काठमाडौं । संस्कृत अब कम्प्युटरको भाषा बन्ने भएको छ ।
खासगरी देवताहरूसँग सम्बन्धित शास्त्रीय र देवभाषाका रूपमा रहँदै आएको संस्कृत भाषालाई अब कम्प्युटरको भाषा बनाउन लागिएको हो ।
संस्कृतलाई कम्प्युटरको भाषा बनाउन अमेरिकी संस्था नेशनल एरोनटिक्स एण्ड स्पेस एड्मिनिष्ट्रेसन (नासा)ले अनुसन्धान गरिरहेको जयन्तु संस्कृतम्का अध्यक्ष डा. वद्री पोखरेलले दाबी गरेका हुन् ।
पशुपति क्षेत्रमा चलिरहेको ‘१०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’मा आज मंगलबार सम्बोधनसहित सहभागी भएका डा. पोखरेलले संस्कृत अनन्त भाषा भएकाले आगामी सन् २०३४ सम्ममा कम्प्युटरको भाषा बनिसक्ने दाबी समेत गरेका छन् ।
‘नासाले केही वर्ष पछाडि सन् २०३२ अथवा २०३४ देखि कम्प्युटरको भाषा संस्कृत बनाउँदैछ । अहिलेसम्म कम्प्युटरको भाषा अंग्रेजी भनेर पढिराखेका थियौँ । अब त्यो भाषालाई संस्कृत भाषा कम्प्युटरको भाषा बनाउँदैछ,’ उनले भने ।
नेपालमा विगतमा भएको दश वर्षे सशस्त्र द्वन्द्व र त्यसले संस्कृत भाषालाई गरेको उपेक्षाको स्मरण गर्दै उनले अहिले तिनिहरूबाटै पश्चाताप भइरहेको बताए । ‘हेर्नुहोस् त अचम्मको कुरा, जुन भाषालाई कसैकसैले मृत भाषा भनेर, कसै कसैले यो काम नलाग्ने भाषा भनेर, केही वर्षअगाडि मात्रै तपाइँ हाम्रै देशमा संस्कृतका किताबहरू जलाइए । संस्कृतका विद्यालयहरू बन्द गराइए । संस्कृत पढ्नेहरूलाई ज्यान मार्नेसम्मका काम गरियो । ल हेर्नुहोस् त आज त्यही संस्कृत भाषा हामीले गल्ती गरेछौँ भनेर त्यो पनरावृत्ति भइराखेको छ । त्यसको पश्चाताप गरिराख्या छ,’ उनले भने ।
२०५८ अघि साधारण माध्यमिक विद्यालयमा पनि कक्षा ८ सम्म सरल संस्कृत विषयको पठनपाठन गरिन्थ्यो । तत्कालीन सशस्त्र युद्धरत नेकपा माओवादीले धेरै विद्यालयमा संस्कृतको पुस्तक जलाउँदै नपढाउन धम्की दिएपछि पठनपाठन स्थगित भएको थियो ।
नेपाल सरकारका पूर्व सहसचिव समेत रहेका डा. पोखरेलले जापानमा विभाग बनाएरै संस्कृत पढाइ भइरहेको, अक्सफोर्ड, अष्ट्रेलिया र जर्मनीलगायतका विश्वविद्यालयहरूमा समेत संस्कृत भाषा पढाइ रहेको दृष्टान्त पनि दिए । ‘नासाले किन संस्कृतको अनुसन्धान गराइराखेको होला ? किन कम्प्युटरको भााषा संस्कृत बनाएको होला त ? हामीले बुझ्नुपर्ने कुरा हो कि होइन ? हामीले अक्सफोर्ड, अष्ट्रेलियाका ठूला–ठूला विश्वविद्यालयहरू, जर्मनीका त कयौँ विश्वविद्यालयहरूमा, जापानमा संस्कृत डिपार्टमेन्टहरू खोलेर इष्टर्न फिलोसफीको नामबाट संस्कृत पढाउने काम भइराख्या छ,’ उनले भने ।
नासाले संस्कृत भाषामा कम्प्युटरको निर्माण गरिरहेकाले पनि विश्वमा यो भाषाको लोकप्रियता बढ्न थालेको उनको भनाइ छ । डा. पोखरेलले १८ पुराणालाई सबैले पढ्न र बुझ्न सकुन् भनेर नेपाली र अंग्रेजी भाषामा अनुवाद समेत गरेका छन् ।
संस्कृत भाषा देवताहरुसँग सम्बन्धित एक शास्त्रीय भाषा हो । जसलाई देवभाषा पनि भनिन्छ । संस्कृत भाषा सनातन धर्मको पवित्र भाषा, शास्त्रीय हिन्दु दर्शनको भाषा र जैन धर्मका ऐतिहासिक ग्रन्थहरूको भाषा पनि हो । यो प्राचीन र श्रृष्टिको एक मात्र पहिलो भाषा थियो र दक्षिणपूर्व एशिया, नेपाल र भारतमा हिन्दु र बौद्ध संस्कृतिको प्रसारणपछि यो धर्म र उच्च संस्कृतिको भाषा बनेको बताइन्छ ।
अन्तरिक्षमा पनि ध्वनि परिवर्तन नभई जाने भाषा संस्कृतमात्र रहेछ भनी वैज्ञानिकको संस्था नासाले प्रमाणित गरिसकेकाले पनि विश्वमै संस्कृत भाषा पठनपाठनको क्रम बढ्न थालेको छ भने प्रविधिका माध्यमबाट अन्तरीक्षमा सञ्चार गर्न संस्कृत भाषा सबैभन्दा उपयोगी रहेको नासाको बुझाइ छ ।
अन्तरिक्षमा उपयोग गर्न कम्प्युटरमा सबैभन्दा सहजरुपमा प्रयोग गर्न सकिने भाषा संस्कृत भएको भन्ने नासाको अध्ययनले देखाएकाले अब संस्कृत भाषा नजान्नेले प्रविधिको दुनियाँमा काम गर्न नसक्ने दिन आउने भएकाले भाषा सिक्नु आवश्यक रहेको जानकारहरू बताउँछन् ।
FACEBOOK COMMENTS