काठमाडौं । गोरखाको पालुङटार नगरपालिका, लमजुङको राइनास नगरपालिका र तनहुँको भानु नगरपालिका भएर बग्ने मर्स्याङ्दी नदीमा एमए पावर प्रालिले निर्माण गर्ने ९० मेगावाटको मर्स्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत आयोजनामा कुमारी बैक लिमिटेडको अगुवाइमा २०८१ माघ १८ गते लगानीसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
लगानी सम्झौता एमए पावर प्रालिका अध्यक्ष अनुप आचार्य र कुमारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालको उपस्थितिमा कुमारी बैंक लिमिटेड, प्रभु बैंक लिमिटेड, सिद्धार्थ बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेडलगायतका विभिन्न बैंक तथा वित्तीय संस्थाहरूको १५ अर्ब १८ करोड ७५ लाख रूपैयाँको संयुक्त लगानीमा आयोजना निमार्ण हुने गरी ऋण सम्झौता सम्पन्न भएको हो ।
स्वपुँजी लगानीतर्फ अनुप आचार्य, हरिबाबु न्यौपाने र दीपक बरालको हुनेछ । साथै डोल्मा इम्पाक्ट फण्डले पनि कम्पनीमा ४९ प्रतिशतसम्म स्वपुँजी लगानी गर्न पूर्वआवश्यक उचित परिश्रम अध्ययन अगाडि बढाएको कम्पनीका अध्यक्षले बताए । यही समूहबाट हाल सेतीखोला हाइड्रोपावर लिमिटेडमार्फत सेतीखोला जलविद्युत आयोजना (२२ मेवा) निर्माण कार्य अन्तिम चरणमा छ ।
आयोजनाको नेपाल विद्युत प्राधिकरणसँग २०८० कात्तिक १ गते विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भई व्यपारिक उत्पादन सुरू गर्नुपर्ने मिति (आरसीओडी) २०८६ वैशाख २२ रहेको छ ।
आयोजनाको वातावरणीय प्रभाव मूल्यांक प्रतिवेदन (ईआईए) स्वीकृतिका लागि सम्बन्धित निकायमा पेस भएको कम्पनीका अध्यक्षले बताए । आयोजनाबाट उत्पादित विद्युत विद्युतगृहदेखि २२० केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत ११.६ किलोमिटर दूरीमा नेपाल विद्युत प्राधिकरणको मार्किचोक सवस्टेशनमा २२०/१३२ केभीमा जोडिने छ ।
FACEBOOK COMMENTS