जेठ २९ गते – ‘कोरोना सङ्क्रमण भएपनि डराउन र लुकाउन हुन्न ।’ राजविराजस्थित साइकृष्णा कलेज एण्ड हस्पिटलको आइसोलेसन सेन्टरबाट बुधबार बिदा भएका तीन युवकले आफ्नो अनुभव सुनाउनुभयो । सप्तरीको बलानबिहुल गाउँपालिका–४ बेल्हीका ३५ वर्षीय अमरनाथ मण्डल, डाकनेश्वरी नगरपालिका–४ पट्टी प्रवाहाका २२ वर्षीय रामकुमार मुखिया र डाकनेश्वरी नगरपालिका–८ भुतहीका ३५ वर्षीय जसोलाल रामको पिसीआर नेगेटिभ आएपछि उहाँहरुलाई बुधबार बिदा गरिएको हो । राजविराजस्थित प्रयोगशालामा गरिएको परीक्षणमा उहाँहरुको रिपोर्ट नेगेटिभ आएको गजेन्द्रनारायण सिंह अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले बताउनुभयो ।
मण्डल भारतको हरियाणाबाट, मुखिया मुम्बइबाट र राम दिल्लीबाट फर्किएका हुन् । तीनै जना फरक–फरक ट्रकमा भएर आएका थिए । कोरोना पोजिटिभ भएको जानकारीले शुरुमा निकै अत्तालिए पनि घरपरिवारका सदस्यले र आइसोलेसनमा ल्याएपछि स्वास्थ्यकर्मी, नर्सले निकै हौसला दिनुभएको रामले बताउनुभयो । आइसोलेसनमा ल्याएको पहिलो दिन पानी र चियानास्ता नपाए पनि त्यसपछि कुनै असुविधा नभएको उहाँले बताउनुभयो । आत्मबल बलियो बनाउने काम भएमा कोरोनालाई सजिलै पछार्न सकिने अनुभव सुनाउँदै उहाँले अरुलाई पनि आवश्यक्ताभन्दा बढी नडराउन बरु सतर्क रहन आग्रह गर्नुभयो ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा दास, गणपति गुप्तबहादुर कुँवर, डा रणजितकुमार झा, सिनियर स्टाफ नर्स कृष्णा यादव, सिनियर अहेव शिवनारायाण चौधरीलगायतले तीनै जनालाई टीका र खादा लगाइ फूलको गुच्छा दिएर बिदा गर्नुभयो । डा दासले कोरोनालाई आत्मबलले जित्नुपर्ने र सकारात्मक सोच राख्नुपर्ने बताउनुभयो । यो समेत सप्तरीबाट सङ्क्रमण मुक्त हुने चार जना पुगेका छन् ।
बुधबार तीन युवकको बिदाइपछि छिन्नमस्ता गाउँपालिका–२ स्थित रमपुरा क्वारेन्टिनमा होल्डिङ गरी राखिएका चार जनालाई राजविराजस्थित आइसोलेसन सेन्टर ल्याइने भएको छ । सप्तरीमा हालसम्म ११२ सङ्क्रमित पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । आइसोलेसन सेन्टरमा १०३ मात्र श्यया रहेको छ । बुधबार सङ्क्रमण पुष्टि भएका छिन्नमस्ता गाउँपालिकाका ६ जनालाई हाल सोही क्वारेन्टिनमा राखिने र आइसोलेसन श्ययाको व्यवस्था भएपछि सारिने डा झाले जानकारी दिनुभयो ।
-गोरखापत्र दैनिक
FACEBOOK COMMENTS