काठमाडौं । सन् २०२३ को लागि अणुव्रत विश्व भारतीद्वारा प्रदान गरिने प्रतिष्ठित ‘अणुव्रत पुरस्कार’ प्रसिद्ध उद्योगपति तथा सामाजसेवी रतन टाटालाई प्रदान गरिएको छ ।
एक कार्यक्रमका बीच उक्त पुरस्कार टाटाको मुम्बईस्थित निवासमै गएर प्रदान गरिएको हो । अणुव्रत विश्व भारतीका राष्ट्रिय अध्यक्ष अविनाश नाहरसँगै त्यहाँ पुगेको प्रतिनिधिमण्डलले टाटालाई रू. एक लाख ५१ हजार रूपैयाँ राशीको पुरस्कारसहित स्मृति चिह्न प्रदान गरिएको हो ।
सो अवसरमा अणुविभाका महामन्त्री भीखमचन्द सुराना, मुम्बई भन्सार आयुक्त अशोक कुमार कोठारी, अणुविभाका उपाध्यक्ष विनोद कोठारी र सहमन्त्री मनोज सिंघवी उपस्थित थिए ।
अणुविभाका अध्यक्ष अविनाश नाहरले टाटालाई अणुव्रत पुरस्कार हस्तान्तरण गर्दै मानव जातिमा गरेको सकारात्मक योगदानको प्रशंसा गर्दै विश्वमा मानवताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेकामा सम्पूर्ण अणुविभा परिवारको तर्फबाट बधाई दिए । अणुव्रत अनुशास्ता आचार्य महाश्रमणले टाटालाई शुभकामना सन्देश पठाउँदै उनको सुस्वास्थ्यको कामना समेत गरेका थिए ।
अणुव्रत आन्दोलनले विगत ७५ वर्षदेखि मानव एकता, नैतिकता, अहिंसा र सद्भावनाको क्षेत्रमा व्यापक कार्य गर्दै आएको छ । आचार्य तुलसीले सुरू गरेको यो आन्दोलनले संयुक्त राष्ट्रसंघमा समेत आफ्नो विशेष पहिचान बनाएको छ । अणुव्रत पुरस्कारको श्रृङ्खलामा आत्माराम, जैनेन्द्र कुमार, शिवाजी भावे, शिवराज पाटिल, नितिश कुमार, डा. एपीजे अब्दुल कलाम, डा. मनमोहन सिंह, टीएन शेषन, प्रकाश आमटेलगायत प्रतिष्ठित व्यक्तित्वहरूलाई सम्मानित गरिएको छ ।
यस अवसरमा अणुव्रत प्रतिनिधि मण्डलले रतन टाटालाई अणुव्रत साहित्यहरू ‘अणुव्रत’ र ‘बच्चोका देश’ भन्ने पत्रिकाका विशेष अंकहरू भेन्ट गरेका थिए । कार्यक्रममा टाटालाई अणुव्रतका विभिन्न कार्यक्रमहरू जस्तःै चुनाव शुद्धि अभियान, अणुव्रत डिजिटल डिटक्स, एलिभेट, पर्यावरण जागरूकता अभियान, नशामुक्ति अभियान, जीवन विज्ञान आदिका बारेमा जानकारी गराए । टाटाले अणुव्रत विश्व भारती परिवारलाई समाज सुधारका लागि गरिरहेका कार्यहरूप्रति प्रशंसा गर्दै हार्दिक बधाई तथा शुभकामना दिए ।
अनुव्रत सुरू भएको ७० वर्षदेखि यसको समिति नेपालमा पनि सञ्चालनमा रहेको छ । यसको अध्यक्षामा भूतपूर्व प्रधानमन्त्री स्व. मातृकाप्रसाद कोइराल समेत रहिसकेका छन् । अनुव्रत समितिमार्फत यसको नियम नसा मुक्ति, साम्प्रदायिक सौहाद्रताका लागि एवम् अनेक प्रकारका मानवीय कल्याण हुने व्रतहरूका लागि यो अभियान नेपालको पूर्व मेचीदेखि पश्चिम महाकलीसम्म सञ्चालनमा रहेको छ । यसबाट नेपाली जनताहरू प्रत्यक्ष तथा परोक्ष रूपमा लाभान्वित भइरहेका छन् ।
FACEBOOK COMMENTS