प्रधानमन्त्री केपी ओलीले सबैले आत्मविश्वासका साथ काम गरेमा अब नेपाल पछाडि पर्नुपर्ने कुनै कारण नरहेको बताएका छन् ।
श्रीपञ्चमीका अवसरमा फिनिक्स इस्पिरेसन र इम्पेरियल वर्ल्ड स्कुलद्वारा सोमबार आयोजित ‘युवा अन्तर्क्रिया कार्यक्रम’मा प्रधानमन्त्री ओलीले विकासका पूर्वाधार बनाएर र आधुनिक गुणस्तरीय शिक्षा दिएर युवाहरूलाई विश्वबजारको प्रतिस्पर्धी बनाउने संकल्प पनि गरे ।
‘विदेशमा गएर नेपाली युवाले अरूका देश बनाएका छन् । अब हामीले आफ्नै देश बनाउन ध्यान दिनुपर्छ । हामीसँग एक करोड युवा अहिले पनि स्वदेशभित्रै छन् । त्यसैले अब हामी हाम्रो देश बनाउँछौँ,’ विद्यार्थीहरूलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले भने, ‘यस देशबाट गरिबी समाप्त पार्नुपर्छ । देशको स्वाधीनताको झन्डा झुक्न दिन हुँदैन र देशलाई समृद्ध नेपाल बनाउनुपर्छ ।’
प्रधानमन्त्री ओलीले ज्ञानभूमि र तपोभूमिका साथै पुर्खाको गौरवगाथाले भरिएको नेपाल कहिल्यै कुनै पनि देशको अधीनमा बस्नु नपरेको स्मरण गराउँदै विद्यार्थीलाई देशभक्तिलाई शिरमा बोकेर इमानदार बनेमा सफलतामा पुग्न सकिने सुझाव दिए ।
उनले विद्यार्थीहरू अरूको बहकाउमा लाग्न नहुने र असल नेपाली संस्कारलाई पछ्याउन लाग्नुपर्नेमा जोड दिँदै युवाहरूका लागि स्वदेशमै अवसरहरूको सिर्जना गर्न सरकारले विशेष ध्यान दिइरहेको बताए ।
नेपाल र चीनबिचको सम्बन्धबारे एक विद्यार्थीको प्रश्नमा प्रधानमन्त्री ओलीले नेपालले चीन, भारतलगायत विभिन्न देशसँग मित्रवत् सम्बन्ध राख्दै आएको बताउँदै हालैको औपचारिक चीन भ्रमणका क्रममा ‘बेल्ट एन्ड राेड इनिसियटिभको फ्रेमवर्क’मा सम्झौतालगायत विभिन्न सहकार्य विस्तार भएको बताए ।
नेपालको भलाइका लागि तपाईंले देखेको सबैभन्दा ठुलो सपना के हो ? भन्ने प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ नै आफ्ने ठुलो सपना भएको स्पष्ट पारे । प्रधानमन्त्री ओलीसमक्ष विद्यार्थीहरूले उनका रुचिका विविध पक्षमा पनि प्रश्न गरेका थिए ।
FACEBOOK COMMENTS