काठमाडौं । दोलखाको उत्तरी क्षेत्रमा अवस्थित सिंगटी बजार तीनवटा गाउँपालिकाको स्थानीय मुकाम हो । सदरमुकाम चरिकोट बजार रहेको भीमेश्वर नगरपालिकासँग जोडिएको कालिञ्चोक गाउँपालिका तथा गौरीशंकर र बिगु गाउँपालिकाका अधिकांश जनताले नुनतेल लगायत दैनिक उपभोग्य वस्तु खरिद गर्नेदेखि स्वास्थ्योपचार गर्नेसम्मको महत्वपूर्ण र पुरानो बजार हो सिंगटी ।
तामाकोसी नदीको किनारमा अवस्थित सिंगटी बजार प्राकृतिकरूपमा जति जोखिम छ, त्यो भन्दा बढी त्यस क्षेत्रका नागरिकका लागि कामकाजी बजार बनेको छ । बिगु गाउँपालिकाको अस्थायी कार्यालय समेत रहेको सिंगटीमा बोर्डिङ स्कुल, क्याम्पस र आधुनिक सुविधासहितका अस्पतालहरू समेत सञ्चालनमा छन् । त्यसैमध्येको एक हो रोल्वालिङ सामुदायिक अस्पताल ।
सिंगटीमा जुनबेला यातायातको भरपर्दो सुबिधा थिएन । गाउँमा विरामी परेका मानिसहरूलाई चरिकोट वा काठमाडौं लैजान समस्या थियो । सरकारी निकायमा दर्ता नभएका मेडिकल र मेडिकल पर्सनहरूले दिएको औषधि खाएर विरामी निको हुने बाटो कुर्नुपर्थ्यो, गुणस्तरीय सेवा त परको कुरा । यी र यस्तै समस्यालाई दृष्टिगत गरी २०७० सालमा स्थानीय समाजसेवी समेत रहेका सुब्बा खड्काको अगुवाइमा रोल्वालिङ सामुदायिक अस्पताल सञ्चालनमा आएको थियो ।
निजी लगानीमा सञ्चालित सो अस्पतालले डाक्टर र औषधिबाहेकका अन्य विभिन्न सेवाहरू निःशुल्क तथा छुटसहितको सुविधा दिएपछि चर्चामा आएको छ । अस्पताल स्थापना भएदेखि दोलखाको उत्तरी क्षेत्र बिगु, कालिञ्चोक र गौरीशंकर गाउँपालिकाका नागरिकले स्तरीय सेवा पाउँदै आएको अस्पतालका संस्थापक अध्यक्ष सुब्बा खड्का बताउँछन् । सिंगटीमा सुविधासम्पन्न अस्पताल सञ्चालनपछि विरामीले सदरमुकाम चरिकोट र काठमाडौंसम्म धाउनुपर्ने बाध्यताको अन्त्य हुनाका साथै समयमै उपचार नपाएर अकालमै ज्यान गुमाउनुपर्ने अवस्थाबाट मुक्ति मिलेको उनको भनाइ छ ।
गाउँपिच्छे रहेका सरकारी स्वास्थ्य संस्थाहरू र अस्पतालले प्रभावकारी उपचार सेवा र परामर्श दिन नसकेको परिवेशमा निजी क्षेत्रबाट अस्पताल खोल्न परेको बताउँदै उनले अहिले पनि सरकारी स्वास्थ्य संस्थाका स्वास्थकर्मीहरू जनताको सेवालाई भन्दा आफ्नो रोजगारीलाई प्राथमिकता राख्दै आएको बताउँछन् । त्यसकारण पनि सरकारी स्वास्थ्य संस्थाहरूप्रति जनताको विश्वास समेत गुमेको उनको भनाइ छ ।
जनताको स्वास्थ्य सुविधालाई दृष्टिगत गरी सम्बन्धित तीनओटा स्थानीय तहले ५०/६० लाख रूपैयाँ व्यवस्थापन (अनुदान) गरिदिने हो भने जटिल रोगको शल्यक्रियाबाहेक दोलखाको उत्तरी क्षेत्रका जनसमुदायहरूले थप उत्कृष्ट सुविधा पाउनाका साथै ठूलो खर्च गरेर चरिकोट वा काठमाडौंसम्म धाउनुपर्ने बाध्यता समेत हटाउने योजना खड्कासँग छ । सरकारी स्वास्थ्य संस्थालाई जस्तै स्थानीय तहहरूले निजीलाई पनि सँगै अगाडि बढाउनुपर्ने धारणा उनको छ । त्यतिमात्र होइन सरकारी स्वास्थ्य संस्थाहरूमा तीव्र राजनीतिकरण भइ दक्ष जनशक्तिलाई पन्छाएर आफ्ना आफन्तहरूको भर्ती केन्द्र बनाइरहेको पनि उनले बताएका छन् । यस्तै, सरकारी स्वास्थ्य संस्थामा काम गर्ने र निजी क्लिनिक खोलेर औषधिको व्यापार गर्ने प्रवृत्ति मौलाइरहेकोप्रति उनले दुःख व्यक्त गरेका छन् ।
रोल्वालिङ सामुदायिक अस्पतालले सरकारी स्वास्थ्य संस्थाले भन्दा पनि सर्वसुलभ सेवा प्रदान गर्दै आइरहेको दाबी उनको छ । पछिल्लो समय आफूले व्यक्तिगत रूपमा भए पनि विभिन्न रोगका विरामीहरूलाई निःशुल्क खानाको व्यवस्था गरिएको, उपचारमा सामान्य छुटदेखि शतप्रतिशत निःशुल्कसम्म गरिँदै आएको र बिरामीको अवस्था हेरेर छुट सुविधा उपलब्ध गराउने गरिएको उनी बताउँछन् । तर, यसरी दिइएको छुट सुविधा माग गर्न खर्च गर्न सक्ने वर्गहरू नै आउने गरेको तीतो यथार्थ पनि उनले सुनाए ।
प्रस्तुत छ, रोलवालिङ सामुदायिक अस्पताल (सिंगटी, दोलखा) का संस्थापक अध्यक्ष सुब्बा खड्कासँगको भिडियो कुराकानीको सम्पादित अंश–
FACEBOOK COMMENTS