काठमाडौं – सिद्धार्थ बैंक लिमिटेड पाँच वर्षका लागि नेपाल प्रिमियर लिग (एनपीएल) को मुख्य प्रायोजकको रुपमा आवद्ध भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको यो लिग २०२४ देखि २०२९ सम्मका लागि बैंकको मुख्य प्रायोजनमा सञ्चालन हुने भएको हो।
क्यानले कार्तिक ३० गते आयोजना गरेको विशेष कार्यक्रममा सिद्धार्थ बैंकलाई प्रायोजकका रूपमा सार्वजनिक गरेको थियो । कार्यक्रममा क्यानका पदाधिकारीहरू, बैंक संचालक समितिका अध्यक्ष मनोज कुमार केडिया, प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल, बैंकका अन्य अधिकारीहरू तथा बैंकका भगिनी संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
लिगको पहिलो संस्करण मंसिर १५ देखि पुष ६ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टी.यू.) अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछ। यो लिग नेपाली क्रिकेटको इतिहासमा पहिलो पटक लामो अवधिका लागि व्यावसायिक प्रायोजनमा आयोजना हुने प्रतियोगिता हो।
बैंकका अध्यक्ष मनोज कुमार केडियाले क्रिकेटले नेपाली समाजमा लोकप्रियता हासिल गरेको भन्दै यस खेललाई थप उचाइमा पु¥याउन बैंकले क्यानसँग सहकार्य गरेको बताए। प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेलले यस प्रायोजनले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन तथा देशको आर्थिक र सामाजिक विकासमा योगदान पुर्याउन मद्दत गर्ने विश्वास व्यक्त गरे।
क्रिकेट खेलले पछिल्लो समय खेलभन्दा बढी राष्ट्रिय भावना झल्काउने माध्यमका रूपमा मान्यता पाउँदै आएको छ। सबै उमेर समूहका मानिसहरूको मन जित्न सफल यस खेलको विकासका लागि पाँच वर्षसम्मको प्रायोजन गरिएको बैंकले जनाएको छ।
सिद्धार्थ बैंकको यो सहकार्यले नेपाली क्रिकेटलाई थप व्यावसायिक बनाउँदै खेलाडीहरूलाई प्रतिस्पर्धात्मक अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ। साथै, यसले नेपालको क्रिकेट संरचनामा दिगो विकासको जग बसाल्न सहयोग पुर्याउने विश्वास लिइएको छ।
FACEBOOK COMMENTS