काठमाडौं । आफ्ना ग्राहकहरूलाई वाईफाई इन्टरनेटको माध्यमबाट गुणस्तरीय भ्वाइस कल सेवा दिन एनसेलले भ्वाइस ओभर वाईफाई (भोवाईफाई) सेवाको सुरूवात गरेको छ । नयाँ प्रविधिमा आम उपभोक्ताहरूको पहुँच सुनिश्चित गराउने आफ्नो निरन्तरको प्रयासस्वरूप एनसेलले यो सेवा सञ्चालनमा ल्याएको हो ।
यो सेवाले ग्राहकहरूलाई कुनै पनि भरपर्दो वाईफाई इन्टरनेट प्रयोग गरी स्पष्ट सुनिने एचडी भ्वाइसमा कल गर्न, आगमन कल उठाउन र एसएमएस आदानप्रदान गर्न सक्षम बनाउँछ । वाईफाई कलिङका नामले पनि चिनिने भोवाईफाई सेवा कमजोर मोबाइल नेटवर्क सिग्नल भएका स्थानहरू जस्तैः घर अथवा ठूला विल्डिङका बेसमेन्टहरू र दुर्गम स्थानहरूमा सेवा लिनसमेत प्रयोग गर्न सकिन्छ । प्रारम्भिक चरणमा हाललाई एनसेलको यो सेवा आईफोन ८ र त्यसमाथिका आईफोन मोडेलहरूमा उपलब्ध रहेको छ ।
यसको विषेशता भनेको सेवाबाट फाइदा लिनका लागि अतिरिक्त शुल्क लाग्दैन । ग्राहकहरूले विद्यमान भ्वाइस र एसएमएस सेवाको शुल्कमा नै यो सेवा लिई कमजोर मोबाइल नेटवर्क भएका स्थानमा पनि विस्तारित नेटवर्क कभरेजको फाइदा लिएर सम्पर्कमा रहिरहन सक्छन् ।
भ्वाइस ओभर लङटर्म इभोलुशन (भोल्टे) सेवाका लागि फोरजी आवश्यक भएजस्तै भोवाईफाईका लागि भरपर्दो वाईफाई कनेक्शनको आवश्यकता पर्दछ । कमजोर मोबाइल नेटवर्क भएका ठाउँहरूबाट कुराकानी गर्दा गर्दै मोबाइल नेटवर्क भएको स्थानमा पुगेमा बिना कुनै बाधा भोवाईफाईबाट मोबाइल नेटवर्कमा स्वतः स्विच हुने यो प्रविधिको एक मुख्य विषेशता हो । यसले अस्थिर र कमजोर मोबाइल नेटवर्क भएका स्थानका ग्राहकहरूका लागि धेरै फाइदा पुर्याउँदछ ।
भोवाईफाई सेवाका साथ ग्राहकहरूलाई मोबाइल नेटवर्क समस्या भएका इनडोर अथवा बेसमेन्टजस्ता स्थानहरूमा समेत सेवा प्रदान गर्नका लागि फोरजीको परिपूरक प्रविधिको रूपमा भोवाईफाई सञ्चालनमा ल्याइएको एनसेलले जनाएको छ । चाँडै नै यो सेवा सामसङ, शाओमी, ओपो र भिभोलगायतका अन्य ब्रान्ड तथा मोडेलहरूमा पनि विस्तार गर्ने योजना एनसेलको रहेको छ । यसले अझ बढी उपभोक्ताहरूलाई सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ । एनसेलले आफ्नो फोरजी नेटवर्क देशको ९४ प्रतिशत जनसंख्यालाई कभर गर्ने गरी विस्तार गरिसकेको छ, जसले भोल्टे र भोवाईफाई दुवै सेवा उपयोग गर्न सहज बनाउँछ ।
भोवाईफाई सेवा चलाउन मिल्ने मोबाइल सेट भएका ग्राहकहरूले एनसेल एप डाउनलोड गरी एपमार्फत यो सेवा एक्टिभेट गनुपर्ने हुन्छ । त्यसपश्चात ग्राहकले कुनै पनि भरपर्दो वाईफाईमार्फत भोवाईफाई सेवाको फाइदा लिन सक्छन् ।
सेवा एक्टिभेट गर्नुअघि ग्राहकहरूले भोल्टे र भोवाईफाई वा वाईफाई कलिङ दुवै आफ्नो मोबाइलमा सक्रिय अर्थात स्विच अन गरेको हुनुपदर्छ । त्यसका लागि सेटिङमा गएर मोबाइल नेटवर्कभित्र गई सिमकार्ड छान्नुपर्दछ र भोवाईफाई, वाईफाई कलिङ वा सोहीअनुसार छानेर सक्रिय गर्नुपर्दछ । यसरी ग्राहकले आफ्नो मोबाइलमा भोवाईफाई वा वाईफाई कलिङ देखेमा सो मोबाइलमा भोवाईफाई सेवा चल्ने बुझिन्छ । सेटिङमा भोवाईफाई, वाईफाई कलिङ सक्रिय गर्ने प्रक्रिया एन्ड्रोइड र आईओएस दुवैका लागि समान रहेको छ ।
FACEBOOK COMMENTS