काठमाडौँ — समस्याग्रस्त बनेको गौशाला–चाबहिल सडकखण्डमा कालोपत्रको काम सुरु हुने भएको छ । लकडाउनअघि रोकिएको यो खण्डमा शारीरिक दूरी कायम गर्दै काम सुरु गर्न लागिएको हो ।
अहिले खानेपानीको पाइप व्यवस्थापन गर्ने काम सुरु भइसकेको सडक डिभिजन काठमाडौंले जनाएको छ । कालोपत्रको काम सुरु गर्न भने केही दिन लाग्नेछ । ‘यो सडकखण्ड सरकारको उच्च प्राथमिकतामा रहेकाले पूरै बनाउन लागिएको हो,’ सडक डिभिजन प्रमुख कुवेर नेपालीले भने, ‘शनिबारबाट काम सुरु भएको छ, एक महिनाभित्र रिजल्ट देखिन्छ ।’ उनका अनुसार निर्माण सामग्री लिन सवारी पास बनाएर काभ्रे पठाइएको छ ।
अहिले गिटीको समस्या छ । काभ्रेबाट ल्याउने भएकाले त्यहाँका स्थानीय पालिकासँग समन्वय गरेर ल्याउने प्रयास भइरहेको छ । ‘निर्माण सामग्री आए कामअघि बढाउन समस्या छैन । एउटा सेक्सनको कालोपत्र पाँच दिनभित्रमै सुरु हुन्छ,’ नेपालीले भने । कालिका वेदांशी जेभीले लिएको ठेक्का रकम १८ करोड छ । यो खण्डमा खाल्डाखुल्डी धेरै छन् । धुलो उडेर सडक किनारमा हिँडिसाध्य हुँदैन । कालोपत्र पनि उप्किएको छ । बर्खाको समयमा सडक हिलाम्मे बन्छ । जीर्ण सडककै कारण दुर्घटनाको जोखिम बढी छ ।
पशुपतिनाथको प्रवेशद्वारका रूपमा समेत रहेको यो खण्डमा दर्शनका लागि आउने भक्तजन बढी प्रभावित बन्ने गरेका छन् । पछिल्लो समय सबैतिर समस्या निर्माण सामग्रीको छ । ‘यहाँ पनि निर्माण सामग्री पाँच दिनभन्दा बढीलाई पुग्ने छैन । त्यसैले पास दिएर क्रसर उद्योगमा टिपर पठाएका हौं,’ नेपालीले भने । शनिबार अघिसम्म पहिला कालोपत्र भएका सडकको मार्किङ गर्ने काम भएको थियो । यसको काम सकिएसँगै कामदार र मौज्दात रहेको निर्माण सामग्रीबाट सडक ओभर–ले (पिचमाथि पिच) गर्ने काम सुरु गरिएको छ । ‘कामदारको समस्या छैन, त्यसको व्यवस्थापन गरेका छौं,’ उनले भने, ‘थोरै कामदार भए पनि काम धेरै भएको छ, थापाथली–त्रिपुरेश्वरमा ओभर–लेको काम सकिएको छ । पहिला गाडी चलेका बेला काम गर्न दुई दिन लाग्थ्यो, अहिले खाली भएको समयमा आठ घण्टामै सकियो ।’ उनका अनुसार लकडाउनले रोकिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि गौशाला सडकखण्डमा पनि ओभर–लेको काम सकिएको छ ।
गौशाला–चाबहिल खण्डमा पुरानो सडक भत्काएर नयाँ कालोपत्र गर्न लागिएको सडक विभागका महानिर्देशक केशवकुमार शर्माले जनाए । यो खण्डको दूरी १२ सय मिटर छ । चाबहिलदेखि गोपीकृष्णसम्म ओभर–ले गर्ने काम पनि मंगलबारबाट सुरु हुँदै छ । आइतबार गोदावरीमा पक्कीको ढलान भएको उनले बताए । ‘त्रिपुरेश्वर आसपास कालोपत्र गर्ने काम भइरहेको छ,’ उनले भने, ‘ओभर–ले गर्न बाँकी सबै ठाउँमा काम जारी छ ।’
कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकको कालीकोट सेक्टरमा खाल्डाखुल्डी पुर्ने काम सुरु भएको शर्माले बताए । गुल्मीको तम्घास–सिमलटारी–प्युठान सडकमा पनि कटिङ, सडक चौडा गर्ने काम जारी छ । यही खण्डमा पक्की पुल ढलानको काम भएको छ । विराटनगर–इटहरी ६ लेन बनाउने काम पनि भइरहेको छ । भरतपुर डिभिजन, हेटौंडा डिभिजनअन्तर्गत पनि धमाधम काम भइरहेको उनले जानकारी दिए । बर्खाअघि सक्नुपर्ने काम लकडाउनका बेला उनको भनाइ छ । ‘जहाँजहाँ काम भएका छन्, ती ठाउँमा राम्रै गरी स्वास्थ्य सावधानी अपनाइएको छ,’ शर्माले भने, ‘केही ठाउँमा त स्वास्थ्यकर्मी नै राखेर काम गराइएको छ ।’ देशभर पक्की पुल ढलान र सडक मर्मतको काम जारी रहेको उनले बताए ।
-कान्तिपुर दैनिक
FACEBOOK COMMENTS