काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ मा ७३ अर्ब ७६ करोड २३ लाख २१ हजार रूपैयाँ बराबर खुद आय गरेको छ ।
केन्द्रीय बैंकले तय गरेको वार्षिक प्रतिवेदनमा विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनःमूल्याङ्कन लाभ/हानि समायोजनअघिको खुद आय अघिल्लो वर्षको तुलनामा २१ दशमलव ९६ प्रतिशतले वृद्धि भएको हो ।
गत कात्तिक २९ गते बैंकको सञ्चालक समितिको बैठकले बैंकको खुद मुनाफाबाट विभिन्न आवश्यक कोषहरूमा छुट्याउनुपर्ने रकम विनियोजन गरी बाँकी बचत रकम ३७ अर्ब २२ करोड ३८ लाख २१ हजार रूपैयाँ सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ ।
विसं २०८१ असार मसान्तको वित्तीय अवस्थाको विवरणअनुसार यस बैंकको सम्पत्ति तथा दायित्व २०८० असार मसान्तको तुलनामा ३० दशमलव १५ प्रतिशतले वृद्वि भई २० खर्ब ६७ अर्ब २ करोड ४३ लाख ७८ हजार रूपैयाँ कायम भएको छ ।
आर्थिक वर्ष २०८०/८१ मा १० अर्ब २९ करोड रूपैयाँ बराबरको विदेशी लगानी र ५८ अर्ब ९६ करोड रूपैयाँ बराबरको विदेशी ऋणको लेखाङ्कन भएको केन्द्रीय बैंकले जनाएको छ । सो आवमा ७३ अर्ब ९९ करोड ९० लाख रूपैयाँ बराबरका विभिन्न दरका ३५ करोड ३७ लाख ५० हजार थान नयाँ नोट चलनचल्तीका लागि निष्कासन गरिएका थिए । बैंकका अनुसार २०८१ असार मसान्तसम्ममा कुल छ खर्ब ९० अर्ब १५ करोड रूपैयाँ बराबरका विभिन्न दरका नोटहरू चलनचल्तीमा छन् ।
केन्द्रीय बैंकको प्रतिवेदनअनुसार आव २०८०/८१ मा वाणिज्य बैंकको कुल सम्पत्ति/दायित्व १२ दशमलव नौ प्रतिशतले वृद्धि भई ७२ खर्ब २७ अर्ब ६० करोड रूपैयाँ, विकास बैंकको सात दशमलव नौ प्रतिशतले वृद्धि भई सात खर्ब १७ अर्ब रूपैयाँ र वित्त कम्पनीहरूको ११ दशमलव दुई प्रतिशतले वृद्धि भई एक खर्ब ६९ अर्ब ७२ करोड रूपैयाँ कायम भएको छ । त्यसैगरी, लघुवित्त वित्तीय संस्थाहरूको कुल सम्पत्ति/दायित्व एक दशमलव तीन प्रतिशतले घटेर पाँच खर्ब ५३ अर्ब ७३ करोड रूपैयाँ कायम भएको छ ।
निक्षेप तथा कर्जा सुरक्षण कोषले २०८१ असार मसान्तसम्म दुई खर्ब ५७ अर्ब ७२ करोड रूपैयाँ कर्जा र १४ खर्ब ३० अर्ब ४६ करोड रूपैयाँ निक्षेप सुरक्षण गरेको छ । बैंक तथा वित्तीय संस्थाहरूको सङ्ख्या २०८१ असारमा एक सय सात रहेको छ । यसमध्ये २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५२ लघुवित्त संस्था र एक पूर्वाधार विकास बैंक रहेका छन् । २०८१ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ११ हजार पाँच सय ३० रहेको छ ।
प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ मा खुला बजार कारोबारका विभिन्न उपकरणमार्फत कुल ४६ खर्ब ७३ अर्ब ६० करोड रूपैयाँ तरलता प्रशोचन गरिएको छ भने कुल आठ खर्ब चार अर्ब ७६ करोड रूपैयाँ तरलता प्रवाह गरिएको छ । समीक्षा वर्षमा एक अर्ब २० करोड रूपैयाँ स्थायी तरलता सुविधा उपयोग भएको छ ।
आव २०८०/८१ मा चालु खाता दुई खर्ब २१ अर्ब ३४ करोड रूपैयाँले र शोधनान्तर स्थिति पाँच खर्ब दुई अर्ब ४९ करोड रूपैयाँले बचतमा रहेको छ । बैंकको प्रतिवेदनमा २०८१ असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिती २० खर्ब ४१ अर्ब १० करोड रूपैयाँ बराबर कायम भएको छ । अमेरिकी डलरमा विदेशी विनिमय सञ्चिती १५ अर्ब २७ करोड रहेको छ । २०८१ असार मसान्तमा कायम रहेको विदेशी विनिमय सञ्चितिले १५ दशमलव छ महिनाको वस्तु आयात र १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने देखिन्छ ।
आव २०८०/८१ मा कुल वस्तु निर्यातमा तीन प्रतिशतले कमी आई एक खर्ब ५२ अर्ब ३८ करोड रूपैयाँ र कुल वस्तु आयातमा एक दशमलव दुई प्रतिशतले कमी आई १५ खर्ब ९२ अर्ब ९९ करोड रूपैयाँ रहेको छ । समीक्षा वर्षमा कूल वस्तु व्यापार घाटा एक प्रतिशतले घटेर १४ खर्ब ४० अर्ब ६० करोड रूपैयाँ रहेको छ । यो कुल ग्रार्हस्थ्य उत्पादनको २५ दशमलव तीन प्रतिशत हो । सो आवमा सरकारको अन्य प्राप्तिसमेत गरी १० खर्ब ८२ अर्ब ७५ करोड रूपैयाँ राजस्व सङ्कलन भएको छ । कुल सरकारी खर्च १४ खर्ब आठ अर्ब दुई करोड रूपैयाँ रहेको छ ।
FACEBOOK COMMENTS