काठमाडौं । सरकारले आज (बिहीबार) देखि चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।
भदौ २३ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार दैनिक उपभोग्य सामानमा विशेष छुटसहित ४२ जिल्लाका ६३ स्थानहरूमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका अनुसार यी पसल आगामी माघ २ गतेसम्म सञ्चालनमा रहने छन् । सुपथ मूल्य पसल सञ्चालनका लागि सरकारले तीन करोड रूपैयाँ बजेट स्वीकृत गरेको छ ।
नेपालीहरूको प्रमुख चाड दसैं, तिहार र छठका समयमा दैनिक उपभोग्य वस्तुहरूको माग अत्यधिक हुने गरेको छ । यस समय गुणस्तरीय वस्तु उचित मूल्यमा उपलब्ध गराउनुपर्ने आफ्नो दायित्व बोध गर्दै सरकारले सुपथ मूल्य पसल सञ्चालन गरेको हो ।
निजी क्षेत्रहरू नाफाकेन्द्रित रहने गरेको वर्तमान परिप्रेक्ष्यमा बजार मूल्य अस्वाभाविक रूपमा बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै यस्ता पसल सञ्चालन गर्ने गरिएको छ ।
बजारमा सरकारको उपस्थितिले बजार मूल्य स्थिरीकरणमा सहयोग पुग्ने गरेको विगतको अनुभव छ । उपभोक्ताको सम्पूर्ण माग धान्ने गरी सरकारले व्यापार गर्नुभन्दा निजी क्षेत्रलाई स्वस्थ प्रतिस्पर्धामार्फत व्यापार गर्न उत्प्रेरित गर्नु, आवश्यक सहजीकरण र समन्वय गर्नु आवश्यक छ । आफ्नो यही जिम्मेवारीअन्तर्गत सरकारले सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार काठमाडौं उपत्यकाका ४ स्थानहरू थापाथली, रामशाहपथ, नख्खु र सूर्यविनायकमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको छ । सुपथ मूल्य पसलहरूमा अनलाइन अर्डरमार्फत होम डेलिभरी सेवा पनि उपलब्ध हुनेछ ।
कुन सामानमा कति छुट ?
सरकारले सुपथ मूल्य पसलमार्फत ५० हजार क्विन्टल खाद्यान्न बिक्री गर्ने लक्ष्य लिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार सुपथ मूल्य पसलमा दैनिक उपभोग्य चामल र दाल बजार मूल्यभन्दा प्रतिकेजी ५ रूपैयाँ सस्तो पर्नेछ ।
यस्तै विभिन्न प्रकारका तेलमा प्रतिलिटर ७ रूपैयाँ, गेडागुडी, पिठो, मैदा, चिउरा, चिनी र क्वाँटीमा प्रतिकेजी ७ रूपैयाँ छुट पाइनेछ ।
कर्णाली सिमी/गेडागुडी, फापर दाना, चिनो, कागुनो, उवा जुम्ली मार्सी किन्दा केजीमा ७ रूपैयाँ सस्तो पर्नेछ ।
जिउँदो खसी-बोका, च्यांग्रा, डीडीसी घिउमा प्रतिकेजी १० रूपैयाँ छुट उपलब्ध हुनेछ ।
आवश्यकताअनुसार खाद्यान्न परिचालन गर्नका लागि ठेक्का व्यवस्था गरिएको छ ।
यस वर्षको चाडपर्वमा १५ सय वटा खसी-बोका, तीन सयवटा च्यांग्रा खरिद गर्ने सरकारी लक्ष्य छ । मकवानपुर, तुलसीपुर, मुस्ताङलगायत उपत्यका आसपासका क्षेत्रहरूबाट खसी-बोका र च्यांग्रा खरिद गरिने छ ।
खसी-बोका र च्यांग्रा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको थापाथलीस्थित प्रादेशिक कार्यालय परिसरमा बिक्री गरिने छ ।
घटस्थापनाको आसपासदेखि कम्तीमा नवमीको दिनसम्म खसी-बोका र च्यांग्रा बिक्री गरिने छ ।
FACEBOOK COMMENTS