काठमाडौं, बैशाख २१ -कोरोना संक्रमण निको भएर अस्पतालबाट घर फर्किएका एक युवकमा पुन कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमण देखिएर १४ दिन अस्पताल बसेर घर फर्किएका रौतहटका एक व्यक्ति पुनः अस्पताल भर्ना भएका छन् ।
रौतहटको ईशनाथ नगरपालिकाका १९ वर्षीय युवकको रिपोर्ट शंकास्पद देखिएपछि उनलाई पुनः वीरगञ्जस्थित नारायणी अस्पतालमै ल्याइएको हो ।
भारतको दिल्लीबाट करिब ४० दिन पहिले रौतहट आएका ती व्यक्ति सुरुको १४ दिन नगरपालिकाकै क्वारेन्टाइनमा बसेका थिए । त्यही क्रममा उनलाई कोरोना पोजिटिभ देखिएपछि नारायणी क्षेत्रीय अस्पताल वीरगञ्जमा राखी उपचार गरिएको थियो ।
अस्पतालमै राखेर उपचार गरेपछि उनको टेष्ट गर्दा नेगेटिभ आएको थियो । ३ पटकसम्म नेगेटिभ रिपोर्ट आएपछि ‘कोरोनालाई जितेको’ भन्दै उनलाई वैशाख ११ गते डिस्चार्ज गरिएको थियो ।
ती युवकलाई नारायणी अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । अस्पतालमा ल्याइसकेपछि शनिबार राति पुनः उनको थ्रोट स्वाबको नमूना संकलन गरिएको छ ।
FACEBOOK COMMENTS