गत साता कर्जा ८ अर्ब घट्दा निक्षेप १० अर्ब बढ्यो
काठमाडौँ — साढे २ महिनादेखि रोकिएको बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह विस्तारै सुरु भएको छ । सरकारले लकडाउन खुकुलो गराउन लागेसँगै कर्जा माग पनि हुन थालेको हो ।
‘केही दिनयता बैंकमा कर्जाको माग हुन थालेको छ,’ बैंकर्स संघका अध्यक्ष भुवन दाहालले भने, ‘कारोबार संख्या र रकम कम छ । तर कर्जा माग विस्तारै बढ्न थालेको छ ।’ गत सातामा दाहाल आबद्ध सानिमा बैंकबाट केही प्रतीतपत्र ९एलसी० खुलेको पनि उनले जानकारी दिए । ‘सामान्य अवस्थाको तुलनामा एक चौथाइ मात्र कारोबार भएको छ,’ उनले भने, ‘कारोबार कम नै भए पनि ऋणको माग बढ्नु आर्थिक गतिविधि चलायमानको संकेत हो ।’
लकडाउन अवधिमा खासगरी औषधोपचारजन्य सामग्रीलगायत अत्यावश्यक सामान आयातका लागि सरकारी खुकुलो नीतिगत व्यवस्था भए पनि अपवादबाहेक ऋणको माग थिएन । त्यति बेला बैंक तथा वित्तीय संस्था खुले पनि कर्जा माग थिएन । पछिल्ला दुई सातायता कर्जा लिन आउने ग्राहक पनि बढेका हुन् ।
लकडाउनका कारण नागरिक सहज रूपमा हिँडडुल गर्न नपाएपछि अन्य बैंकिङ कारोबार हुन सकेको थिएन । बैंकका केही शाखा आलोपालो रूपमा दैनिक २र३ घण्टा खुले पनि सीमित बैंकिङ ९निक्षेप संकलन, पैसा झिक्नेलगायत सामान्य बैंकिङ० बाहेक अन्य कारोबार भएको थिएन । सरकारले व्यवसाय सञ्चालन खोल्न दिने निर्णय गरेपछि बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह पनि सुरु भएको बैंकरहरूले बताएका छन् ।
दुई सातायता माछापुच्छ्रे बैंकमा करिब ७० करोड रुपैयाँबराबर कर्जा माग आएको प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले जानकारी दिए । ‘पुरानै ग्राहकले थप ऋण मागेका हुन्, नयाँ ग्राहक भने आएका छैनन्,’ उनले भने, ‘अहिले खाद्यान्न, मदिरालगायत व्यवसायीबाट थप कर्जा माग भएको देखिन्छ ।’ अवस्था सामान्य भएपछि कर्जा माग उर्लिने उनको अनुमान छ ।
सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले पनि केही सातायता ऋण लिन खोज्ने ग्राहक बढेको बताए । ‘यसअघि आलोपालोमा बैंक खुले पनि कर्जा प्रवाह शून्य थियो,’ उनले भने, ‘अब विस्तारै पुराना ग्राहकले कर्जा माग गर्न थालेका छन् ।’ सरकारले लकडाउन खुकुलो बनाएपछि कर्जाको माग बढने उनले बताए ।
नयाँ व्यवसायका लागि भन्दा पनि असार मसान्तमा बुझाउनुपर्ने साँवा तथा ब्याजका लागि कर्जा माग भएको एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतको भनाइ छ । कोभिड–१९ का कारण व्यवसाय प्रभावित भएका ग्राहकलाई राष्ट्र बैंकले थप १० प्रतिशत कर्जा लिन पाउने सुविधा दिएको छ । ‘बैंकले आन्तरिक रूपमा सर्कुलर जारी गरेर ग्राहकलाई थप १० प्रतिशत कर्जा सुविधा लिन आग्रह गरिरहका छन्,’ ती अधिकारीले भने, ‘यसकारण नयाँभन्दा पनि दैनिक व्यवसार पुनस् सुरु गर्न ऋण लिएको देखिन्छ ।’
कर्जा प्रवाह सुरु भए पनि बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कुल कर्जा भने घटेको देखिन्छ । यो अवधिमा प्रवाह भएको कर्जाभन्दा असुली धेरै भएकाले लगानीमा रहेको कुल कर्जा बढ्न नसकेको उनीहरुको भनाइ छ । गत साता वाणिज्य बैंकहरुमा करिब १० अर्ब रुपैयाँ निक्षेप बढेको राष्ट्र बैंंकको तथ्यांक छ । सोही अवधिमा लगानीमा रहेको कुल कर्जामा करिब ८ अर्ब रुपैयाँ कमी आयो । यो प्रवृत्ति नयाँ भने होइन । करिब साढे २ महिनादेखि वित्तीय प्रणालीमा निक्षेप संकलन बढिरहेको छ भने नयाँ कर्जाको माग थिएन ।
सरकारले चैत ११ देखि लकडाउन सुरु गरेको हो । गत चैत ११ मा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ३५ खर्ब ९४ अर्ब रुपैयाँ थियो । हाल यो बढेर ३७ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ । लकडाउन अवधिमा अत्यावश्यकबाहेक आर्थिक गतिविधि बन्द थिए । खाद्यान्न, खानेपानी, औषधि, औजारलगायत अत्यावश्यक गतिविधि भने लकडाउनमा पनि जारी थिए । यो अवधिमा ती क्षेत्रबाट बैंक तथा वित्तीय क्षेत्रमा राम्रो निक्षेप संकलन भएको राष्ट्र बैंकले जनाएको छ । लकडाउनमा उपभोक्ताले उपभोगमा खर्चेको पैसा पनि व्यवसायीमार्फत बैंकमा आएकाले निक्षेप बढेको हो ।
चैत ११ मा बैंक तथा वित्तीय संस्थाको कर्जा ३२ खर्ब १८ अर्ब रुपैयाँ थियो । हाल यो ३२ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ । गत वैशाख २७ मा कुल कर्जा ३२ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको थियो । वैशाख अन्तिम साताको तुलनामा अहिले कुल कर्जा घट्नुको अर्थ असुली हुनु भन्ने हो ।
त्यसो त लकडाउनअघि पनि कर्जा प्रवाहमा उल्लेख्य बढोत्तरी थिएन । अघिल्लो वर्षको तुलनामा नयाँ वर्ष सुरु भएसँगै बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह वृद्धिदर अपेक्षित रूपमा बढ्न सकेको थिएन । त्यही अवस्थामा लकडाउन भयो । त्यसपछि त झन कर्जासम्बन्धी गतिविधि ठप्प नै भए ।
लकडाउनकै अवधिमा सरकारले १ खर्ब २५ अर्ब रुपैयाँ आन्तरिक ऋण संकलन गरेको छ । जसमध्ये चैत अन्तिम सातामा मात्र ५५ अर्ब रुपैयाँ उठाइएको थियो । यो वर्ष सरकारले १ खर्ब ९५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । सरकारले बजेटको अर्धवार्षिक समीक्षामा राजस्व लक्ष्य संशोधन गरे पनि आन्तरिक ऋण प्राप्ति यथावत् नै राखेको छ ।
वैदेशिक बचतपत्रबाट १ अर्ब रुपैयाँ संकलन भए अरू उपकरणबाट १ खर्ब ९४ अर्ब रुपैयाँ उठाउने राष्ट्र बैंकको योजना छ, जसमध्ये यो वर्षबाट सबै त्रैमासमा वैदेशिक रोजगार बचतपत्र बिक्री खुला गरिरहेको छ । वैदेशिक रोजगारीमा गएका धेरैलाई समेट्ने उद्देश्यले अर्थ मन्त्रालयको निर्देशनअनुसार राष्ट्र बैंकले वर्षभरि नै बचतपत्र बिक्री खुला गरेको हो ।
नियमित खुल्न थाले बैंक
यसअघि आलोपालोअनुसार सञ्चालन भइरहेका बैंकका शाखा गत आइतबारदेखि नियमित भएका छन् । काठमाडौं उपत्यकालागयत प्रमुख सहरका प्रायस् सबै शाखा सञ्चालनमा छन् । सीमित सवारी पासले एकतिहाइ कर्मचारीमार्फत सेवा दिनुपरेकाले अप्ठ्यारो भए पनि समयको आलोपालो गरी हरेक दिन हरेक शाखा खोल्ने व्यवस्था मिलाइएको बैंकर्स संघका अध्यक्ष दाहालले बताए । मोफसलमा केही स्थानमा स्थानीय सरकारले नै बन्द गर्न निर्देशन दिएकाबाहेक सबै शाखा सञ्चालन भएको उनले बताए । ‘सुरक्षाका पर्याप्त उपाय अपनाएर सम्भव भएसम्म सबै शाखा चलाउने सहमति गरेका छौं,’ उनले भने ।
-कान्तिपुर दैनिक
FACEBOOK COMMENTS