काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अनुभवी व्यक्तिबाट सुझाव लिएर काम गर्न खाद्य तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तथा पारवहन तथा गोदाम व्यवस्थापन लिमिटेडका महाप्रबन्धकलाई निर्देशन दिएका छन् ।
खाद्य तथा व्यापार कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका रमेश आचार्य र नेपाल पारवहन तथा गोदाम व्यवस्थापन लिमिटेडको महाप्रबन्धकमा नियुक्त भएका प्रकाशप्रसाद पोखरेललाई आज नियुक्तिपत्र प्रदान गर्ने कार्यक्रममा मन्त्री भण्डारीले यसअघि निमित्तको भूमिकामा रहेका अनुभवी व्यक्तिबाट सुझाव लिएर काम गर्न निर्देशन दिए ।
यसैगरी मन्त्री भण्डारीले खाद्य तथा व्यापार कम्पनी लिमिटेड तथा पारवहन तथा गोदाम व्यवस्थापन लिमिटेड गरी दुवै संस्थानले सन्तोषजनक परिणाम दिन नसकिरहेकाले वर्तमान चुनौतीलाई अवसरमा बदलेर परिणाममुखी काम गरेर देखाउन र संस्थाको गरिमा जोगाउन प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिए ।
“अनुकूलतामा जोकोहीले काम गरे पनि प्रतिकूलतामा काम गरेर उत्कृष्ट परिणाम दिनसक्नुपर्छ”, मन्त्री भण्डरारीले भने, “तपाईहरू दुवै जनाले यी संस्थालाई उकास्न, संस्थाको गरिमा जोगाउन मजबुत तवरको भूमिका निर्वाह गर्नुपर्छ, मेरो शुभकामना छ ।”
मन्त्री भण्डारीले अहिले काम गर्न नसक्ने छुट कसैलाई नभएको बताउँदै खाद्य तथा व्यापार कम्पनी लिमिटेड तथा पारवहन तथा गोदाम व्यवस्थापन लिमिटेडमा नियुक्त भएका दुवै जनाको परीक्षणकाल आजदेखि सुरु भएको बताए । उनले भने, “अब तपाईहरूको पहिलो तीन महिनाको काम हेरिन्छ, त्यो अवधिमा सक्नुभएन भने तपाई आफैँले पुनःविचार गर्नुपर्ने हुन्छ ।”
“सरकारले तपाईहरुलाई जसरी विश्वास गरेको छ । त्यसअनुरुप काम गर्न सक्नुपर्छ अहिले तपाई हामी सबै परीक्षणमा छौँ । क्रमशः छ महिना गर्दै थप समय परीक्षण गरिनेछ । आफू मातहतका संरचनामाथि प्रश्न उठ्ने काम नगर्नु होला,” मन्त्री भण्डारीले भने ।
नवनियुक्त दुवै जनालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउँदै मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव मधुसुदन बुर्लाकोटीले नियुक्तिपत्र प्रदान गरेका थियो । नवनियुक्त दुवै जनालाई मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको थियो ।
FACEBOOK COMMENTS