काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ मा ठूला उद्योगको निराशामा सुधार आउन सकेको छैन ।
उद्योग विभागले गत आवमा ८० ठूला उद्योग दर्ता गर्ने लक्ष्य राखेको थियो । तर, ४९ वटामात्र दर्ता भएका छन् । ८५ वटा मझौला उद्योग दर्ताको लक्ष्य राखिएकोमा ५२ वटामात्र दर्ता भएका थिए । यस्ले पनि ठूला उद्योगको निराशामा सुधार आउन नसेको देखाएको छ ।
उद्योग विभागका सूचना अधिकारी अर्जुन सेन ओलीका अनुसार अघिल्लो आवको तुलनामा वैदेशिक लगानी प्रतिवद्धता बढे पनि आन्तरिकतर्फको लगानीमा सुधार आउन सकेको छैन ।
विभागका अनुसार अघिल्लो आवमा विभिन्न क्षेत्रका ३२७ उद्योग दर्ता भएकामा गत आवमा बढेर ४ सय ३४ पुगेको थियो । ठूलो लगानी स्वीकृत गर्ने निकाय लगानी बोर्डको कार्यालयले पनि अघिल्लो आवमा पाँचवटा परियोजनाको लगानी स्वीकृत गरेकोमा गत आवमा नौ परियोजनाको लगानी स्वीकृत गरेको जनाएको छ । हालसम्म ६ अर्ब रूपैयाँभन्दा माथिका परियोजनामा बोर्डले लगानी स्वीकृत गरे पनि दर्ता भने उद्योग विभागमै गर्नुपर्ने हुन्छ । यद्यपि, स्वचालित दर्ता प्रणाली लागु भएसँगै यस्तो सीमा भने हटाइएको छ । जसका कारण अब विभागबाट जुनसुकै परियोजना पनि दर्ता हुन सक्नेछन् ।
दर्ता भएका उद्योगमध्ये उद्योग विभागमा सेवामूलक र लगानी बोर्डमा ऊर्जामूलक उद्योगको संख्या बढी रहेको छ । विभागमा दर्ता भएका ठूला लगानीमा होटल बुद्धस्टार, वाटफोर्ड होटल (पोखरा), पूर्वाञ्चल क्यान्सर हस्पिटलको लगानी प्रतिवद्धता आएको छ । यस्तै, एमएबिसी इन्भेस्टमेन्ट ग्रुप र चुनदेवी वेस्ट प्रोसेसिङ उद्योग दर्ता भएका छन् ।
उत्पादनमूलक उद्योगको मागमा सङ्कुचन
आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासमा उत्पादनमूलक उद्योगहरूको मागमा थप १३.५३ प्रतिशतले सङ्कुचन आएको छ । नेपाल उद्योग परिसंघको इन्डष्ट्री स्टाटस रिपोर्टको पछिल्लो सर्वेक्षणले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उत्पादनमूलक उद्योगको मागमा कमी आएको देखाएको हो ।
गत वर्ष अघिल्लो वर्षको सोही अवधिको तुलनामा उत्पादनमूलक क्षेत्रको मागमा ३.०४ प्रतिशतले गिरावट आएको थियो । यस अवधिमा उत्पादन तथा सेवामूलक उद्योगहरूको संयुक्त रूपमा हेर्दा भने २.६४ प्रतिशतले मागमा कमी आएको देखिएको छ ।
यस अवधिमा उद्योगहरूको आयमा समेत ह्रास आएको पाइएको छ । सर्वेक्षणमा सहभागी उद्योगीहरूले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.८७ प्रतिशतले आय घटेको जनाएका छन् । योभन्दा अघिल्लो त्रैमासमा पनि १.८७ प्रतिशतले आयमा ह्रास आएको थियो ।
माग र राजस्वमा आएको गिरावटका कारण सर्वेक्षणमा सहभागी उद्योगमध्ये ६५.५७ प्रतिशतले नयाँ लगानी नरहेको जनाएका छन् । उद्योगीहरूले अझै पनि उत्पादनका लागि जेनेरेटरको प्रयोग गर्ने गरेको पाइएको छ । सर्वेक्षणमा सहभागी ५४.३९ प्रतिशत उद्योगले अझै पनि जेनेरेटरको प्रयोग गर्दै आएको जनाएका छन् ।
यसले उत्पादन लागतमा १२.८९ प्रतिशतले वृद्धि भएको छ । सर्वेक्षणका सहभागी उद्योगहरूले आफ्नो कुल चालु पुँजी कर्जा ४२.७४ प्रतिशत ऋणबाट प्राप्त गर्ने गरेको जनाएका छन् । यो अघिल्लो त्रैमासको तुलनामा २.७१ प्रतिशतले बढी हो । यस किसिमको कर्जाको औसत ब्याज दर ११.२८ रहेको छ ।
FACEBOOK COMMENTS