काठमाडौं । एनसेलले प्रतिष्ठित आईएसओ २७००१:२०२२ (आईएसएमएस) र २७७०१:२०१९ (पीआईएमएस) को मान्यता पाउन सफल भएको छ । यसले डेटा सुरक्षा र गोपनीयतामा एनसेलको नेतृत्वदायी स्थानलाई थप मजबुत बनाएको छ र ग्राहकहरूको विश्वासका लागि नयाँ मापदण्ड स्थापित गरेको छ ।
यस उपलब्धिसँगै एनसेल सूचना सुरक्षा व्यवस्थापन प्रणाली (आईएसएमएस) र गोपनीयता सूचना व्यवस्थापन प्रणाली (पीआईएमएस) प्रमाणित हुने नेपालकै पहिलो दूरसञ्चार कम्पनी बनेको छ, जसले ग्राहकहरूको सूचना सुरक्षा सुनिश्चित गर्ने एनसेलको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ । एनसेलको विश्वसनीयता र सूचना सुरक्षालाई अझ सुदृढ बनाउँदै कम्पनीको डेटा सेन्टर, ग्राहक सेवा र आईटी सर्भिसेजले यी मान्यताहरू प्राप्त गरेका हुन् ।
‘यी विश्वव्यापी मान्यताहरू प्राप्त गर्नु हाम्रो सूचना सुरक्षा र गोपनीयता व्यवस्थापनलाई सुदृढ पार्ने निरन्तर प्रयासहरूको एक प्रमुख कोसेढुंगा हो । यसले एनसेल निरन्तर सुधार र उत्कृष्टताप्रति आफ्नो प्रतिबद्धतामा अडिग रहेको, गुणस्तर र सुरक्षाप्रति सधैं समर्पित रहेको स्पष्ट पार्दछ । सीईओका रूपमा म यो अन्र्तराष्ट्रिय रूपमा मान्यताप्राप्त मापदण्ड प्राप्त गर्ने परिवर्तनकारी अनुभव साझा गर्न पाएकोमा हर्षित छु । यसले टेलिकम उद्योगमा उत्कृष्टताप्रति हाम्रो प्रतिबद्धतालाई उजागर गर्दछ । हाम्रो टिमको समर्पणमा म अत्यन्त गर्व गर्छु, र नवीन प्रविधि भित्र्याउन नेतृत्वदायी भूमिका निर्र्वाह गर्दै सूचना सुरक्षा र डेटा गोपनीयताका उच्चतम मापदण्डहरू कायम राख्नेछौं,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने ।
यी मान्यताहरू ग्राहक डेटा सुरक्षा र डेटा सेन्टर, ग्राहक सेवा र आईटी सर्भिसेजमा गोपनीयता सुनिश्चित गर्ने अभ्यासहरूमा एनसेलले उच्चतम मापदण्डहरू पूरा गरेको प्रमाण हो । यसले ग्राहकहरूलाई उनीहरूका व्यक्तिगत र संवेदनशील जानकारीहरू एनसेलले उच्च जवाफदेहिताका साथ ह्यान्डल गर्ने र डेटाहरू सुरक्षित रहने प्रत्याभूति प्रदान गर्दछ ।
ग्राहक र साझेदारहरूका डेटा साइबर थ्रेट र अनधिकृत पहुँचबाट जोगाउन एनसेलले सशक्त उपायहरू कार्यान्वयन गरेको आईएसओ २७००१ मान्यताले सुनिश्चित गर्दछ । त्यसैगरी आईएसओ २७७०१ ले व्यक्तिगत डेटा सुरक्षा गर्न, उल्लंघनको जोखिमलाई कम गर्न र गोपनीयतामा उत्कृष्ट अन्तर्राष्ट्रिय अभ्यासको अनुपालन गरेको सुनिश्चित गरेको छ ।
आईएसओ मापदण्डहरू पालना गरेर एनसेलले ग्राहकहरूलाई उनीहरूको डेटा अन्तर्राष्ट्रिय मापदण्ड प्रक्रिया पूरा गरेको एक सुरक्षित प्रणालीले संरक्षण गरिरहेको सुनिश्चितता प्रदान गर्दछ । यी मान्यताहरूले एनसेलको पारदर्शिता र जवाफदेहितालाई दर्शाउँछ जसले ग्राहकको विश्वास नै व्यवसाय सञ्चालनको केन्द्रविन्दु रहेको सुनिश्चित गर्दछ । एनसेलका सिस्टमहरू सम्भावित अवरोधहरू न्यूनीकरण गर्ने, जोखिमहरू कम गर्ने र व्यवसाय निरन्तरतालाई बढाउने गरी डिजाइन गरिएको छ र सबै प्रक्रियामा डेटा सुरक्षा र गोपनीयतालाई उच्च प्राथमिकता दिइएको छ ।
यस उपलब्धिसँगै एनसेलले नेपालको दूरसञ्चार क्षेत्रमा एउटा नयाँ मापदण्ड स्थापित गरेको छ । ग्राहक र व्यावसायिक क्लाइन्टहरूलाई सुरक्षित र भरपर्दो सेवा प्रदान गर्दै आफ्नो नेतृत्वलाई थप सुदृढ पारेको छ ।
FACEBOOK COMMENTS