काठमाडौं । दूरसञ्चार सेवा प्रदान गर्दै आइरहेको एनसेलको लाइसेन्स अन्ततः नवीकरण भएको छ । आइतबार एनसेलले थप एक अर्ब रूपैयाँ बुझाएपछि पहिलो किस्तामा कुल ५ अर्ब लिएर नवीकरण गरिएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।
कम्पनीले २५ वर्षे लाइसेन्स पाएको भए पनि दूरसञ्चार ऐन अनुसार सुरुको १० वर्षमा र त्यसपछि ५–५ वर्षमा नवीकरण गर्नुपर्ने प्रावधान अनुसार एनसेलले अन्तिम पल्ट नवीकरण गरिएको नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता एवम् निर्देशक सन्तोष पौडेलले जानकारी दिए । उनका अनुसार एनसेलले पहिले नै ४ अर्ब रूपैयाँ बुझाएको थियो । यसमा थप एक अर्ब बुझाएपछि लाइसेन्स नवीकरण भएको हो ।
गत विहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले चार किस्तामा नवीकरण शुल्क बुझाउनेगरी लाइसेन्स नवीकरण गर्ने निर्णय गरेको थियो । दूरसञ्चार ऐन अनुसार मन्त्रिपरिषदले नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई कुनै पनि किसिमको निर्देशन दिन सक्ने र त्यसको पालना गर्नुपर्ने प्रावधानबमोजिम यस प्रकारको सुविधा एनसेलले पाएको बताइएको छ ।
एनसेलको लाइसेन्स नवीकरण गर्दा ५ वर्षपछि यसको सबै सम्पत्ति राष्ट्रियकरण हुने शर्त भने कायमै राखिएको बताइएको छ । तत्कालीन मन्त्रिपरिषदले गत फागुन ६ गते गरेको यस्तो निर्णयलाई अहिलेसम्म उल्ट्याइएको छैन ।
FACEBOOK COMMENTS