काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले ऊर्जा क्षेत्रमा निजी लगानी आकर्षण गर्न लगानीमैत्री वातावरण तय गरिदिन सरकारलाई आग्रह गरेका छन् । इप्पानले आज काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा उनले ऊर्जामा लगानीमैत्री वातावरणको माग गरे ।
कार्कीले मुलुकलाई समृद्ध बनाउनका लागि ऊर्जा क्षेत्रको विकास आवश्यक परेको र यसका लागि निजी क्षेत्रको संलग्नता बढाउने नीति कार्यान्वयन गर्न आवश्यक रहेको उनले बताए । बाढीपहिरोजस्ता प्राकृतिक विपद्का कारण जलविद्युत्मा अर्बौ रुपैयाँको क्षति पुगेको भन्दै कार्कीले बीमाको सुनिश्चिता हुनुपर्नेमा जोड दिए । देशलाई लोडसेडिङ मुक्त गरी खुद विद्युत् निर्यातकर्ता मुलुक बनाउनमा इप्पानको महत्त्वपूर्ण योगदान रहेको उनको भनाइ छ ।
अध्यक्ष कार्कीले भने, “देशको कूल विद्युत् जडित क्षमता तीन हजार दुई सय ३५ मेगावाट पुग्दा निजी क्षेत्रको सहभागितामा मात्रै दुई हजार पाँच सय ४८ मेगावाट अर्थात् कूल जडित क्षमताको करिब ८० प्रतिशत विद्युत् उत्पादन हुनुका साथै तीन हजार नौ सय ४७ मेगावाट क्षमताका आयोजना निर्माणाधीन र चार हजार पाँच सय ४५ मेगावाट क्षमताका आयोजना विद्युत् खरिद बिक्री सम्झौता ९पीपीए० सम्पन्न गरी वित्तीय व्यवस्थापनको पर्खाइमा रहेका छन् ।”
अध्यक्ष कार्कीका अनुसार १२ हजार पाँच सय मेगावाट क्षमताका आयोजना पीपीएको पर्खाइमा रहेका छन् भने त्यतिनै क्षमताका आयोजना अध्ययनको विभिन्न चरणमा रहेका छन् । यी आयोजनाको अध्ययनदेखि निर्माणसम्मका विभिन्न चरणमा निजी क्षेत्रको अगुवाइमा रु १५ खर्बभन्दा बढी लगानी भइसकेको छ भने सरकारलाई वार्षिक खर्बौं रुपैयाँ रोयल्टी तिर्दै अर्थतन्त्रमा उल्लेखनीय योगदान पनि पुर्याइरहेको छ ।
गाउँगाउँमा बाटोघाटो, पुलपुलेसा पुर्याउँदै स्थानीयस्तरमा शिक्षा, स्वास्थ्य र पूर्वाधारमा ठूलो रकम सामाजिक उत्तरदायित्वअन्तर्गत निजी क्षेत्रले खर्च गरिसकेको कार्कीको भनाइ छ । उनले देशव्यापी रुपमा विद्युत् उत्पादनसँगै विकास निर्माणका कार्यमा महत्त्वपूर्ण योगदान पुर्याएको निजी क्षेत्रको छाता संस्थाको हैसियतमा इप्पानले आफ्नो २५ औँ वार्षिकोत्सवको अवसरमा रजत जयन्ती आगामी माघमा काठमाडौँमा विशेष कार्यक्रमसहित भव्यरुपमा मनाउने निर्णय गरेको जानकारी दिए ।
FACEBOOK COMMENTS