काठमाडौँ — काठमाडौंको बगलामुखी निवासी राजेन्द्र श्रेष्ठले चैत पहिलो साता एक किलो चिनी किन्न ७५ रुपैयाँ खर्चिएका थिए । लकडाउनपछि भने वैशाख पहिलो साता उनले त्यति नै चिनी किन्न ९० रुपैयाँ तिर्नुपर्यो । ‘एक महिनामा किलोमै १५ रुपैयाँ बढेको रहेछ,’ उनले भने, ‘चिनीमा बढी मूल्य लिएको सन्दर्भमा उजुरी गरेको छु ।’
लकडाउनको मौकामा बिनाकारण चिनीको मूल्य अकासिएको छ। नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले पनि मूल्य बढेको स्विकारे। संघका अनुुसार एक महिनाअघि होलसेलबाट प्रतिकिलो ७० रुपैयाँमा चिनी पाइन्थ्यो। त्यसलाई ७५ रुपैयाँसम्ममा बेचिन्थ्यो। ‘तर दुई सातामा किलोमै ५ रुपैयाँ बढ्यो,’ अध्यक्ष श्रेष्ठले भने, ‘बढ्ने क्रम रोकिएको छैन। बहाना भने ढुवानी भएको छ।’
मूल्य बढ्नुमा चिनी उद्योगभन्दा मध्यस्थकर्ता भएको उनको भनाइ छ। चिनीका लागि कच्चा पदार्थ आयात गर्नु पर्दैन। स्वदेशमै उत्पादित उखु क्रसिङ गरिएको छ। ‘क्रसिङ सिजन भएकाले बजारमा उपलब्ध चिनी नेपाली हो,’ अध्यक्ष श्रेष्ठले भने, ‘त्यसकारण बढ्नुपर्ने कारण छैन।’
अहिले खुद्रा व्यापारीले होलसेलमा प्रतिकिलो ७९।५० रुपैयाँ तिर्ने गरेको उनले जानकारी दिए। झोलारलोडअनलोडसहित गर्दा किलोको करिब ८५ रुपैयाँसम्ममा बिक्री गर्नुपर्ने बाध्यता भएको बताए। धेरै परिमाणमा खरिद गर्न नसक्ने साना व्यापारीले भने किलोमा ९० रुपैयाँसम्म लिएको उनले स्विकारे।
‘स–साना व्यापारी ९एक बोरासम्म किन्न सक्ने० ले प्रतिकिलो ९० रुपैयाँसम्म लिएका छन्। ठूला होलसेलले मूल्य बढाएको सन्दर्भमा वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागलाई जानकारी गराएका छौं,’ श्रेष्ठले भने, ‘तर, विभागले पनि केही गरेन। ऐन–कानुन सानालाई मात्रै भयो।’
नेपाल चिनी उद्योग संघका उपाध्यक्ष राजकुमार अग्रवालले पनि उद्योगीहरूले मूल्य नबढाएको दाबी गरे। होलसेल र खुद्रा व्यापारीले मात्र मूल्य बढाएको उनको दाबी छ। ‘भ्याटबाहेक चिनीको फ्याक्ट्री गेट मूल्य ६५ रुपैयाँ हो,’ उनले भने, ‘बजारमा बढ्नु मूर्खता हो। यसमा अनुगमन आवश्यक छ।’
चिनीको मूल्यमा भइरहेको मनपरीबारे अनुसन्धान भइरहेको विभागका अनुगमन शाखा निर्देशक सागर मिश्रले जानकारी दिए। ‘भ्याट बिल कतिमा आएको छ। त्यसअनुसार मूल्य निर्धारण हुन्छ। व्यवसायीले भने ढुवानी र श्रमिकको कुरा गरेका छन्,’ उनले भने, ‘उद्योगीसँग कागजपत्र मागेका छौं। अन्य विषयमा पनि अनुसन्धान भइरहेको छ।’ व्यापारीहरूले चिनी प्रतिकिलो ८५ देखि ९० मा बिक्री गरिरहँदा साल्ट ट्ेरडिङ कर्पोरेसनले भने प्रतिकिलो ७३ रुपैयाँमै बेचिरहेको छ। कर्पोरेसनका आउटलेट र घुम्ती सेवाबाट प्रतिकिलो ७३ रुपैयाँमा बिक्री भइरहेको सहायक महाप्रबन्धक कुमार राजभण्डारीले जानकारी दिए।
डिलरलाई प्रतिकिलो ७० रुपैयाँदेखि ७१ रुपैयाँसम्ममा उपलब्ध गराइएको उनले बताए। तर कर्पोरेसनसँग पर्याप्त चिनी छैन। राजभण्डारीका अनुसार साल्टसँग करिब ५ हजार टन मात्रै मौज्दात छ। डिलरलाई बिक्री गरिएको छैन। बजार हस्तक्षेप गर्न सरकारले केही सहुलियतमा साल्टलाई चिनी आयात अनुमति दिन्छ।
गत दसैंमा करिब १० हजार टन आयात स्वीकृति दिएको थियो। त्यसमा करिब ५ हजार टन बिक्री भइसकेको छ। सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई पनि सहुलियत दरमा १० हजार टन आयात गर्न स्वीकृति दिएको थियो। तर खाद्य कम्पनीले अझै ल्याउन सकेको छैन।
दसैंतिहारका बेला दुई–तीन महिनामा चिनी खपत बढेर ३० हजार टन पुग्छ। ‘यस हिसाबले तीन महिनालाई मात्रै चिनी ल्याउनुपर्ने देखिन्छ,’ राजभण्डारीले भने, ‘उखुको क्रसिङ भर्खर सकियो। तर, उद्योगीहरूलाई यकिन मौज्दात थाहा छैन।’
यसअघि उद्योगीहरू पर्याप्त मौज्दात रहेको जनाउँदै चिनी आयातमा परिमाणात्मक बन्देजदेखि भन्सार बढाउन सफल भएका थिए। साल्ट र व्यापारीले बेच्ने चिनीको गुणस्तरमा धेरै अन्तर रहेको जानकारहरू बताउँछन्। साल्टले बिक्री गर्ने चिनी गुणस्तर भएको राजभण्डारीको दाबी छ।
FACEBOOK COMMENTS