काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठनपछि नेप्से ९९५ अङ्कले बढेको छ ।
वर्तमान गठबन्धनपछि निरास बनेका लगानीकर्तामा आएको उत्साहले ३३ दिनको शेयर कारोबारमा नेप्से ९९५ अङ्कले बढेको हो ।
गत असार १७ मा कांग्रेस–एमालेसहितको नयाँ गठबन्धन बनेको थियो । तत्कालिन सरकारको नेत्रृत्व गरेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिन नसकेपछि गत असार ३० मा ओलीको नेतृत्वमा सरकार गठन भएको थियो । त्यसयता प्रत्येक दिन नेप्सेमा उछाल आएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रवक्ता मुराहरि पराजुलीले शेयर बजार बढ्नुमा राजनीतिक स्थायित्व पनि मुख्य कारण रहेको बताएका छन् । त्यससँगै लचिलो मौद्रिक नीतिको प्रभाव शेयर बजारमा परेको छ । अर्थमन्त्री विष्णु पौडेल चयन भएयता भदौ ५ सम्मको अवधिमा नेप्से परिसूचक ७३४ अङ्कले बढिसकेको छ । यो अवधिमा लगानीकर्ताको सम्पत्ति ११ खर्ब ७० अर्ब ३८ करोड रूपैयाँले बढेको छ ।
असार ३१ मा ३५ खर्ब ५३ अर्ब ६७ करोड रूपैयाँ हाराहारी रहेको कुल बजार पुँजीकरण भदौ ६ सम्ममा ४७ खर्ब २४ अर्ब पुगेको छ । यस अवधिमा शेयर कारोबार रकमले पनि ऐतिहासिक रेकर्ड कायम गरेको नेप्सेको तथ्यांकले देखाएको छ ।
साताको शेयर बजार
साताको पहिलो दिन आइतबार नेप्से इन्ट्राडेमा ३०४८.१५ बिन्दुसम्म पुगेको थियो । बढेको बजारमा कारोबारीहरूले नाफा सुनिश्चित गर्न लाग्दा बजार घटेको थियो । त्यसपछि सार्वजनिक बिदाका कारण सोमबार र मंगलबार बजार बन्द भयो । बुधबार खुलेको बजारमा नेप्से २.११ अङ्क बढेर २९६८.४४ बिन्दुमा पुगेको थियो । बिहीबार नेप्से परिसूचक ६.०१ अङ्कले बढेर २९७४.४६ बिन्दुमा पुगेको हो । इन्ट्राडे कारोबारमा परिसूचक ३०१८.३३ बिन्दुसम्म पुगेको थियो । नेप्से ३ हजारभन्दा माथि पुगेपछि विक्रेता हाबी भएका छन् । पछिल्ला दिनमा कारोबार रकम भने सुस्त भएको छ । यसअघि करिब ३० अर्ब हाराहारीमा पुगिसकेको कारोबार रकम बुधबार र बिहीबार घटेको छ ।
बिहीबार ३३३ कम्पनीको धितोपत्रको ४ करोड ९ लाख ५१ हजार ७२० कित्ता शेयर २ लाख १६ हजार ४५५ पटकमा १९ अर्ब १६ करोड रूपैयाँमा किनबेच भएको छ । बुधबार ३३७ धितोपत्रको ४ करोड १४ लाख ५४ हजार ६११ कित्ता शेयर २ लाख १४ हजार ३१९ पटकमा १८ अर्ब ९० करोड रूपैयाँ बराबरमा कारोबार भयो । गत आइतबार ३३० धितोपत्रको ६ करोड ५४ लाख ७५ हजार ३६६ कित्ता शेयर ३ लाख ९ सय १८ पटकमा २८ अर्ब ८३ करोड रूपैयाँ बराबरको कारोबार भएको थियो ।
सातामा सर्वाधिक कारोबार हुने कम्पनीहरू मध्ये बिहीबार सर्वाधिक शेयर खरिदबिक्रीको हिस्सा शाइन रेसुंगा डेभलपमेन्ट बैंकले ओगटेको छ । यस कम्पनीको १ अर्ब रूपैयाँभन्दा बढीको शेयर कारोबार भएको थियो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता ५९० रूपैयाँ कायम भएको छ । शेयर सर्वाधिक खरिदबिक्री हुने दोस्रोमा अरुण भ्याली हाइड्रोपावर कम्पनी छ । यो कम्पनीको ४७ करोड ४७ लाख रूपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
गत आइतबार शेयर सर्वाधिक खरिदबिक्रीको हिस्सा हिमालयन रिइन्स्योरेन्स कम्पनीले ओगटेको थियो । यस कम्पनीको ४५ करोड ७८ लाख रूपैयाँ बराबरको शेयर कारोबार भएको थियो । शेयर सर्वाधिक खरिदबिक्री हुने दोस्रोमा अपि पावर कम्पनी थियो । जसको ४५ करोड ७८ लाख रूपैयाँ बराबरको शेयर कारोबार भएको थियो । बुधबार पनि शेयर सर्वाधिक खरिदबिक्रीको हिस्सा हिमालयन रि–इन्स्योरेन्स कम्पनीले ओगटेको थियो ।
FACEBOOK COMMENTS