अन्जनराज न्यौपाने
तनहुँ, २७ जेठ – रुकुम घटनाका विषयमा दोषीलाई कार्वाहीको माग राख्दै विभिन्न जातीय संगठन र नागरिक समाजले जातीय विभेदका कारण भएको घटनाको निष्पक्ष छानविन गरि दोषीलाई कार्वाही गर्न जोडदार माग गरेका छन्।‘छुवाछूत मुक्त राष्ट्र घोषणा भो, दलितलाई न्याय कता गयो’ भन्ने मुल नाराका साथ जिल्लाको सदरमुकाम दमौली स्थित ब्यासनगरपालिका परिक्रमा पश्चात् मंगलबार दिउँसो जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारी समक्ष संयुक्त रुपमा ज्ञापन- पत्र बुझाएको थियो ।
संयुक्त राजनीतिक दलित संघर्ष समितिका संयोजक डोवाटे विकले दलित समुदायमाथि हुने विभेदका कारण समग्र देशको विकास पछाडि परेको बताए । सदियौदेखि जातियविभेदले समाजमा जरो गड्दा मुलुकमा चौतर्फी विकास हुन कठिन भएको संयुक्त दलित उत्थान मन्चका अध्यक्ष रामलिला स्वर्णकारले बताए ।
यसैगरी दलित संघ तनहुँका अध्यक्ष रामकृष्ण विकले छुवाछूत मुक्त समाज राज्यले घोषणा गरेको भएतापनि समाजमा छुवाछूत प्रथा विद्यमान रहि रहनु दुखद् भएको बताए ।यस्तै, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन तनहुँका अध्यक्ष डम्बरबहादुर विकले पश्चिम रुकुममा जातीय विभेदका कारण नवराज विक लगायत ६ निर्दोष युवाहरुको जातिय नरसंहारका विषयमा यथासक्दो दोषीमाथि कार्वाही गरि पिडित परिवारजनलाई चाँडोभन्दा चाँडो न्याय दिलाउन सरकारसँग माग गरे ।
विरोध कार्यक्रममा दलित पत्रकार संघ तनहुँका अध्यक्ष सानेबहादुर नेपालीले सामजमा जातीय छुवाछूत र विभेदको अन्त्य र संविधान प्रदत्त अधिकार सुनिश्चित नभएसम्म आम दलितले समाजिक न्याय पाउन नसक्ने बताए । महिला पत्रकार संघ तनहुँकी अध्यक्ष अन्जना तिमल्सिनाले सदियौ देखि वर्तमान आधुनिक समयमापनि दलितले समाजमा अन्याय ,अत्याचार ,भ्रष्टाचार र सामाजिक तिरस्कार ,अपहेलना र सहनै नसकिने गरि अन्याय झेल्दै आउनु परेको बताईन् ।
संयुक्त दलित राजनैतिक विरोध सभा कार्यक्रममा नेपाल सुनचाँदी ब्यवसायी महासघका केन्द्रीय अध्यक्ष मोहन कुमार सुनार,नेपाल वार ऐशोसियसन तनहुँका अध्यक्ष अमृत बहादुर नेपाली ,मानव अधिकार संगठन तनहुँ कि अध्यक्ष कल्पना लम्साल ,जनजाति महासंघ जिल्ला समन्वय समिति तनहुँकि अध्यक्ष बसुन्धरा घर्ती ,नेपाल दलित मुक्ति संगठन तनहुँका अध्यक्ष दिलबहादुर नेपाली ,नेपाल मिजार समाज तनहुँका अध्यक्ष रनसिहं नेपाली ,नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष चुणामणी खनाल, जातीय समता समाज तनहुँका अध्यक्ष नरबहादुर विक, नेपाल परियार संघ तनहुँका अध्यक्ष रामबहादुर गुईदेल, नेपाल मगर संघ जिल्ला समन्वय समिति तनहुँका अध्यक्ष मनिराज थापा,राष्ट्रिय युवा संघ तनहुँका अध्यक्ष ईश्वर वस्याल लगायतका विभिन्न १६ जातिय संघ संगठनहरुले निमुखा दलितहरु सामाजिक दुरीमा बस्न बाध्य भएको बताउदै समुदायको हकहित अधिकार र सामाजिक न्यायकालागि देशभर आवाज बुलन्द पार्न सक्नुपर्नेमा जोड दिएका थिए।
FACEBOOK COMMENTS