काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हालसम्मकै उच्च रकम कारोबार भएको छ ।
आज नेप्से परिसूचकमा उल्लेख्य वृद्धि देखिँदा कारोबार रकम उच्चतम विन्दुमा पुगेको हो ।
आज नेप्से परिसूचक ९४ दशमलव ५३ अङ्कले बढेर दुई हजार आठ सय ६० दशमलव ९१ को विन्दुमा कायम भएको छ । यो तीन दशमलव ४१ प्रतिशतको वृद्धि हो । तीन सय ३० कम्पनीको छ करोड तीन लाख २१ हजार तीन सय २३ कित्ता शेयर दुई लाख ७५ हजार दुई सय सात पटक खरिद बिक्री हुँदा रु २५ अर्ब ७७ करोड ९४ लाख ५३ हजार पाँच सय नौ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा सबै समूहको उपसूचक हरियो देखिएको छ । सबैभन्दा धेरै बढ्नेमा जीवन बीमा समूह चार दशमलव ५५ र लघुवित्त समूह चार दशमलव ४० प्रतिशतले बढेको छ । बैंकिङ तीन दशमलव ३५, विकास बैंक दुई दशमलव ५८, वित्त तीन दशमलव ४८, होटल तथा पर्यटन शून्य दशमलव ९०, जलविद्युत् तीन दशमलव ९३, लगानी चार दशमलव १२ र उत्पादन तथा प्रशोधन समूह एक दशमलव ७५ प्रतिशतले बढेको छ । म्युचुअल फन्ड शून्य दशमलव ०१, निर्जीवन बीमा तीन दशमलव ४५, व्यापार दुई दशमलव ९१ र अन्य समूह दुई दशमलव ५१ प्रतिशतले बढेको छ ।
आज १० वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड, नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टेमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेड, आँखुखोला जलविद्युत् कम्पनी लिमिटेड, अपर तामाकोशी हाइड्रोपावर लिमिटेड, शुभम् पावर लिमिटेड, आत्मनिर्भर लुघवित्त वित्तीय संस्था लिमिटेड र मिड सोलु हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि देखिएको हो । कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा भने आज नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु एक अर्ब ५२ करोड दुई लाख ४७ हजार तीन सय ७० बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको २४ लाख ५१ हजार छ सय ८६ कित्ता शेयर किनबेच भएको छ ।
गत साताको नेप्से कस्तो थियो ?
यो साता ८२ अर्ब ७१ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको छ । अघिल्लो साता ९५ अर्ब ७३ करोड ८३ लाख रूपैयाँको सेयर कारोबार भएको थियो । यस साता केही सांसदको अभिव्यक्ति, बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरणले अघिल्लो साताको तुलनामा सेयर कारोबार रकम घटेको छ ।नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियारले बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरण सार्वजनिक भएपछि लगानीकर्तामा मिश्रित प्रभाव पर्दा कारोबार रकम घटेको बताए ।
संस्थागत लगानीकर्ताको २० करोड रुपैयाँको सीमा खारेज भएपछि बजारमा कर्जा प्रवाह हुन थालेको छ । चालु आवको मौद्रिक नीतिले संस्थागत लगानीकर्ताले २० करोडसम्म मात्रै सेयर धितो कर्जा लिन पाउने व्यवस्था हटाएको थियो । त्यसको प्रभाव बजारमा देखिन थालेको छ ।
साताभर सेयर कारोबार रकमका दृष्टिकोणले धेरै भए पनि नेप्से परिसूचक बढ्न सकेन । साताभरमा सेयर परिसूचक १०.७६ अंकले मात्र बढेको छ । गत साताको बिहीबार नेप्से २७५५ अंकमा थियो । साताको पहिलो दिन आइतबार सार्वजनिक बिदा परेकाले सेयर कारोबार भएन । सोमबार नेप्से परिसूचक ४०.७६ अंकले बढेर २७९६ बिन्दुमा पुगेको थियो ।
मंगलबार बजारमा ठूलो गिरावट आयो । नेप्से १४५.०५ अंकले घटेर २६५१.३३ बिन्दुमा झ¥यो । त्यसपछि बुधबार पुनः सेयर बजारमा सुधार आयो । त्यस दिन परिसूचक १०८.३५ अंकले बढेर २७५९.६८ बिन्दुमा पुग्यो । बिहीबार भने परिसूचक ६.७० अंक बढेको हो ।
नेप्से परिसूचकमा साताभरमा आएको उतारचढाव जस्तै कारोबार रकममा पनि उतारचढाव आयो । गत बिहीबार २१ अर्ब ४८ करोड ५२ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएकोमा सोमबार २१ अर्ब ६९ करोड ७९ लाख रुपैयाँको सेयर किनबेच भयो । मंगलबार नेप्से परिसूचक १४५.०५ अंकले घटेको दिन कारोबार रकम उल्लेख्य बढ्यो । सो दिन २३ अर्ब ५० करोड ३२ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको थियो ।
बुधबार परिसूचक १०८.३५ अंकले बढे पनि कारोबार रकम भने धेरै नै खुम्चियो । सो दिन १७ अर्ब ६९ करोड २२ लाख रुपैयाँ बराबरको मात्रै सेयर खरिदबिक्री भएको थियो । यस्तै, बिहीबार कारोबार रकम बढेर १९ अर्ब ८१ करोड ९६ लाख रुपैयाँ पुगेको छ । कारोबारमा आएका १३ समूहमध्ये बैंकिङको बुधबार बाहेक अन्य दिन सेयर मूल्य घटेको छ । बुधबार भने यस क्षेत्रको सेयर मूल्य ३३.८५ अंकले बढेको थियो । गत बिहीबार ४३ खर्ब ७२ अर्ब ३६ करोड रुपैयाँ पुगेको कुल सेयर बजार पुँजीकरण यस साताको बिहीबार ४३ खर्ब ९१ अर्ब ९ करोड रुपैयाँ पुगेको छ ।
FACEBOOK COMMENTS