काठमाडौं, बैशाख २३– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र निजी क्षेत्रसँग गरी एक लाख २१ हजार मेट्रिक टन चामल मौज्दात रहेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार कम्पनीसँग १८ हजार चार सय ३६ र निजी क्षेत्रका उद्योगसँग एक लाख दुई हजार पाँच सय ६४ मेट्रिक टन गरी कुल एक लाख २१ हजार मेट्रिक टन चामल मौज्दात छ ।
मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीका अनुसार कम्पनीसँग दुर्गमका २३ जिल्लामा तीन हजार ५६६ मेट्रिक टन चामल, ६१० क्विन्टल फापर र ५३४ क्विन्टल सिमी मौज्दात छ । त्यस्तै देशका विभिन्न स्थानमा रहेका ठूला चामल उद्योग र कृषकसँग ६१ हजार ५४ मेट्रिक टन धान मौज्दात रहेकाले चामल उत्पादनमा कुनै समस्या नरहेको उनले बताइन् ।
मन्त्रालयको तथ्याङ्क अनुसार निजी क्षेत्रका व्यापारीसँग दाल, केराउ र चना १६ हजार ८१ मेट्रिक टन मौज्दात छ ।
पाँच हजार मेट्रिक टन तेल मौज्दात
मन्त्रालयको तथ्याङ्क अनुसार निजी क्षेत्रका तेल उद्योगसँग पाम आयल ४८६ मेट्रिक टन, पामोलिन एक हजार ९१९ मेट्रिक टन र सोयाबिन तेल एक हजार ६१६ मेट्रिक टन मौज्दात छ । त्यस्तै सूर्यमुखी तेल ८४६ मेट्रिक टन मौज्दात तथा ६ हजार ३४६ मेट्रिक टन आयातका क्रममा छ । कोलकतामा समेत ७० हजार ८६६ मेट्रिक टन तेल मौज्दात छ ।
राहत वितरण
लकडाउनको अवधिमा कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले पालिकाको माग अनुसार खाद्य पदार्थको बिक्री–वितरणसमेत गरेका छन् । मन्त्रालयको तथ्याङ्क अनुसार कम्पनीले २९ जिल्लामा तीस हजार ८२६ दशमलव ३६ क्विन्टल चामल बिक्री–वितरण गरेको छ । त्यस्तै साल्ट ट्रेडिङ कर्पोरेशनले ६५ हजार ६५३ किलो नुन, ४५ हजार ६११ लिटर तेल, पाँच लाख २६ हजार २८५ किलो चामल, ९३ हजार २३० किलो दाल र ६३ हजार ६४० किलो चिउरा बिक्री गरेको छ ।
कर्पोरेशनले १७ हजार चार सय किलो चिनी, सात ब्याग पिठो, त्रिसठ्ठी हजार ८२ साबुन, सय किलो चिया, ५५० किलो मस्यौरा गरी आठ लाख ७५ हजार ५५८ किलो खाद्य पदार्थ र अन्य वस्तु पालिकाहरुलाई राहतस्वरुप बिक्री गरेको छ ।
मौज्दात चिनी ६७ हजार मेट्रिक टन
कर्पोरेशनका विभिन्न डिपोमा आइतबारसम्म तीन हजार ६०३ मेट्रिक टन चिनी मौज्दात छ । त्यस्तै निजी उद्योगसँग ६३ हजार २०७ मेट्रिक टन चिनी मौज्दात रहेको छ । एक लाख ५३ हजार ७४० मेट्रिक टन नुन आयात प्रक्रियामा रहेको छ । विभिन्न दुर्गम जिल्लामा दुई हजार ४३० मेट्रिक टन आयोडिनयुक्त नुन मौज्दात छ ।
लकडाउनको अवधिमा कम्पनीले काठमाण्डौ उपत्यकाका रामशाहपथ, नख्खु, थापाथली, भक्तपुर र ललितपुरको बिक्री केन्द्रका साथै घुम्ती सेवा (मोबाइल भ्यान) र अनलाइनमार्फत उपभोक्ताको माग अनुसार खाद्य पदार्थ बिक्री–वितरण गर्दै आएको छ । कम्पनीले देशका आठ अञ्चल कार्यालयसहित आधुनिक चामल कारखाना, राजापुरलगायत देशका विभिन्न स्थानमा २६ शाखा कार्यालयका साथै दुर्गम जिल्लाका विभिन्न स्थानमा ५९ डिपो कार्यालय, बिक्री केन्द्र एवं सहकारी डिलरबाट खाद्य पदार्थ बिक्री–वितरण गर्दै आएको छ ।
साल्ट ट्रेडिङले लकडाउन अवधिमा ललितपुर, कालीमाटी, सतुङ्गल, कोटेश्वर, भक्तपुर र बनेपाको बिक्री केन्द्रका घुम्ती सेवा पसलमार्फत जनघनत्व र उपभोक्ताको माग भएका स्थानलाई प्राथमिकतामा राखेर खाद्य पदार्थ तथा अन्य सामग्री बिक्री–वितरण गर्दै आएको छ ।
FACEBOOK COMMENTS