एजेन्सी
भारतसँग पूर्वी लद्दाखमा जारी तनावका बीच चीनको सरकारी मिडिया भारतमाथि दबाब बनाउने प्रयास गरिरहेको छ । ग्लोबल टाइम्सले आइतबार चिनियाँ सैनिकहरुको युद्ध अभ्यासको भिडियो साझा गरेको छ । भिडियोमा चीनले सीमामा जुनै पनि समयमा सैनिक र हतियार एकीकृत गर्न सक्छ भन्ने देखाइएको छ ।
ग्लोबल टाइम्सको दाबी अनुसार चिनियाँ जनमुक्ति सेना ९पीएलए० ले उत्तर–पश्चिमको उच्च क्षेत्रमा ठूलो संख्यामा युद्ध अभ्यास गरेको छ । यसमा हजारौँ प्याराट्रुपर्स र बख्तरबन्द गाडीले भाग लिएका छन् ।
ग्लोबल टाइम्सको रिपोर्टमा चीनले आवश्यकता परेमा आफ्नो सीमा सुरक्षालाई कति चाँडो मजबुत बनाउन सक्छ भन्ने देखाउने प्रयास गरिएको छ । शनिबार सीसीटीभीले पनि पीएलएको एयरफोर्सको एयरबोर्न ब्रिगेडले हुबेई प्रान्तबाट हजारौँ किलोमिटर टाढा उत्तर पश्चिममा एक अज्ञात स्थानमा युद्ध अभ्यास गरेको बताएको छ ।
यता भारतीय रक्षा विश्लेषक नितिन गोख भन्छन्, ‘चीन एक धारणा बनाउने कोशिस गर्दैछ कि उसको सेना उच्च क्षेत्रमा पनि युद्धका लागि तयार छ ।’
यसअघि शनिबार पूर्वी लद्दाखमा देखिएको तनाव हल गर्न दुई देशका सैन्य अधिकारीहरुको बैठक बसेको थियो । आइतबार भारतको विदेश मन्त्रालयले बैठकबारे जानकारी दिँदै दुवै देश शान्तिपूर्ण तरिकाबाट विवाद समाधान गर्न तयार रहेको बताएका थिए ।
भारत र चीनबीच ३ हजार ४८८ किलोमिटर लामो लाइन अफ एक्चुअल कन्ट्रोल रहेको छ । यसमा दुई देशबीच विवाद रहेको छ । सीमा विवादकै विषयमा भारत र चीनका सैनिकबीच मे महिनामा तीन पटक झडप भइसकेको छ ।
FACEBOOK COMMENTS