काठमाडौं । नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना भएको छ । आइतबार बिहान भारतको विहार राज्यको समस्तीपुरमा उक्त दुर्घटना भएको हो ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार ना ७ ख ६४४६ नम्बरको बस समस्तीपुरस्थित मुसरीघरारी थाना क्षेत्रमा पर्ने एनएच २८ राजमार्गमा दुर्घटना भएको हो ।
दुर्घटनाग्रस्त बसमा सवार ४३ जनामध्ये तीन दर्जन बढी घाइते भएका रिपोर्टहरूमा उल्लेख छ ।
घाइतेमध्ये एक किशोरसहित पाँच जनाको अवस्था गम्भीर छ ।
घाइतेहरूलाई उद्धार गरेर उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको त्यहाँको प्रहरीले जनाएको छ ।
बस बाराबाट झारखण्डको देवघर तीर्थका लागि जाँदै गर्दा दुर्घटनामा परेको हाे ।
उक्त बसलाई एउटा ट्रकले ठक्कर दिँदा बसको एक्सल भाँचिएर बस सडकमै पल्टिएको जनाउँदै केही भारतीय सञ्चारमाध्यमले प्रहरीले क्रेनको सहायताले बसलाई सिधा पारेर क्षतिग्रस्त ट्रक र बसलाई नियन्त्रणमा लिई अनुसन्धान सुरू गरेको जनाएका छन् ।
प्रहरीका अनुसार उक्त दुर्घटनामा घाइते २० भन्दा बढी यात्रुलाई सदर अस्पतालमा भर्ना गरिएको छ । उनीहरूकाे पहिचान खुलेकाे छ भने उनीहरू सबै नेपालकाे बारा जिल्लाका बासिन्दा रहेको बुझिएको भारतीय सञ्चारमाध्यम जागरण अनलाइनले जनाएकाे छ ।
दुर्घटनामा बाराका गीतादेवी, सीमा कुमारी, विश्वनाथ मुखिया बिन्द, शोभा कुमारी, राजेश्वरप्रसाद साह, मुस्कान साह, फेकन मुखिया, शिवकुमारी, सियापति देवी, अमन प्रजापति, रामरती देवी, सुजित कुमारी, राम किशोरी, रामनागेन्द्र साह, रम्भा साह, सुखिया देवी, लक्ष्मी झा, रवीन्द्र कुमार, रामेश्वर शाह, सुबोधप्रसाद झा, लक्ष्मण मुखिया, सुमन मिश्रा, काजल कुमारी, किशोरी साह, उषा देवी घाइते भएका हुन् ।
FACEBOOK COMMENTS