मनकामना केबलकार मेरो बुबा लक्ष्मणबाबु श्रेष्ठले परिकल्पना गर्नुभएको उद्योग हो । गोर्खामा जन्मुभएका मेरो बुबा सात दिनको पैदल यात्रापछि काठमाडौं आइपुग्नुहुन्थ्यो रे । हिँड्दा लागेको थकाइ मेटाउन चौतारीमा बसेको बेला बादल सरर उडेको देख्दा आफूलाई पनि त्यसैगरी उड्न पाए चाँडै काठमाडौं पुगिन्थ्यो जस्तो लाग्थ्यो रे ।
मेरो बुबाले वि.सं. २०१५ सालदेखि ‘चितवन को–ई समूह’ बाट आफ्नो व्यावसायिक यात्रा तय गर्नुभएको हो । ‘चितवन को–ई समूह’ले पर्यटन र सेवा उद्योगको क्षेत्रमा काम गर्छ । मेरो पिताश्री स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठले चितवन कन्स्ट्रक्सन एण्ड इन्जिनीयरिङ कम्पनी नेपाल प्रालिलाई ‘क’ वर्गको निर्माण कम्पनीका रूपमा समेत स्थापित गर्न सफल हुनुभएको थियो । त्यसपछि उहाँमा व्यवसायलाई डाइभर्सिफिकेसन गर्ने योजनाको विकास भयो । त्यसैबेला बुबा युरोपतिर भ्रमणमा पनि जानुभएको थियो । भ्रमणका क्रममा त्यहाँ उहाँले केबलकारहरू देख्नुभएछ । त्यो देख्नुभएपछि आफू सानो छँदा चौतारीमा बसेर गरिएको परिकल्पना ‘बादलजस्तै उड्ने’ सोचसँग मिल्दोजुल्दो लागेछ ।
त्यसपछि उहाँले आफ्नै जिल्लामा अवस्थित पाँच सय वर्ष पुरानो इतिहास बोकेको मनकामना मन्दिरको पर्यटन प्रवर्द्धन समेत हुने उद्देश्यले सो स्थान छनोट गरी केबलकार बनाउने निधो गर्नुभयो । नेपालमा कसैले पनि नगरेको र कसैसँग पनि अनुभव नभएको प्रोजेक्ट बनाउने आँट गर्नु आफैंमा चुनौतीपूर्ण काम थियो । त्यतिबेलै ६२ करोड रूपैयाँ लगानी लाग्ने इस्टमेट गरिएको प्रोजेक्ट बनाउन हामीले म्यानुफ्याक्चर र मार्केटलगायत विभिन्न पाटाहरूको रिसर्चहरू गर्यौँ । ठूलो लगानी हुने भएकाले जुन पायो त्यही म्यानुफ्याक्चर ल्याउन उचित थिएन । त्यसकारण हामीले विश्वकै नम्बर वान भनेर चिनिने अष्ट्रियन कम्पनी ‘डोप्पेलमेयर’ छनोट गरियो ।
डोप्पेलमेयर स्की, शहरी यातायात, मनोरञ्जन पार्कहरू, रोपवेलगायत संरचना निर्माणको अग्रणी र अन्तर्राष्ट्रिय निर्माता कम्पनी हो । सन् २०२३ सम्ममा यो कम्पनीले ९६ वटा देशमा साढे १५ भन्दा बढी त्यस्ता संरचनाहरू निर्माण गरिसकेको छ । उसैसँगको सहकार्य र सल्लाहमा चितवनको कुरिनटार (राजमार्गको छेउ) बटम र मनकामना मन्दिर परिसरलाई टप स्टेशनको रूपमा रहनेगरी छनोट गरियो ।
यसरी जुट्यो लगानी
त्यसबेला लगानी जुटाउन हामीलाई हम्मे परेको थियो । एउटै बैंकबाट धेरै ऋण लिन नमिल्ने बाध्यकारी व्यवस्था थियो । विभिन्न बैंकसँग कुरा हुन्थ्यो, तर उनीहरू पनि यो नयाँ प्रोजेक्टप्रति विश्वस्त देखिदैनथे । नेपाल बैंकको अग्रणी भूमिकामा बल्लबल्ल लगानी जुटेको थियो । त्यसपछि कर्मचारी सञ्चय कोष, तत्कालीन एनआईडीसी बैंकले लगानी गर्न तयार भए । पछि एनआईडीसीले धेरै सहकार्य गर्न नसक्ने बताएपछि हामीले सो बैंकसँगको सम्झौता भङ्ग गरी नेपाल बंगलादेश बैंकसँग समझदारी गर्यौँ । हिमालयन बैंक दुई/चार वटा मिटिङमा आएपछि विथ–ड्र नै गर्नुभयो ।
चुनौती व्यवस्थापन
नयाँ योजना सुरू गर्दा हरेक चिजको सामना गर्नुपर्ने स्वाभाविक चुनौती हो । केबलकारको सन्दर्भमा त्यसबेला नेपालमा कानुन नै थिएन । नीतिगत चुनौती सबैभन्दा अगाडि आइलाग्यो । जसका कारण दर्ताकै प्रक्रियामा कुन क्याटेगोरीमा राख्ने भनेर समस्या आयो । तत्कालीन सरकारसँग आवश्यक छलफल गरेर त्यो विषयलाई सहजीकरण गरियो । त्यसपछि लगानीको चुनौती देखियो, बैंकहरूसँग छलफल गरेर जुटायौँ । त्यसपछि जग्गाको समस्या आयो, त्यसलाई पनि विभिन्न छलफलको माध्यमबाट टुङ्ग्याउँदै अघि बढ्यौँ । निर्माणका सन्दर्भमा हामी आफैं कन्स्ट्रक्शन कम्पनी भएका कारण ‘डोप्पेलमेयर’को प्राविधिक सहयोगमा डिजाइनहरू गरेर निर्माण प्रारम्भ गर्यौँ ।
सिमेन्ट र स्टिल यहीँ भएका कारण टावरहरू यहीँ बनायौँ, बाहिरबाट ल्याउन परेन । जब मेसिनरीहरू वीरगञ्ज भन्सारमा आइसकेपछि हामीले आश गरेको भ्याट छुट पाउन सकेनौँ । वातावरणमैत्री उद्योग व्यवसायमा भ्याट छुट दिइँदै आएको थियो । हामीले त्यसैलाई टेकेर अघि बढ्ने सोच बनाएका थियौँ । तर, केबलकारबारे स्पष्ट कानुन नभएका कारण हामीले धोखा खायौँ । तै पनि सम्बन्धित मन्त्रालय र सरोकारवालाहरूसँग छलफल र पत्राचार गर्यौँ । त्यसबेलाको झन्झटिलो प्रक्रियाले लामो समय लियो । भ्याट छुट पाउने त कुरै छाडौँ आएका सामान छुटान समेत मुस्किल परेको थियो । त्यसबेला मेरो बुबा मन्त्रालय र सचिवहरूसँग रिसाउनुभएको थियो । भ्याट छुट मात्र होइन सामान छुटाउन पनि हामीलाई मुस्किल परेको थियो । बल्लतल्ल बैंक ग्यारेन्टीमा महिनौँपछि सो सामान वीरगञ्जबाट छुटाएर ल्याइयो । तै पनि हामीले सामान ल्याएर काम सुरू गरेको १० महिनाभित्रै काम सकेर केबलकार व्यावसायिक अपरेसनमा ल्यायौँ । अरु संरचना क्रमशः बन्दै गए ।
पोस्ट अपरेसनपछिका चुनौतीहरू
पोस्ट अपरेसनपछि पनि हामीलाई चुनौतीहरू आए । नेपालमा केबलकार नौलो थियो । केबलकार चढ्ने मानिसहरूले छिटो मन्दिर दर्शन गरेर फर्किहाल्ने त्यहाँ नबस्ने समस्या देखियो । भरिया र खच्चरहरू विस्थापित हुने अवस्था आयो । खैरहनीबाट हिँडेर जाने बाटोका साना–साना होटेल तथा रेष्टुराँहरू पनि क्रमशः विस्थापित हुँदै जान थाले । यसबारे स्थानीयबाट थुप्रै गुनासोहरू आउन थाले । उहाँहरूलाई बुबाले धेरै सम्झाउनुभयो र भन्नुभयो, ‘विकास निर्माणको कार्यले कसैलाई पनि हानी पु¥याउँदैन । खच्चर र भरियाहरू विस्थापित हुन्छन् तर उनीहरूले यसबाट केही लाभ कतै न कतैबाट पाउँछन् नै । सधैँ खच्चरको युगमा बस्नु पनि त भएन नि ।’
बुबाको यो कुरालाई मान्न स्थानीय तयार भएनन् । त्यसपछि स्थानीयसँग विभिन्न सहमति भएका छन् । अहिले हामीले दिउँसो डेढ घण्टा लण्च ब्रेक गर्नाको कारण पनि तिनै सहमतिको अंश हो । त्यो वास्तवमा हाम्रो रिक्वायरमेन्ट थिएन । डेढ घण्टा ब्रेक गरिदियो भने मान्छेहरू बसेर हाम्रो होटेल व्यवसाय चल्छ भन्ने उहाँहरूको मान्यतामा हामीले सहमति जनाएका हौँ । पाँच बजे गेट बन्द गर्नुपर्ने पनि उहाँहरूको रिक्वायरमेन्ट छ जुन हामीले सहमति गरेर पालना गर्दै आएका छौँ । यसरी सञ्चालन सुरूवातको सात–आठ वर्षजति यस्ता थुप्रै समस्यामा अल्झिदै अगाडि बढ्यौँ । त्यस अवधिमा धेरै व्यावहारिक समस्याहरू समाधान भएका छन् । अहिले सबैले मन पराउने केबलबार बनेको छ । अहिले त धेरै भीडभाड भएको दिनमा हामी लञ्च ब्रेक नै गर्दैनौँ । गेट बन्द पनि ढिलोचाँडो हुन थालेको छ । यसमा स्थानीयहरूले कुरा बुझ्नुभएको छ । किनकी यो दौरानमा विस्थापित हुनुभएकाहरू सबै कुनै न कुनै रूपमा स्थापित नै भइसक्नुभएको छ ।
जोखिम मोलेपछिको परिणाम
त्यसबेला हाम्रा लागि केबलकार बनाउने कुरा ‘इथिकल जुवा’ नै थियो । त्यो जोखिम उठाएकै कारण आज मनकामना केबलकार देशमा स्थापित छ । देशमा मात्र होइन विदेशमा समेत यसको चर्चा छ । अहिले मनकामना माइको दर्शन गर्न, चीन, भारत र अन्य विभिन्न देशका पर्यटकहरू आउने गर्नुहुन्छ । यसले मनकामना र कुरिनटार क्षेत्रको मात्र होइन देशकै पर्यटन प्रवद्र्धनमा टेवा पुर्याइरहेको हाम्रो दाबी छ । हामीले त्यतिबेला लिएको ‘रिस्क’का कारण अहिले थुप्रै केबलकार स्थापना हुन सकेका छन् । एक हिसाबले हेर्ने हो भने देश नै केबलकारमय भएको छ । मेरो विचारमा सम्भवतः दक्षिण एशियामै उत्कृष्ठ, अग्रणी र स्तरीय केबलकारको रूपमा मनकामना केबलकार रहेको छ ।
‘हेड काउन्ट’बाट सर्वेक्षण
हामीले खैरहनीबाट कति मानिस मन्दिरतर्फ जान्छन् भनेर ‘हेड काउन्ट’ नै गरेका थियौँ । पाँच–छ महिना कसैलाई ज्याला दिएरै मान्छे गन्न लगाएका थियौँ । त्यो अवधिमा करिब ६०–७० हजार मानिसहरू त्यहाँ गएको देखियो । टाढादेखि चार–पाँच घण्टा हिँडेर यति मान्छे आउँछन् भने केबलकार भयो भने त झन् बढ्छन् भन्ने ‘कन्फिडेन्स’ हामीमा थियो । तर, केबलकार लगाउँदैमा मात्रै मान्छे आउँदैनन् भन्नेमा पनि हामी स्पष्ट थियौँ । किनभने केबलकार माध्यममात्रै हो आकर्षण होइन भन्ने कुराको बुझाइ हामीमा थियो । अहिले पनि म त्यो कुरा भनिरहेको हुन्छु । हामी भाग्यमानी हुनुको कारण त मनकामना स्थापित पर्यटकीय गन्तव्य भएका कारण हो । तर, अहिले जति पनि केबलकारहरू बनिरहेका छन् उनीहरूले केबलकार लगाउनुअघि नै डेस्टिनेशनको प्रचारप्रसार गर्न जरुरी छ ।
जस्तोः कालिञ्चोकमा केबलकार लगाउने भन्दै सल्लाह सुझावका लागि धेरै अगाडि दोलखाका एक जना माननीय हामीसँग आउनुभएको थियो । मैले उहाँलाई कालिञ्चोक तपाइँहरूलाई मात्र थाहा छ, अरुलाई थाहा छैन । दोलखा र भीमसेनथान धेरैलाई थाहा भए पनि कालिञ्चोकको बारेमा पर्याप्त जानकारी छैन । त्यसकारण पहिला डेस्टिनेशनको प्रचार गर्नुहोस् भनेको थिएँ । सोहीमुताविक उहाँहरूले त्यसपछि दुई–तीन महिना हरेक शनिबार कान्तिपुर दैनिकमा कालिञ्चोकबारे केही न केही समाचार, लेख, विचार र अरु सामग्रीहरू छपाउन थाल्नुभयो । त्यसैले अहिले त्यहाँ पनि केबलकार लागेको छ र राम्रो पनि भएको छ ।
मनकामना माताको आर्शीवाद
मनकामना माता जहाँ अवस्थित हुनुहुन्छ त्यो ऐतिहासिक ठाउँ हो । राम शाहको पालादेखिका अनेक कुराहरू हामीले सुनेकै छौँ । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दा पनि मनकामना मन्दिरमै भाकल गरेर सुरू गरेको प्रसङ्गहरू सुनिन्छ । त्यसकारण मनकामना मन्दिर हामी सम्पूर्ण हिन्दूहरूको आश्था र विश्वासको धरोहरका रूपमा स्थापित छ । मुल प्रश्नमा आउँदा निश्चय पनि मनकामना मन्दिर नभएको भए मेरो बुबाले त्यहाँ केबलकार लगाउनुहुन्थेन । त्यसकारण हामीले सफलता पाउनुमा सर्वप्रथम त मनकामना माताको आर्शीवाद नै हो । यस्तै, हामीबीचको टीमवर्क र म्यानेजमेन्टको भूमिमा पनि महत्वपूर्ण छ ।
करिब ६ वर्षजति त हामीले निकै मेहनतका साथ मार्केटिङ गरेका थियौँ । नेपालमा मात्र होइन हामीले बाहिर पनि ट्रेडफेयरमार्फत प्रचार गर्यौँ । इन्डियामा अहिले पनि हाम्रा ट्राभल एजेन्टहरू छन् । हामीले केबलकार सुरू गर्दा देश द्वन्द्वग्रस्त थियो । केबलकारको टावरमा बम पड्किएका घटनाहरू पनि छन् । यस्तो बेलामा मान्छेहरूको मुभमेन्ट कम हुन्थ्यो । यसले हामीलाई ठूलो चुनौती सृजना गरेको थियो । सुरूवाती तीन–चार वर्ष त धेरै दुःख पनि पाइयो । तर, समस्या छ भनेर हतोत्साही हुनुहुँदैन । त्यो कुरा हामीले पुष्टि गरेका छौँ ।
सबैको साथले हामी सफल भयौँ । कमाई हामीले मात्र होइन, ऋण दिने बैंक तथा वित्तीय संस्थाले पनि ब्याजमार्फत गरे । आज नौबीसेदेखि मुग्लिनसम्मका व्यवसायीहरू प्रत्यक्ष लाभान्वित भएका छन् । मनकामना मन्दिर परिसरमा दुई हजार बेड रहेका विभिन्न होटेलहरू सञ्चालनमा छन् । यसको अर्थ सुरूमा मेरो बुबाले स्थानीयलाई जे भनेर सम्झाउनुभएको थियो आज त्यही कुरा स्थापित भएको छ । जुन कुरा तथ्यमा आधारित पनि छ ।
केबलकार परिसरमै होटेल तथा रिसोर्ट
केबलकार अपरेसनमा आएको पाँच–छ वर्षमै हामीले होटेल तथा रेष्टुराँ बनाउने योजना बनाएका थियौँ । त्यसका लागि जग्गाहरू पनि व्यवस्थापन र डिजाइनको काम समेत भइसकेको थियो । त्यतिबेला अरु व्यवसायीको व्यवसायमा असर पर्नसक्छ भनेर हामीले होटेल बनाउने काम थाती राखेका थियौँ । तर, अब अवस्था धेरै परिवर्तन आइसकेको छ । सबै जना स्थापित भइसक्नुभएको छ । यद्यपि, यात्रुहरूबाट सुविधासम्पन्न र स्तरीय होटेलको माग भएको तथा भीआईपीहरूलाई माथिल्लो स्टेशनमा बस्न अझ राम्रो स्थान चाहिने आवश्यकतालाई दृष्टिगत गरी हामीले होटेल तथा रेष्टुराँ बनाउन लागेका छौँ । यो माग अहिले स्थानीयको पनि छ । यसका लागि टप स्टेशनको हाताभित्रै रहेको आफ्नै नौ रोपनी जग्गामा काम भइरहेको छ ।
हामीले बनाउने होटेलमा ४० वटा कोठा हुनेछन्, स्पा, हेल्थ क्लब, स्वीमिङ पुल, रेष्टुराँ र कन्फ्रेन्स हललगायत सुविधाहरू हुनेछन् । यी दुईवटै प्रोजेक्टमा लाग्ने लगानीको स्रोत बैंक तथा वित्तीय संस्थाहरू नै हुन् । केबलकारमा लाग्ने लगानीबापतको ऋण तिर्न केबलकारबाट चार–पाँच वर्षमा प्राप्त हुने रेभिन्यु नै पर्याप्त हुनेछ भने थप लगानी व्यवस्थापनमा होटेल अपरेसनले पनि मद्दत पुर्याउँछ भन्ने विश्वास छ । साथै, हामीले यसै वर्ष अपग्रेडिङ पनि गरेका छौँ । करिब ५० करोड रूपैयाँ लगानीबाट मनकामना केबलकारलाई एनालगबाट डिजिटल प्रविधिमा लगेका छौँ ।
रोजगारी सृजना
हामी कहिल्यै पनि नियम र कानुनभन्दा बाहिर गएका छैनौँ । हामीकहाँ अहिले प्रत्यक्ष र परोक्ष रूपमा करिब दुई सय जना जतिले रोजगारी पाउनुभएको छ । हामी सामाजिक सुरक्षा कोषसँग आवद्ध छौँ । त्यसअघि सञ्चयकोषमा थियौँ । कम्पनी ऐन र बोनस याक्ट अनुसार बोनस पनि दिँदै आएका छौँ ।
अन्तिममा
निजी क्षेत्र अर्थतन्त्रको मेरोदण्ड हो । तर, राज्य र नीतिनिर्माताहरूले हामीलाई नाफाखोरको रूपमा मात्रै हेरिरहेको पाउँछौँ त्यो दृष्टिकोण बदल्न जरुरी छ । आजको दिनमा यदि अर्थतन्त्र बलियो र सुदृढ बनाउने हो भने सरकारले निजी क्षेत्रलाई साथमा लिएर हिँड्नुपर्छ । सरकारले नीतिनियम बनाउने र सहुलियन दिने हो, काम गर्ने, विकास गर्ने र परियोजनाहरू ल्याएर लगानी गर्ने निजी क्षेत्र नै हुन् । त्यसबाट सरकारले रेभिन्यू उठाउने र जनताकै नाममा खर्च गर्ने हो ।
कसैले गल्ती गरेको छ भन्दैमा सबैलाई एउटै बाकसमा राखेर हेर्न र व्यवहार गर्न मिल्दैन । अहिले फराकिलो रूपमा सोच विकास गर्न जरुरी छ । निजी क्षेत्रको संलग्नतामा नीतिनियम बनाएर सहजता प्रदान गर्नुपर्छ । हामीले पनि देशकै लागि काम गरिरहेका छौँ । राज्यले यो कुरा बुझ्न सक्नुपर्छ ।
(चितवन को–ई समूह (मनकामना दर्शन प्रालि)का सञ्चालक तथा कार्यकारी निर्देशक श्रेष्ठसँग गरिएको कुराकानीका आधारमा)
FACEBOOK COMMENTS