काठमाडौं । नबिल स्कूल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई) ले आफ्नो तेस्रो वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ।
२०२१ नोभेम्बर २६ मा स्थापना भएको नबिल एसएसई, नबिल बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक उद्यमशीलताको विकासमार्फत दीर्घकालीन सामाजिक रूपान्तरण गर्ने लक्ष्य राख्दै अघि बढिरहेको छ।
नबिल एसएसईले “फेलोसिप कार्यक्रम” र “सर्टिफिकेट कोर्स” नामक दुई प्रमुख कार्यक्रम सञ्चालन गर्दै आएको छ। हालसम्म ८२० भन्दा बढी व्यक्तिहरूले यस कार्यक्रमबाट उद्यमशीलता सम्बन्धी प्रशिक्षण प्राप्त गरेका छन् भने ११७ नयाँ उद्यमहरूको स्थापना भएको छ। यी उद्यमहरूले १,२०० भन्दा बढी रोजगारी सिर्जना गर्न सफल भएका छन्।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले नबिल एसएसईले नवीन सोच भएका व्यक्तिहरूलाई प्रोत्साहन गर्दै देशभित्र नै रोजगारी सिर्जना गर्न सफल भएकोमा गर्व व्यक्त गरे। “तीन वर्षको अवधिमा देशमा सयौँ मानिसहरूका लागि रोजगारी सिर्जना भएको छ। यसले दीर्घकालीन सामाजिक परिवर्तनमा ठोस योगदान पुर्याएको छ भन्नेमा हामी विश्वस्त छौँ,” उनले भने।
स्थापनादेखि नै नबिल एसएसईले देशभरका १२ शैक्षिक संस्थाहरूसँग सहकार्य गर्दै आफ्ना कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। त्रिभुवन विश्वविद्यालयको स्कूल अफ म्यानेजमेन्टसँग सहकार्यमा सञ्चालित फेलोसिप कार्यक्रमले सामाजिक उद्यमशीलतामा रुचि राख्नेहरूलाई उत्कृष्ट अवसर प्रदान गर्दै आएको छ।
फेलोसिप कार्यक्रम अन्तर्गत सहभागीहरूले ६ महिनाको अवधिमा १८ दिनको एक्सन बेस्ड आवासीय तालिम लिने र एक वर्षसम्मको मेन्टरसिप प्राप्त गर्ने व्यवस्था छ। यस कार्यक्रमले हालसम्म ५६ सामाजिक उद्यमीलाई तालिम प्रदान गरेको छ, जसबाट पहिलो तीन समूहका ४५ उद्यम सञ्चालन भई सयौं रोजगारी सिर्जना भएका छन्।
हालै, चौथो ब्याचमा २० जना नयाँ उद्यमीहरूले नबिल एसएसईको साथमा आफ्नो उद्यमशीलता यात्रा सुरु गरेका छन्। सामाजिक र आर्थिक रूपान्तरणमा योगदान गर्दै, नबिल एसएसईले नेपालको उद्यमशीलतामा ठोस आधार निर्माण गर्ने प्रयासलाई निरन्तरता दिएको छ।
FACEBOOK COMMENTS