काठमाडाैँ । सहकारी रकम अपचलनको आरोपमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको हिरासत भित्रको तस्बिर बाहिरिएको छ । पार्टीका कोषाध्यक्ष दिपक बोहोराले तस्बिर सार्वजनिक गर्दै मानव अधिकार हनन् भएको भन्दै प्रहरीले यसबारे छानविन गर्नुपर्ने बताए । कास्की प्रहरीले यसबारे छानबिन गरिरहेको बताएको छ । रास्वपा समर्थक डा. निकोलस भुसालले सामाजिक सन्जालमा भाइरल भइरहेको रवि लामिछानेको फोटो आफूले खिचेको बताएका छन् । यसमा कुनै खराब नियत नभएको भन्दै उनले गल्ती महसुस गर्दै माफी मागेका छन् ।
डा. भुसालले दुई दिन अघि नै यो फोटो फेसबुकमा राखेर पछि डिलिट गरेका थिए । रविका समर्थकहरुले प्रहरीले हिरासतभित्रको फोटो सार्वजनिक गरिदिएको भन्दै आलोचना गरिरहेका छन् । तर भुसालले त्यो फोटो प्रहरीले सार्वजनिक नगरेको बताएका छन् । ‘यो पुलिसले ल्याएको होइन, म दोषी छु यसमा । मैले यो फोटो बाहिर ल्याएको हुँ,’ भुसालले एक भिडियोमा भनेका छन्, ‘यसवाफत नेपाल प्रहरी र नेपाल सरकारसँग माफी माग्न चाहन्छु ।’
गृहमन्त्री भइसकेको व्यक्ति अहिले यो अवस्थामा पुगेको भनेर वास्तविकता बाहिर ल्याउन मात्र खोजेको उनको भनाइ छ । हिरासतमा कस्तो अवस्थामा बसिराख्नु भएको छ त भनेर बुझाउनका लागि त्यो फोटो खिचेका उनको दाबी छ । कास्की प्रहरीले भने रविको भनिएको भाइरल फोटोको वास्तविकता पत्ता लगाउन अनुसन्धान गरिरहेको जनाएको छ ।
FACEBOOK COMMENTS