काठमाडौं । पछिल्लो केही समययता जलविद्युत् आयोजनाका संस्थापक र सञ्चालकहरूले लकइन पिरियड समाप्त हुनेवित्तिकै आ–आफ्नो शेयर दोस्रो बजारमा बेचेर जिम्मेवारीबाट पन्छिन खोजेको चर्चा चलिरहेको छ ।
नेपाल धितोपत्र बोर्डले गठन गरेको समितिले तयार पारेको तर सार्वजनिक नभएको एउटा प्रतिवेदनमा उल्लेख भएको विषयको हवला दिँदै करिब दुई दर्जन होइड्रोपावर कम्पनीका एक सय जना जतिले त्यस्तो शेयर बेचेको चर्चा छ ।
यसरी शेयर बेच्दा आयोजनामा पुँजीको अभाव हुने, हाइड्रोपावरप्रति जनमानको विश्वास गुम्ने र लगानीकर्ताको प्रतिफलमा समेत असर पर्नसक्ने तर्क गरिएको छ । तर, ऊर्जा विज्ञ ज्ञानेन्द्र लाल प्रधानले भने यी सबै तर्कहरूलाई ठाडै अस्वीकार गरेका छन् । ‘शेयर बेच्न पाउनु संस्थापक र सञ्चालकहरूको अधिकार’ भएको भन्दै उनले शेयर बेच्दैमा आयोजनालाई कुनै पनि कोणबाट असर नपर्ने धारणा व्यक्त गरे ।
‘शेयर बेच्न पाउनु हाम्रो अधिकारको कुरा हो । शेयर बेच्यो भन्दैमा उसले आफ्नो दायित्व र जिम्मेवारीबाट पन्छिन कदापि मिल्दैन,’ नेपाल हाइड्रो डेभलपर लिमिटेडका पूर्वध्यक्ष समेत रहेका ऊर्जा विज्ञ प्रधानले भने, ‘जलविद्युत् आयोजनामा सञ्चालक/संस्थापकले लगानी गर्ने रकम २५ प्रतिशत हो । बाँकी सबै बैंकको ऋण हो । त्यो ऋण कम्तिमा १२ वर्ष वा त्यसभन्दा बढी १८–२० वर्षसम्मका लागि लिइएको हुन्छ । त्यो ऋण लिँदा उनीहरूले ल्याप्चे गरेका हुन्छन् । त्यो ल्याप्चे लगाएर ऋण लिएको मान्छे आयोजनाको जिम्मेवारीबाट कसरी पन्छिन सक्छ ? त्यो स्थिति हुँदैन ।’
शेयर बेचेर ऋणमुक्त हुने र कम्पनीबाट पूर्णरूपमा बाहिरिने स्थिति बन्यो भने प्रश्न उठ्नु स्वाभाविक भए पनि त्यस्तो अवस्था नहुने भएकाले बजार हल्लाहरूमा कुनै सत्यता नरहेको दाबी उनको छ । ऋण नतिरेसम्म बैंकले नछोड्ने र सञ्चालक तथा प्रमोटरहरूको समेत सम्पूर्ण सम्पत्ति, जायजेथा, आफ्ना छोराछोरीको भविष्य समेत जलविद्युत्मा गाँसिएका कारण सहजै छोडेर हिँड्ने अवस्था नहुने तर्क उनको छ ।
‘१८–२० जना प्रमोटरहरूले केही शेयर बेचेर बाहिरि निस्किएका छन् । तर, उसले शेयर बेचेर आएको पैसा पुनः दोस्रो र तेस्रो प्रोजेक्टमा लगेको छ । यदि जलविद्युत्का सञ्चालकहरूलाई प्रोक्टको शेयर बेच्नै नदिने हो भने अर्को प्रोजेक्ट कसरी ल्याउन सक्छन् ? त्यसकारण शेयर बेचे पनि बैंकबाट लिएको ऋणका कारण त्यहाँको जिम्मेवारीबाट पन्छिन मिल्ने ठाउँ नै छैन,’ उनले भने ।
यस्तै, उनले अहिले लकइन पिरियड बढाउन खोजिएको भन्दै यदि त्यस्तो भए जलविद्युत् क्षेक्र त्र्यासमा जाने बताएका छन् । ‘हामी ग्रोथमा गइरहेका छौँ । अहिले एउटा प्रोजेक्ट बनाउँछु, तीन वर्षपछि अलिकति (२० प्रतिशत) शेयर बेचेर अर्को प्रोजेक्ट बनाउँछु । तीन वर्षमा फेरि अलिकति बिक्री गर्छु अर्को प्रोजेक्ट बनाउँछु । यसरी पहिलो प्रोजेक्टमा म ऋणमा लगाएको ल्याप्चेका कारण आवद्ध छु, दोस्रो प्रोजेक्टमा प्रमोटरको रुपमा आवद्ध छु र तेस्रो प्रोजेक्टलाई प्लानिङमा राखेको छु भने के यो राष्ट्रका लागि राम्रो होइन र ? त्यसकारण लकइन पिरियड सकिनासाथ केही शेयर बेच्नु पाप होइन, उसको सम्पत्तिको अधिकार हो,’ उनले भने ।
हेर्नुहोस् भिडिओ–
(प्रधानसँगको विस्तृत कुराकानी शुक्रबार कर्पोरेट खबरमा प्रकाशित गरिने छ ।)
FACEBOOK COMMENTS