसरी रिकभर गर्दागर्दैको अवस्थामा त्यही दुई प्रतिशतसम्म सुन हराउँछ । त्यो दुई प्रतिशत पनि उपभोक्तासँग लिने होइन, त्यसलाई ज्यालामा समायोजन गरेर लिनुहोस् भनेको हो मैले, नलिनुहोस् भनेको होइन, रकममा लिनुहोस् । ९० लाल सुन दिने १० लाल जर्ती भनेर बिल बनाउने, एक तोलाको बिल बनाएर एक लाख ४० हजार लिने अनि ज्याला दुई हजार रूपैयाँ मात्रै लिएको छु भनेर झुक्याउने ? उता जर्ती भनेर १४ हजार र ज्याला दुई हजार गरेर १६ हजार रूपैयाँ त थाहै नपाइ लिइसक्नुभयो त ? यो विषयमा बोल्न कथित व्यवसायीहरू कनि डराइरहेका छन् ? तर, रिद्धिसिद्धि र नरेन्द्र कुमार गुप्ता डराएको छैन । किनभने मैले केही विराएकै छैन ।
हिजोका दिनमा के भए त्यतातिर होइन, अहिलेको २१औँ सताब्धीमा हामीले वैज्ञानिक ज्याला प्रणाली ल्याउँ जुन अन्तर्राष्ट्रिय प्रणाली पनि हो । अन्य देशमा अहिले जर्ती भन्ने छैन । यदि २० किलो सुन आयात गर्दा दुई किलो हराउँछ भने राज्य, व्यवसायी र मिडियाले पनि खोजी गर्न आवश्यक छ । यदि राज्यले १० प्रतिशत जर्ती खान स्वीकृति दिएको छ भने त्यसको परिपत्र मलाई पनि ल्याइदिनू म पनि खाइदिन्छु । तर, मलाई खानु र उपभोक्तालाई मार्नु छैन ।
तपाइँको शब्द सापटी लिने हो भने २५ वर्षदेखि जर्तीको नाममा उपभोक्ता ‘ठग्ने’ रिद्धिसिद्धि ज्वेलर्स कस्तो संस्था हो ?
श्री रिद्धिसिद्धि ज्वेलर्स नेपालको पहिलो आईएसओ प्रमाणित पसल हो । यसले कर्पोरेट कल्चरमा थिति बसालेर काम गर्छ । एउटा नोजपिन बेच्दा पनि बिल काटेर बेच्छ, कम्प्युटरमार्फत बिलिङ हुन्छ, हामी राज्यका सबै नीतिहरूलाई सम्मान गर्दै व्यापार गरेर राजस्वमुखी, व्यापारमुखी र उपभोक्तामुखी पनि बनाएका छौँ । यसमा कसैलाई पेट दर्द हुन्छ भने मलाई केही फरक पर्दैन । मेरा उपभोक्ता र ग्राहक खुसी छन् । अब ज्याला र जर्ती लिने जुनकुनै पनि सुन पसलमा पुगेर उपझोक्ताले बित्रेतालाई सोध्नेछन्– तपाइँ यो १० लाल जर्ती किन लिँदै हुनुहुन्छ ? म चाहान्छु जर्तीको नामबाट उपभोक्ता ठगी गर्ने काम बन्द होस् र जति लिनु छ ज्यालाको रूपमा लिइयोस् । अहिले त सजिलो छ, ज्याला जति जर्तीमा हालिदियो, १० लाख जर्ती लिएको छ भन्छ, त्यो १० लाल भनेको १४ हजार हो, सानो रकम होइन । त्यसकारण जर्ती भनेको ह्रास हो, यी तीन वटा संघहरूले भनेको जस्तो ज्याला–जर्ती एउटै होइन ।
रिद्धिसिद्धिको सम्पूर्ण करका इन्भ्वाइसहरूमा ज्याला प्लस जर्ती भनेर उल्लेख गरिएको छ, जर्ती भनेर राज्यलाई देखाइएको छैन । त्यो रकमलाई ज्याला भनेर देखाएको छु र ज्यालै भनेर कालिगढलाई तिरेको छु । मैले त्यसमा कर छली गरेको छैन । त्यसैकारण ठोकेर भन्न सक्छु जर्तीका नाममा जसले कर छली गर्यो, अस्वाभाविक रूपमा उपभोक्तालाई ठग्यो ती सबै अनुसन्धानको दायरामा आउनुपर्छ भन्ने मेरो माग हो ।
जर्ती नलिने योजना अघि सारेर रिद्धिसिद्धिले गुणस्तरमा सम्झौता गर्यो भन्ने आरोप लागेको छ नि ?
यो मेरा प्रतिस्पर्धी तीन जना साथीहरूले लगाएको आरोप हो । महासंघको लेटरप्याड दुरूपयोग गरेर उहाँहरूको व्यक्तिगत धारणा सार्वजनिक गर्नुभएको हो, महासंघको धारणा होइन त्यो । किनकी नेपाल हस्तकला महासंघसँग त हाम्रो कुनै सम्बन्ध नै छैन । साथै, सुनचाँदी व्यवसायी महासंघमा पनि म छैन । त्यो विज्ञप्तिमा सही गर्ने किसान सुनारले पहिला पनि कोटामा धेरै बेथिति गर्नुभएको छ । अर्जुन रसाइलीप्रति धेरै टिप्पणी छैन । नेपाल हस्तकला महासंघले त प्रष्टै सुनको कोटाको दुरूपयोग गरेर निर्यातका लागि प्रयोग हुने सुन स्थानीय व्यवसायीलाई दिएर दुरूपयोग गरेको छ । यो प्राइभेट एनजीओमाथि अनुसन्धान हुनुपर्छ । कोटामा अहिले जति पनि बेथिति भएको छ त्यो संघ र महासंघले होइन त्यहाँ रहेका कथित व्यवसायीले गरिरहेका छन् ।
दैनिक २० किलोमा दुई किलो अर्थात् दुई करोड रूपैयाँको सुन हराउँछ भन्ने कुरामा कुनै तुक छैन । यदि हो भने ठूलो घाटाको विषय हो । यदि त्यस्तो हो भने यो कोटा र सिन्डिकेट प्रणाली किन चाहियो ? त्यसैले यसको विरुद्धमा म लागेको हुँ । खुला बजारमा मेरो सिन्डिकेटमा बस भन्नु उहाँहरूको गलत कुरा हो ।
हिजोका दिनमा उहाँहरूले कोटाको जुन दुरूपयोग गर्नुभयो, जुन सिन्डिकेट संस्थागत गर्नुभयो । त्यसमा तपाइँहरू आत्मालोचना गर्नुहोस् र सुधारका कदमहरू चाल्नुहोस् । साना साना व्यवसायी र कालिगढहरूलाई दिग्भ्रमित पारेर काम गर्न नलगाउनुहोस्, भोलि यो जर्ती भनेर कसैले व्यवसायीले १० प्रतिशत लेला, राज्यले छानबिन गर्दा कर विजकमा देखिएन भने व्यवसायी फस्ने निश्चित छ । मविरुद्ध विज्ञप्ति निकाल्ने तीन जनाको त केही बिग्रिदैन । म पनि रत्न तथा आभूषण संघको वरिष्ठ उपाध्यक्ष हो । मैले मेरा व्यवसायीको पनि बचाउ गर्नुपर्छ, व्यवसायीको हितमा बोल्नुपर्छ । हामीले ज्याला भनेर बिलमा लिने र जर्ती लिँदा सरकारले ‘एडब्याक’ पनि गरिदिन सक्छ । त्यो एडब्याक गरेको अवस्थामा साना व्यवसायी मर्छन् ।
अहिले त यी साना व्यवसायीको केही दोष छैन । एक, दुई तोला सुन बडा मुस्किलले सिन्डिकेटधारीहरूसँग हात जोडेर लिनुपर्ने अवस्था छ । ठूला व्यवसायीले जानी–जानी गल्ती गर्छ, जर्तीको नाममा ठगी र बदमासी गर्छ, करविजकमा देखाउँदैन भने छानबिन गर्नुपर्छ । त्यसका लागि राज्यले ठूला व्यवसायीलाई राजस्वको पूर्ण दायरामा ल्याउनुपर्छ, उपभोक्ताका लागि जवाफदेही पनि हुनुपर्छ । संघ र महासंघले उपभोक्ताको हितविरुद्ध बोल्ने होइन ।
आज यो गहना व्यवसाय तिथितिर गइसकेको छ । यो तिथितिर लैजाने मेरो प्रयास सफलतातिर उन्मुख भएको छ । मेरो प्रयास सफल हुँदा उहाँहरूको पसल बन्द भएकै हो । कोटा र सिन्डिकेटको आडमा तस्करी गर्नेहरूको पसल मैले बन्द गराइदिएकै हो । गैरकानुनी पसल बन्द भएकोमा सहकर्मीका नाताले अलि अलि दुःख मलाई पनि हुनसक्छ । तर, के गरौँ गैरकानुनी काम गर्नुभएको थियो चोट पर्यो । अब राज्यलाई सजिलो भएको छ ।
तपाइँले मुद्दा मात्र उठाएर भएन नि यस विषयमा राज्यले पनि एक्सन लिनुपर्ला नि ?
राज्यले एक्सन लिइसकेको अवस्था छ । राज्य अनुसन्धानमा गइसकेको अवस्था छ । हामीले भन्नेवित्तिकै राज्य लाग्दैन उसले प्रमाण जुटाएर मात्रै काममा अघि बढ्छ । राज्यले यिनिहरूमाथि अनुसन्धन ढिलो गर्दा उनीहरूले मलाई गलत हो भन्न भ्याएका छन् । भोलि राज्यले अनुसन्धान गर्न थालेपछि बल्ल पसिना आउँछ । उपभोक्तालाई मार्ने, राजस्व मार्ने, व्यवसायीलाई मार्ने, कालिगढलाई पनि मार्ने यी कथित पदाधिकारीहरू भोलिका दिनमा प्रमाणसहित जेल जाने कुरा निश्चित छ । रिद्धिसिद्धिले अब जर्ती भनेर कदापि लिँदैन, बिलमा अंक र अक्षरमा स्पष्ट लेखेर ज्याला लिन्छ ।
हेर्नुहोस् भिडिओ–
FACEBOOK COMMENTS