काठमाडौं । कोरियामा नेपाली युवा कामदारको माग बढेका कारण रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सन् २०२४ मा पाँच हजार युवा रोजगारीका लागि कोरिया पुगेका छन् । सेवा सुविधाका दृष्टिकोणले कोरिया आकर्षक श्रम गन्तव्यमा पर्छ ।
वैदेशिक रोजगार विभाग ईपीएस शाखाकी निर्देशक मैया कँडेलले अन्य देशको तुलनामा नेपालले सबैभन्दा बढी कामदार कोरिया पठाउँदै आएको बताइन् । कोरियामा अन्य देशको तुलनामा नेपालबाट जाने कामदार संख्या बढी नै रहेको छ ।
आम्दानीका हिसाबले अधिकांश नेपाली युवाको आकर्षणको गन्तव्य मुलुक कोरिया भएको छ । नेपाली युवाहरूको लगनशीलता, कामप्रतिको लगाव, अनुशासन र कोरियाप्रतिको प्रेमभावका कारण पनि पछिल्लो समय कोरियाले धेरै नेपाली माग गर्ने गरेको देखिन्छ । यसैगरी कोरियाका रोजगारदाताले पनि नेपाली कामदारलाई बढी विश्वास गर्ने गरेका कारण नेपाली युवाको माग धेरै हुने गरेको हो ।
कोरियाले गैरकानुनी रूपमा बस्ने देशका कामदार कम माग गर्ने गरेको छ । नेपालीहरू अन्य देशको तुलनामा कम संख्यामा गैरकानुनी रूपमा कोरिया बस्ने गरेका कारण नेपालले कोटा बढी पाउने गरेको छ । नेपालीहरू तोकिएको श्रम करार अवधि सकिएपछि समयमै स्वदेश फिर्ता हुनाले पनि कोरियाले नेपाललाई सकारात्मक रूपमा हेर्ने गरेको श्रम विज्ञहरूको भनाइ छ ।
सन् २०२३ मा १६ वटा राष्ट्रमध्ये नेपालबाट सबैभन्दा धेरै १९ हजार ६८९ कामदार कोरिया प्रवेश गरेका थिए । अन्य देशको तुलनामा कोरियाले नेपालीलाई उच्च मूल्यांकनमा राखेको छ । अहिले उत्पादन क्षेत्रतर्फ ९ हजार ७२८ जना, कृषिमा ९ हजार ६७२ जना, शीप बिल्डिङमा ३ हजार ८८५ जना र सीबीटीमा ७५४ जना गरी २४ हजार ३९ जना रोष्टरमा छन् ।
कोरियामा काम गर्ने स्वदेशी वा विदेशी कामदारले बिनाभेदभाव निर्धारित न्यूनतम पारिश्रमिक पाउने व्यवस्था छ । कामदारले प्रतिघण्टा ९८६० कोरियन वनका दरले मासिक औसत २६ दिनको न्यूनतम २० लाख कोरियन वन (करिब २ लाख १० हजार नेपाली रूपैयाँ) पारिश्रमिक प्राप्त गर्न सक्छन् । यसबाहेक ओभरटाइम र बिदाको दिन काम गरे अलग्गै भत्ता पाइन्छ । नेपालबाट प्रस्थान गर्नुअघि ६ वर्षे वैदेशिक रोजगार बीमा गर्नुपर्छ भने कोरिया पुगेपछि स्वास्थ्य बीमा, स्वदेश फिर्ता बीमा, दुर्घटना बीमा, चोटपटक बीमा गर्नुपर्ने व्यवस्था छ ।
FACEBOOK COMMENTS