टिकटकले अमेरिकामा सेवा बन्द गरेको केही घण्टापछि आइतबार संयुक्त राज्य अमेरिकामा सेवा पुनः सुरू गरेको छ ।
टिकटकले सेवा सञ्चालनका लागि वातावरण बनाएको भन्दै सोमबार पुनः सत्ता सम्हाल्ने नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई यसको श्रेय दिएको छ ।
राष्ट्रपति जो बाइडनको निवर्तमान प्रशासनले यसअघि नै कुनै पनि प्रतिबन्ध नलगाउने बताएको थियो ।
टिकटकको चिनियाँ मालिक बाइटडान्सले आफ्नो अमेरिकी सहायक कम्पनी गैरचिनियाँ क्रेताहरूलाई बेच्नका लागि समयसीमा नजिकिँदै गर्दा संयुक्त राज्य अमेरिकामा टिकटक शनिबार अबेर बन्द भएको थियो ।
चीनको आग्रह
राष्ट्रिय सुरक्षाको कारण देखाउँदै सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने कानुन लागू भएपछि चीनले सोमबार संयुक्त राज्य अमेरिकालाई सामाजिक सञ्जाल प्लाटफर्म टिकटकको विषयमा ‘तर्कसंगत आवाज’ सुन्न आग्रह गरेको थियो ।
‘अमेरिकी पक्षले तर्कसङ्गत आवाजहरूलाई गम्भीरतापूर्वक सुन्नेछ र संयुक्त राज्य अमेरिकामा सञ्चालित सबै देशका बजार संस्थाहरूका लागि खुला, निष्पक्ष, न्यायपूर्ण र भेदभावरहित व्यावसायिक वातावरण प्रदान गर्नेछ भन्ने कुरा हामी आशा गर्दछौँ,’ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भने ।
माओले थपे ‘टिकटक धेरै वर्षदेखि संयुक्त राज्य अमेरिकामा सञ्चालन भइरहेको छ र अमेरिकी प्रयोगकर्ताहरूले यसलाई गहिरो प्रेम गर्छन् । यसले अमेरिकामा घरेलु रोजगारीलाई बढावा दिन र उपभोग बढाउन सकारात्मक भूमिका खेलेको छ ।’
FACEBOOK COMMENTS