काठमाडौं । ई–आर्टस् नेपालको आयोजनामा आजदेखि ‘हिमालयन आर्ट फेस्टिभल’ सुरू भएको छ ।
बबरमहलस्थित आर्ट काउन्सिल (कला परिषद्) मा सुरू भएको फेस्टिभलले नेपाली कलाकृति नेपालीहरूकै घरमा सजिउन् भन्ने उद्देश्य राखेको ई–आर्टस् नेपालकी सह–संस्थापक आशा डङ्गोलले जानकारी दिइन् ।
आगामी शनिबार (भदौ २९ गते) सम्म चल्ने फेस्टिभलमा करिब १५० भन्दा बढी कलाकारहरूले आफ्नो कला प्रदर्शनीमा राखेका छन् । नेपाली कलाकारहरूको कलाको स्तर मापनका लागि समेत यस प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्ने सहभागी कलाकारहरूको भनाइ छ । प्रदर्शनीमा नेपालका कलाक्षेत्र कुन ठाउँमा छ भनेर बुझ्न समेत यस प्रदर्शनीले मद्दत गर्ने आयोजकको भनाइ छ ।
‘दशैंमा धेरै मेलाहरूको आयोजना भइरहेको हुन्छ । नेपाली कलाको कमि थियो, त्यही अवस्थालाई मनन गर्दै नेपाली कलाकारहरूको समकालीन अवस्था र प्रोत्सानका साथ सन् २०१७ देखि यो फेस्टिभलको आयोजना गर्दै आइरहेका छौँ,’ ई–आर्टस् नेपालकी सह–संस्थापक आशा डङ्गोलले भनिन् ।
सन् २०१७ मा समसामयिक चित्रकला र मूर्तिहरूबाट सुरू गरिएको यस फेस्टिभलमा जम्मा ५० जना कलाकारहरूले भाग लिएका थिए । त्यसपछि २०१८ देखि काठमाडौं उपत्यकामा रहेका कलाकारहरूका विभिन्न संस्थाहरूसँग कुराकानी गरेर उनीहरूको सपोर्ट लिँदै थप कलाकारहरू थप्दै गएको कलाकार डंगोल बताउँछिन् । यही कारणले गर्दा पनि यो कला प्रदर्शनी एक वृहत् सामुहिक मेलाको रूपमा वर्षेनि आयोजना हुँदै आएको छ ।
अहिले हुने प्रदर्शनीमा कलाका विभिन्न विधालाई समेटिएको छ । नेपाली वरिष्ठ कलाकारहरूदेखि वर्तमानका पुस्ताका कलाकारहरूको कामलाई प्रदर्शनीमा राखिएको छ । कलाकारहरूः कृष्ण मानन्धर, किरण मानन्धर, शशीकला तिवारी, राजन काफ्ले, आशा डंगोल, एरिना ताम्राकार, भाइराज मर्हजन, प्रमिला बज्राचार्य, बिनोद प्रधान, जुपिटर प्रधान, विधाता के.सी, सागर मानन्धर, सरिता डंगोल आदिदेखि हालका युवा कलाकारहरूमा इशान परियार, सविता डंगोल, सुजन डंगोल, लगायत करिब १५० जना कलाकारहरूको कलाकृति एउटै थलोमा हेर्न सकिन्छ ।
प्रदर्शनीको अर्को आकर्षण भनेको एक जना वरिष्ठ कलाकारलाई एउटा छुट्टै स्थान बनाएर उहाँको कलाकृतिलाई त्यहाँ राखिने कार्यक्रम समेत सन् २०१९ देखि गर्दै आइरहेको ई–आर्ट्स नेपालका सह–संस्थापक भाइराज मर्हजन बताउँछन् । यसपाली भने उक्त स्थानमा वरिष्ठ कलाकार प्राध्यापक गोविन्दनारायण ज्यापुका कलाकृतिलाई प्रदर्शनीमा राखिने कुराको जानकारी समेत उनले गराए ।
FACEBOOK COMMENTS