दिनेश थपलिया
प्रमुख आयुक्त, निर्वाचन आयोग
बजारमा हामीले सुनेका धेरै चर्चित गीतहरूका लेखक हुन् निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलिया । धेरैले उनको गीत मज्जैले सुनेका छन्, उनको गीतमा मज्जैले नाचेका छन्, तर उनलाई अधिकांशले चिनेका छैनन् । किनकी उनी निर्वाचन आयोगका प्रमुख आयुक्त हुन् । धेरैले चिनेको त्यत्ति हो । उनको ‘पर्सनल’ डायरीको रेकर्ड हेर्ने हो भने अहिलेसम्म उनले करिब ४०० वटा गीत लेखेका छन् । त्यसमध्ये १२ वटा जति गीतहरू युट्युबमा करोड क्लबमाथि पुगेका छन् ।
‘तिमीलाई देखेपछि आई लभ यू आई लभ यू भन्न मन लाग्यो…’, ‘माछीले खाने खोलीको लेउ…’, ‘अर्को जुनी खै कुन्नि…?’, ‘मायालु तिमी कता छ्यौँ…’, चलचित्र ‘नाइ नभन्नु ल–५’मा समावेश ‘तिम्रो आँखामा आँखा जुधाई…’, ‘तिम्रै नामको सिन्दुर…’, र ‘मलाई आमाले दिएको चौबन्दी…’ लगायत राम्रो चलेका गीतहरू उनले लेखेका हुन् । ‘लिरिक्स बाइ दिनेश थपलिया’ भनेर युट्युवमा सर्च गर्नुभयो भने उनका अरु थुप्रै चर्चित गीतहरू भेट्न सक्नुहुनेछ । प्रस्तुत छ, यिनै चर्चित गीतका लेखक (स्रष्टा) थपलियासँग कर्पोरेट खबरले केही अन्तरङ्ग कुराकानीको सम्पादित अंश–
तपाइँ लामो समयदेखि सरकारी सेवामा रहनुभयो । अहिले संवैधानिक निकाय निर्वाचन आयोगको प्रमुख हुनुहुन्छ । तपाइँलाई धेरैले चिन्ने पहिचान यही नै हो । तर, तपाइँ गीत लेखनमा पनि अत्यन्तै सक्रिय मात्र होइन चर्चित नै हुनुहुन्छ । अहिलेसम्म कतिवटा गीत लेख्नुभयो ?
मेरो फरक पहिचान खोतल्ने प्रयास गर्नुभएकोमा यहाँलाई धन्यवाद । मेरो डायरीको रेकर्ड हेर्ने हो भने अहिलेसम्म मैले झण्डै ४०० वटा गीतहरू लेखेको छु । त्यसमध्ये झण्डै १०० वटा जति व्यावसायिक प्रकृतिका गीतहरू बजारमा आइसकेका छन् भने अरु धेरै बाँकी र आउने क्रममा पनि छन् । आइसकेका गीतहरूलाई युट्युवलगायतका माध्यमहरूमार्फत हेर्न र सुन्न सकिन्छ । करिब १२ वटा जति गीतहरू करोड क्लबमाथि पुगेका छन् । ६–७ करोड पटक हेरिएका गीतहरू पनि युट्युवमा छन् । ‘लिरिक्स बाइ दिनेश थपलिया’ भनेर युट्युवमा खोज्नुभयो भने मेरा सबै गीतहरू पाउन सक्नुहुन्छ । कतिपय रोम्यान्टिक पनि छन् । कतिपय गीत अहिले सुन्दा यी शब्द मेरै हुन् भन्ने जस्तो पनि मलाई लाग्छ । म ६० वर्ष नाघेको मान्छे, तर गीत लेख्दा अहिले पनि जुन प्रसङ्गको गीत रचना गर्छु म आफूलाई त्यसैतर्फ ढाल्छु । मेरो यो फरक पहिचान भएका कारण यसलाई निरन्तरता दिने प्रयासमा छु ।
साहित्य र गीतसंगीत लेखनमा कहिलेदेखि लाग्नुभयो ? प्रेरणा कहाँबाट पाउनुभयो ?
म विद्यालय जीवनदेखि नै साहित्यप्रति रुची राख्ने गर्थेँ । हामी स्कुलमा पढ्दा विझिन्न सदनहरू छुट्याइएको हुन्थ्यो र शुक्रबार अतिरित्त क्रियाकलाफहरू हुने गर्दथे । विद्यालयका अतिरिक्त त्रियाकलापहरू खेलकुदबाहेक हाजिरीजवाफ, वक्तृत्वकला, कविता, मुक्तक वा निबन्धलेखनलगायतमा सधैं सहभागिता जनाउने गर्थेँ । सहभागिता जनाएको सबै क्रियाकलापहरूमा म उत्कृष्ट पनि हुन्थेँ । यसले पनि मलाई लेखनमा उत्प्रेरित गरेको अनुभूति अहिले हुन्छ । गर्वका साथ भन्न मन लाग्छ– मैले कक्षा सातदेखि कक्षा दशसम्म पढ्दा जति कापी र कलम आवश्यक पर्दथ्यो सबै मैले प्राप्त गरेको पुरस्कारहरूबाटै पुग्ने गर्दथ्यो ।
मैले यतिबेलाका ती गुरुहरूलाई अहिले सम्झिन्छु, नेपाली गुरु सोमनाथ सर उहाँ अहिले हुनुहुन्न । उहाँले कविताको पाठ पढाउनुहुँदा सबैलाई कविता र निबन्ध पढाउँदा निबन्ध नै लेखेर ल्याउन लगाउनुहुन्थ्यो । मलाई लाग्छ सबैभन्दा ठूलो प्रेरणा नै उहाँको पढाउने शैली हो । अर्को कुरा मेरो बुबा पढेलेखेको ज्योतिषी पण्डित हुनुहुन्थ्यो । उहाँले प्रयोग गर्ने पुस्तकहरू रामायण, महाभारत, गुणरत्न माला, ठूलो वर्णमालालगायत पुस्तकहरू मैले पनि त्यसबेलै पढ्ने मौका पाएँ ।
यी र यस्तै वातावरण र परिवेशहरूले मलाई साहित्य र संगीत सृजनाको बाटोमा पनि लगाएको हो । तर, परिवेश मात्र भएर पुग्दैन मानिसमा केही गर्ने मन पनि चाहिन्छ । मैले त्यो मन पनि लगाएछु । तर, सरकारी जागिरमा प्रवेश गरेपछि लेखन यात्रा केही पातलो भयो । यद्यपि, कम समयको बावजुद पनि मैले साहित्य सृजना गर्दै गएँ । समग्रमा भन्ने हो भने समय, परिस्थिति, परिवेश, विभिन्न पात्र, घटना, आफन्त र मित्रहरू नै मेरा प्रेरणाका स्रोतहरू हुन् । र, अग्रजहरू जसले यो क्षेत्रमा योगदान गर्नुभएको छ उहाँहरूबाट पनि निक्कै प्रभावित हुँदै आएको छु ।
सरकारी सेवा र साहित्य सृजनको यात्रा एकसाथ कसरी अघि बढिरहेका छन् ? कुन समयमा गीत र साहित्य रचना गर्नुहुन्छ ?
सुरूमै यो स्पष्ट पार्न चाहान्छु कि साहित्य मेरो पेसा होइन, प्यासनसम्म हो । जहाँसम्म समय व्यवस्थापनको कुरा छ, म व्यस्त छु तर अस्तव्यस्त छैन । समय त आफूले व्यवस्थापन गर्ने हो । व्यवस्थापन गर्न खोज्यो भने सकिदोरहेछ पनि । गाडीमा लामो होस् या छोटो याक्रा गरिरहँदा, कार्यत्रमहरूमा सहभागी हुँदा वा जुनसुकै कामका हुँदा पनि मलाईअनुभूति हुने विषयको टिपोट गरिहाल्छु र पछि त्यसलाई परिस्कृत गर्ने गरेको छु । धेरैजसो म विदेश झ्रमणका क्रममा लेख्ने गर्छु । किनकी विदेश जाँदा कार्यत्रम थोरै खाली समय धेरै हुन्छ । त्यस्तो बेला मैले सृजना गर्छु । यसरी नै मैले आफूलाई साहित्यमा पनि समर्पित गरिरहेको छु ।
मलाई अतिरिक्त रुची छैन अर्थात् रमझ, हाँसखेल, ख्यालठट्टा, खेलोफड्कोमा कहिल्यै रुची भएन । सरकारी सेवाका क्रममा जिल्लामा बस्दा पनि त्यस्तो भावना म मा भएन । मसँग जति समय उब्रिन्छ त्यसलाई सृजनामा खपत गर्छु । अहिले मेरो डायरीमा भएको कविता, मुक्तक, गीतहरू, लगभग मैले लिपिबद्ध गरिसकेँ । अहिले मैले प्रकाशित गर्नुपर्ने करिब साढे ४०० जति मुक्तकहरू छन् । दुईवटा संग्रह त्यसले पुग्दो रहेछ । म त्यो तयारीमा छु । ४० वटा भन्दा बढी अप्रकाशित कविताहरू छन् त्यो पनि प्रकाशनको तयारी हुँदैछ । झण्डै ४०० गीतहरू मेरो डायरीमा छन् । तीमध्ये करिब १०० वटाजति गाइसकेका छन् भने अरु बाँकी छन् । यी सबै गीत गाउन कठिन छ, तर कसैले माग्नुभयो भने दिनेछु ।
सरकारी सेवामा रहेको व्यक्तिका रूपमा हेर्ने हो भने तपाइँलाई साहित्यकारचाहिँ कस्तो लाग्छ ?
२०४० सालमा सालमा खरिदारसरहको प्राविधिक जागिरबाट प्रवेश गरेको म आजको मितिसम्म निरन्तर सरकारी सेवामा छु । वर्ष नगनौँ ठूलै अङ्क आउँछ । मैले जुन–जुन ठाउँमा जहाँ–जहाँ बसेर जे–जे काम गरेँ, तर मलाई साहित्यकार भनेको कुनै ठाउँ नगइकन साहित्यको ठाउँमा बसेर सबै क्षेत्रको काम गर्न सक्छ भन्ने लाग्छ । एउटा कविले आफूलाई विभिन्न भूमिकामा ढालेर साहित्य सृजना गरेर निर्वाचन आयोगको काम पनि गर्न सक्दो रहेछ ! मेरो लागि साहित्य रुचीको विषय भएकाले पहिल्यैदेखि लेख्थेँ । अहिले पनि यो रुचीमा म छु । अहिले पनि केही गीतहरू मैले दिएको छु र आउने क्रममा छन् । साथै मैले केही समयअगाडि मेरो कवितासंग्रह ‘म गाउँ फर्किन्छु’ शीर्षकमा प्रकाशित गरेको छु ।
तपाइँ सरकारी सेवाको करिब उत्तरार्धमा हुनुहुन्छ । त्यसपछि त गीतसंगीत र साहित्य सृजनाको कामलाई अझै सशक्त बनाउने सोचमा हुनुहुन्छ होला, होइन ?
मैले अहिलेसम्म जे–जे काम गरेँ र जुन–जुन पद आर्जन गरेँ ती सबै अस्थायी हुन् । तपाइँले एक वर्षपछि मलाई कतै भेट्नुभयो वा सम्बोधन गर्नुभयो भने पूर्व वा भूतपूर्व ‘फलानो’ भन्नुहुने छ । तर, यो सृजना कहिल्यै ‘पूर्व’ हुँदोरहेनछ अभूतपूर्व रहेछ । मैले भूतपूर्व कवि भनेको सुनेको छैन । त्यसकारण आफूसँग जे छ त्यसलाई एउटा सर्जक वा साधकजस्तो भएर दिन सक्नुभयो भने त्यसले तपाइँ/हामीलाई जुग–जुगसम्म परिचित बनाउँदोरहेछ । त्यसकारण मेरो पद अस्थायी र साहित्य स्थायी हो भन्ने चेतना मभित्र पलाएका कारण म यसलाई निरन्तरता दिँदै आएको छु र भविष्यमा पनि दिने छु । प्रयत्न गरिरहने छु । सशक्त बन्ने त समय हो, त्यो कुरा समयलाई नै छोडिदिउँ ।
आफूले लेखेकामध्ये आफैंलाई सबैभन्दा धेरै मन परेको र आफूलाई मन नपरे पनि अरु (बजार)ले रुचाइदिएको कुनै गीतको नाम लिनुपर्दा कुन लिनुहुन्छ ?
वि.सं. २०६९ सालतिर पहिलोपटक एउटा क्यासेट निकालिएको थियो । पहिलो भनेपछि त्यसमा अवश्य पनि राम्रा–राम्रा छनोटहरू समावेश गरिएका थिए । क्यासेटका गीतहरू युट्युवमा गएनन् । त्यसपछि मलाई संगीतकार दीपक शर्मा र गायक तथा कलाकार सरोज ओलीजीले केही सुझाव दिनुभयो । त्यसपछि मैले ‘तिमीलाई देखेपछि आई लभ यू आई लभ यू भन्न मन लाग्यो…’ भन्ने गीत लेखेँ । त्यो लेख्दा म आफैंलाई केही असहज भएको थियो । अहिले त्यो सबैभन्दा धेरै चल्नेमध्येमा पर्छ, तर गुनगुनाउन म आफैंलाई लाज लाग्छ । अर्काको रुची र मेरो क्षमताको कुरा गर्दैछु । त्यसपछि ‘माछीले खाने खोलीको लेउ…’, ‘अर्को जुनी खै कुन्नि…?’, ‘मायालु तिमी कता छ्यौँ…’, चलचित्र ‘नाइ नभन्नु ल–५’मा समावेश ‘तिम्रो आँखामा आँखा जुधाई…’, ‘तिम्रै नामको सिन्दुर…’, र ‘मलाई आमाले दिएको चौबन्दी…’ लगायत राम्रो चलेका गीतहरू हुन् ।
मलाई राम्रो लागेको तर युट्युवमा ३०–४० लाखमा अड्किरहेको पनि छ । मैले आफू सानो हुँदाको परिकल्पनामा एउटा गीत लेखेको थिएँ । त्यसलाई राम्रै बनाएँ । त्यो गीत सुन्दा अहिले जो कोहीलाई १३–१४ वर्षमै अनुभूति गर्न पाउनुहुन्छ । त्यो गीत हो ‘पहिलोपल्ट भेट हुँदा…’ र ‘म राजकुमार…’ हुन् । पहिला लेखेकोमा पछि थप्दा बिग्रिने हुँदा म त्यसतर्फ खासै सोच्दैसोच्दिनँ, तर गीत दिइसकेपछि संगीतकारले संगीतमा ढाल्दा र गाउँदा सहज बनाउने उद्देश्यले केही शब्दहरू फेरिदिनुस् भन्नुहुन्छ । कहिलेकाहीँ त्यस्तो भएको छ । तर, अधिकांशमा होइन ।
आलोचना भएको गीतचाहिँ सम्झन मन लाग्दैन ?
मेरा सृजना आलोच्य खासै छैनन् । तर, ‘घरमा कोही नहुँदा एकछिन् तिमिलाई बोलाउँला…’ गीतले अलिकति आलोचनामा पुर्याएको थियो । घरमा कोही नहुँदा मैले लेखेको थिए, त्यहाँ मेरो अर्कै शब्द थियो लय मिलेकै । अनि संगीतकारले युवालाई लक्षित गरेर क्याची बनाउनका निम्ति यो शब्द ‘तिमिलाई बोलाउँला’ राखौँ भन्नुभयो । त्यतिबेला म सचिव थिएँ । अनि मैले भनेँ– अहिले पनि यो पोजिसन र उमेरमा छु ‘घरमा कोही नहुँदा, तिमिलाई एक्लै बोलाउँला’ भनेर कसरी लेखौँ ? उहाँले गीतमा भइहाल्छ नि भन्नुभयो र दिइयो पनि । तर, त्यो गीतलाई लाक्षणिक अर्थ लगाएर केही आलोचना पनि गरियो । तर, गीतसंगीतको आलोचनामा पनि मजा आउँदोरहेछ । कतिपयमा यस्तो शब्द हटाएर यो राख्न पाए काइदा हुन्थ्यो जस्तो नि लाग्छ । कतिपय त अरुको गीतमा पनि मलाई त्यस्तो लाग्छ ।
व्यावसायिक गीतकारझैं यति धेरै गीत रचना गर्नुभएको रहेछ । यसबाट केही आर्थिक आम्दानी पनि गर्नुहुँदो होला । त्यसलाई केमा खर्च गर्नुहुन्छ ?
चलचित्रलाई गीत दिँदा पैसा आउँछ । पत्रिकामा छपाउँदा पनि पैसा आउँछ । आउने कुरालाई मैले स्वीकार गर्ने गरेको छु । पछिल्लो समय युट्युवबाट पनि पैसा आउने गरेको छ । गत वर्ष धेरै त आएन, तर केही पैसाको चेक बोकेर आएँ । सम्मानित पनि भएँ । सामाजिक गीत लेख्दा एउटाको सात हजार रूपैयाँसम्म पनि मेरो भागमा परेको छ । तर, त्यसबापत आएको पैसा मैले आफ्नो जीविकोपार्जन र दालभातका निम्ति नभइ जति आउँछ अर्को गीत बनाउनका निम्ति दिने गरेको छु । गीत बनाउनेलाई नै मैले भनेको हुन्छ– मेरो जति आएको छ तपाइँले सुरक्षित गरिदिनुहोस् फेरि अर्को गीत बनाउँदा खर्च गरिदिनुहोस् । किनकी मेरो पेसा गीत बेच्ने होइन । जति गीतहरू बनेका छन्, मेरो पारिश्रमिक पनि त्यसैभित्र छ । एउटा १५–१६ हजार रूपैयाँको चेकचाहिँ एउटा कुनै संस्थालाई सहयोगस्वरूप दिएँ ।
अन्तिममा गीतसंगीत र साहित्यको क्षेत्रका सन्दर्भमा थप केही भन्न चाहानुहुन्छ ?
गीतसंगीत र साहित्यको क्षेत्र अत्यन्त अथाहा छ । ठूलो समुद्रमा म एकथोपा पानीजस्तो मात्रै हुँ । यो महामार्ग हो, म सानो गोरेटोमा हिँड्दै गरेको यात्री हुँ । सबै अग्रजहरूलाई हार्दिक सम्मान गर्दछु । म पनि बामे सर्दै तपाइँहरूको यात्रामा सँगसँगै हिँड्न खोज्दैछु गीतसंगीतको माध्ययमबाट । यो क्षेत्रमा पुगेर कुनै नाम वा दाम कमाउँला वा मेरो छुट्टै पहिचान होला भन्ने ठूलो अपेक्षा मसँग छैन । तर, सार्वजनिक जीवनबाट अब एक वर्षपछि म विश्राम लिँदैछु । तर, यो नेपाली साहत्यि, संगीत, कला र संस्कृतिलाई जोगाउने, उत्थान गर्ने र संरक्षण गर्ने कुरासँग अन्तिमसम्म विश्राम लिन्नँ । म जहाँ पुग्छु जे सक्छु, त्यो योगदान गर्छु ।
तपाइँहरू जो यो पेसा वा व्यवसायमा लागिरहनुभएको छ । यो प्रतिस्पर्धी होला व्यावसायिक भइसकेको छैन । यो जीविकोपार्जको आधार पनि बन्न सकेको छैन । त्यसकारण हामीले व्यावसायिक साहित्यिक माहोल सृजना गर्नुपर्नेछ । र, यो यति महत्वपूर्ण क्षेत्र हुँदाहुँदै पनि साहित्यको क्षेत्रलाई विकासको क्षेत्र कहिल्यै भनेनौँ, यो हाम्रो गल्ती भयो । साँच्चै भन्नुहुन्छ भने जहाँ साहित्य र संस्कृति हराउँछ त्यसको मौलिकता हराउँछ । त्यसले यो मौलिकता र अपनत्व सृजना गरेर जोगाउने काममा जो जहाँ छौँ लागौँ, सहयोग गरौँ ।
मैले जे देखेँ त्यही लेखेँ र जे लेखेँ र अनुभूति गरेँ त्यही बोलेँ । यसमा बनिबनाउ कुनै कुरा छैन । तपाइँहरूको माया, सद्भाव र प्रेरणा सधैंभरि पाएको छु । सधैं पाइरहे हामी केही गर्न सक्छौँ । यो क्षेत्रमा काम गर्ने र लागि पर्ने व्यक्तिहरूलाई आ–आफ्नो ठाउँबाटै सहयोग गरौँ । सम्मान गरौँ । केही दिन नसकिएला सदभावका दुईवटा शब्द त भन्न सकिन्छ नि ! त्यत्ति गरिदिनुभयो भने पनि एउटा साहित्यकार फुरुङ्ग हुन्छ । यो संस्कार र पद्धनि विकास गरौँ । यही मेरो आग्रह छ । धन्यवाद !
भिडिओ–
यो पनि पढ्नुहोस्–
वायुसेवा निगम प्रमुख भन्छन्– साहित्य–सृजना भर्सटायल हुनुपर्छ, पाँचवटा गीत आउँदैछन् (भिडिओ)
FACEBOOK COMMENTS