काठमाडौं,बैशाख ६ – उदयपुरको त्रियुगा नगरपालिका- ३ भुल्के मस्जिदमा रहेका १२ भारतीय कोरोना संक्रमण देखिए पछि भुल्के मस्जिद आसपासको बस्तीलाई स्थानीय प्रशासनले शुक्रबार रातिदेखि सुरक्षा घेरामा राखेको छ।
बस्तीलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले घेरा हालेको हो । संक्रमितहरु भारतबाट आएपछि बस्तीमा प्रवेश गरी ‘जाँड, रक्सी सेवन गर्न हुँदैन, धर्मप्रतिको विश्वासलाई जीवन्त राख्नुपर्छ’ जस्ता उपदेशहरु दिँदै हिडेको स्थानीयले बताएका छन् ।
उनीहरु गाउँभरि हिडेकाले थप व्यक्तिलाई पनि संक्रमण भएको हुनसक्ने अनुमानले बस्तीलाई सुरक्षा घेरामा राखेको प्रहरीले जनाएको छ । मस्जिद टोलमा ५० भन्दा बढी घर छन्।
उनीहरु नयाँ दिल्लीबाट विराटनगरको जोगबनी नाकाहुदैं नेपाल प्रवेश गरेका थिए । उनीहरु यसअघि वीरगन्जमा भेटिएका सङ्क्रमितसँगै सुनसरी र सप्तरीका कार्यक्रममा सहभागी भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
१२ जनाको सो समूहसँग मोरङका चार जना थपिएर उनीहरुसँगै मोरङ, सुनसरी र सप्तरीको बोदेबरसाइन, राजविराज, फत्तेपुर लगायतका ठाउँमा पुगेर शिक्षा दिँदै उदयपुर प्रवेश गरेको पाइएको स्थानीय प्रशासनले जनाएको छ।
भुल्के आउनु अगाडि उनीहरु उदयपुरकै चौदण्डी नगरपालिकामा रहेको मस्जिदमा बसेका थिए। प्रहरीका अनुसार गएको फागुन ३–५ गतेसम्म सप्तरीको वोदेबर्साइन नगरपालिका– ५ जाँजरमा भएको नेपाल इज्तिमा सहभागी भएका उनीहरु राजविराज हुँदै उदयपुर आइपुगेका थिए । उनीहरु उदयपुरका दुई वटा मस्जिदमा पुगेका थिए । उनीहरु चौदण्डीगढी नगरपालिका ५ शिवाईको मस्जिदमा पुगेर शिक्षा दिँदै लकडाउनको समयमा त्रियुगा नगरपालिका ३ भुल्केका मस्जिदमा आईपुगेका थिए ।
मस्जिदमा भारतीय रहेको सूचना चैत १२ गते नै सुरक्षाकर्मीले आएर क्वारेन्टाइनमा बस्नको लागि गरिएको आग्रह नमानेपछि सुरक्षा निगारानीमा उनीहरुलाई मस्जिदमै राखिएको थियो ।
लकडाउन हुनेवित्तिकै मस्जिदहरुमा सर्च गर्दा भारतीय नागरिक फेला परेपछि कोरोना परीक्षण गरिदिन जिल्ला प्रशासन कार्यालय र प्रदेश सरकारलाई अनुरोध गरिएको २२ दिन पछि परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण देखिएको स्थानियको आरोप छ ।
FACEBOOK COMMENTS