आँखा मावन शरीरको संवेदनशील र महत्त्वपूर्ण अंगहरूमध्ये एक हो । यो हाम्रो दृष्टि अंग हो । यसबिना हामीलाई आफ्नो जीवनको कल्पना गर्न पनि कठिन छ । त्यसैले हामीले आफ्नो आँखाको हेरचाह गर्न अत्यन्त जरूरी छ ।
प्रविधिको अहिलेको युगमा ‘डिजिटल ओभरलोड’ आँखाका लागि सबैभन्दा ठूलो चुनौती बनेको छ । यसले शारीरिक स्वास्थ्यसँगै मानसिक स्वास्थ्यमा समेत असर गरिरहेको छ ।
यसबाट तनाव र थकान हुन्छ, एकाग्रतामा कमी आउँछ । साथै पूर्ण समय डिजिटल संसारमा बिताउनाले आँखालाई सबैभन्दा बढी तनाव पर्छ । यसले ‘कम्प्युटर भिजन सिन्ड्रोम’ वा ‘डिजिटल आइ सिन्ड्रोम’ पनि निम्त्याउन सक्छ । यसले टाउको दुख्ने, थकान र दृष्टि धमिलो हुने गर्छ । यस्ता डिजिटल ओभरलोडबाट आफ्नो आँखालाई जोगाउनुपर्ने आज हरेकको आवश्यकता हो । आँखालाई डिजिटल भारबाट जोगाउन यहाँ केही प्रभावकारी उपायहरू सुझाइएको छ :
२०-२०-२० नियम
डिजिटल काम गर्दा हरेक २० मिनेटमा २० सेकेन्ड ब्रेक लिनुहोस् र लगभग २० फिटको दूरीमा हेर्नुहोस् । यसले आँखामा निरन्तर दबाब कम गर्दछ, जसले स्क्रिनबाट विश्राम प्रदान गर्दछ र आँखालाई राहत मिल्छ ।
स्क्रिन समायोजन
स्क्रिनको माथिल्लो भाग तपाईंको आँखाको लेवलमा हुनुपर्छ । आँखालाई धेरै झुकाएर वा बढाएर हेर्दा आँखामा दबाब पर्छ ।
स्क्रिन व्यवस्थापन
मोबाइल होस् वा ल्यापटप, सबैको स्क्रिनको प्रकाश र कन्ट्रास्ट व्यवस्थापन गर्न सकिन्छ । तिनीहरूको चमकस्तर तपाईं वरपरको प्रकाशको बराबर राख्नुहोस्, ताकि स्क्रिनबाट आउने प्रकाशले आँखामा दबाब नपरोस् ।
आँखाको कसरत
आफ्नो हात फैलाउनुहोस् र औंलाहरू खुला पार्नुहोस् । औंलालाई ठूलो गोलाकारमा घुमाउनुहोस् र यसलाई आँखाले हेरिरहनुहोस् । यो अभ्यासले आँखाका ६ मांसपेशीलाई बलियो बनाउँछ । आँखालाई माथि, तल, बायाँ र दायाँ सबै दिशामा सार्नाले आँखाले लगातार स्क्रिनमा हेर्दा परेको दबाबबाट राम्रो विश्राम पाउँछ र फेरि कुनै कामका लागि आँखा पूर्ण तयार हुन्छ ।
आँखा लुब्रिकेट
सुख्खा आँखाका कारण दृष्टि कमजोर र धमिलो हुन्छ । त्यसैले आँखामा केही समयका लागि न्यानो कम्प्रेस राख्नुहोस् वा चिकित्सकको सल्लाह लिएर कृत्रिम आँसु पनि प्रयोग गर्न सक्नुहुन्छ । स्क्रिनमा हेर्दा आँखा सामान्यभन्दा कम झिम्किन्छ, जसले आँखा सुख्खा हुने सम्भावना बढ्छ । -एजेन्सीको सहयोगमा
FACEBOOK COMMENTS