काठमाडौं । दक्षिण कोरिया नेपाली युवाहरूको रोजाइको श्रम गन्तव्य हो । त्यहाँ पुगेर आफूले गर्ने दुःखअनुसार पारिश्रमिक पनि आकर्षक नै पाइने हुनाले यो मुलुक नेपाली युवाहरूको रोजाइको श्रम गन्तव्य बनेको हो ।
दक्षिण कोरियाले उत्पादन क्षेत्र, कृषि क्षेत्र र पानीजहाज निर्माण क्षेत्रमा नेपाली श्रमिक लैजाँदै आएको छ । तर, श्रमका लागि दक्षिण कोरिया पुग्न भने त्यति सजिलो छैन । त्यसका लागि पहिला भाषा र सीप परीक्षा उत्तीर्ण गर्नुपर्ने हुन्छ । छोटो समयमा भिन्न देशको भाषा सिकेर त्यसका लागि लिइने परीक्षा उत्तीर्ण गर्न पनि सोचेजस्तो सजिलो पक्कै छैन ।
अर्कातिर एक विकसित देशले आफ्नो देशमा आकर्षक पारिश्रमिकसहित भित्र्याउने श्रमिकलाई आवश्यक सीप पनि विशेष नै खोजिहाल्छ । त्यस्तै, ईपीएसमा नेपाली युवाहरूको उच्च आकर्षणले यससम्बन्धी भाषा र सीप परीक्षामा पनि ठूलो संख्यामा युवाहरूबीच कडा प्रतिस्पर्धा हुने भएकाले सीमित प्रशिक्षार्थी मात्र यसमा छनोट हुन्छन् । त्यसैले ‘कोरिया सपना’ साकार पार्न राम्रै मेहनत चाहिन्छ भन्ने सजिलै बुझ्न सकिन्छ ।
हो, आफ्नो यस्तै मेहनतपछि अहिले थुप्रै नेपाली युवा दक्षिण कोरियामा श्रम गरिरहेका छन् । कोही त्यहाँ पुगेर पनि आफ्नो देश फर्किसकेका छन् त कोही सबै प्रक्रिया पूरा गरेर उडानको पर्खाइमा छन् भने कोही त्यसका लागि आवश्यक ज्ञान सिकिरहेका छन् । तर, सबै प्रक्रिया पूरा गरेर पनि कोरिया जानबाट रोकिएपछि अहिले थुप्रै युवाहरू निराश पनि बनेका छन् । कोरिया उडानका लागि हवाई टिकट नपाएर आफूहरूको भिसा रद्द भइरहेको तथा हुने खतरा रहेको उनीहरूको चिन्ता छ । आफ्नो लामो समयको मेहनत खेर जाने हो कि भन्ने डरमा उनीहरू छन् ।
आफ्नो देशमा व्याप्त बेरोजगारी समस्या र रोजगार नै पाउँदा पनि त्यसबाट प्राप्त हुने पारिश्रमिकले जीवन चलाउन मुस्किल नै भइरहने तथा आर्थिक स्वतन्त्रता तथा समृद्धिको चाहना अधुरै रहने ठानेर धेरै युवाहरू बिदेसिइरहेको तीतो सत्य हामी कसैका सामु छिपेको विषय होइन । आफूले गर्ने श्रमको उचित मूल्यको खोजीमा युवाहरू विदेश पलायन भइरहेका हुन् ।
युवाहरूको विदेश पलायनलाई ‘देशमा केही नहुने’ भनेर बनाइएको भाष्यको प्रभावका रूपमा मात्र व्याख्या गरिनु पनि उचित होइन । बरू यसलाई केही समयको माग, केही रूचि र केही बाध्यताका रूपमा अर्थ्याउँदा अलि वेश होला । यदि आफ्नै देशमा बाह्य मुलुकले जस्तै रोजगार र पारिश्रमिक दिन सक्ने हो भने सायदै कोही युवा श्रमकै लागि भनेर बिदेसिने थियो । यस्तो अवस्थाका बीच युवाले वैदेशिक रोजगारीका लागि लामो समय गरेको मेहनतले प्रतिफल नदिँदै त्यो खेर जाने अवस्था आउन सक्नेप्रति गरेको चिन्तालाई स्वाभाविक मान्न सकिन्छ ।
कोरियाली रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत रोजगारीका लागि छनोट भई सबै प्रक्रिया पूरा गरिसकेका तर कोरिया उड्नबाट रोकिइरहेका नेपाली श्रमिकहरू अहिले असमञ्जसमा छन् । उनीहरूका अनुसार यस्ता धेरै नेपाली श्रमिकहरूको भिसा रद्द हुने अवस्था आएको छ भने केही श्रमिकहरूको त रद्द पनि भइसकेको छ । भिसा लागेको ९० दिनभित्र कोरिया उडिसक्नुपर्ने प्रावधान भए पनि पर्याप्त उडान उपलब्ध नहुनाले समयमा कोरिया जान नपाएको उनीहरूको दुखेसो छ ।
हाल उडान संख्या कम भएकाले एक हजार ७०० भन्दा बढी नेपाली श्रमिकहरू अन्योलमा परेका हुन् । कतिपय श्रमिकहरूको भिसा अवधि सकिँदा उनीहरूको रोजगारी नै गुमिसकेको छ । अरूको पनि यही समस्या आउने जोखिम उच्च छ । उडान समस्याका कारण समयमा कोरिया जान नपाउँदा श्रमिकहरूले मानसिक तनाव पनि बेहोरिरहेका छन् । परिवारको आशा र वर्षौंको मेहनत अनिश्चित बनिरहेको उनीहरू बताउँछन् ।
‘हामीले यसबारे सम्बन्धित निकायसँग पटकपटक अनुरोध गरिसकेका छौं, तर ठोस समाधान पाएका छैनौं,’ सबै प्रक्रिया पूरा गरेर पनि उडान समस्याले कोरिया जान रोकिइरहेकामध्ये एक युवाले भने, ‘भिसा रद्द हुन सक्ने अवस्थाले वर्षौंको मेहनत त्यसै खेर जाने हो कि भन्ने डर छ । दैनिक ४-५ जनाको भिसा रद्द भइरहेको छ ।’
यसअघि यस्तो समस्या त्यति नभएको भए पनि पछिल्लो दुई महिनायता ज्यादातर यो समस्या देखिएको ती युवाले बताए । हाल नेपालबाट श्रमिक दक्षिण कोरिया पुर्याउने प्रयोजनार्थ चार्टर्ड फ्लाइटको बोलपत्र परेको र नेपाली श्रमिक लैजाने कोरियन एअर नेपाल नआएकाले यो समस्या भइरहेको भन्दै उनले सिट संख्या बढाएर भए पनि आफूहरूलाई कोरिया पुर्याउन सम्बन्धित निकायसँग आग्रह गरिएको तर सुनुवाइ नभएको बताए ।
नेपाल सरकार, श्रम मन्त्रालय, पर्यटन मन्त्रालय, नेपाली वायुसेवा कम्पनीहरू तथा कोरियाली सम्बन्धित निकायले ईपीएस श्रमिकहरूको उडान समस्या तत्काल समाधान गर्नुपर्ने पीडित ईपीएस श्रमिकहरू बताउँछन् । नियमित उडान संख्या वृद्धि गर्न, चार्टर्ड फ्लाइटको व्यवस्था गर्न वा वैकल्पिक उपायहरू खोज्न नेपाल सरकार र सम्बन्धित पक्षहरू गम्भीर रूपमा लाग्नुपर्ने उनीहरूको भनाइ छ ।
यता, ईपीएस कोरिया शाखाका सूचना अधिकारी कमलराज श्रेष्ठले भने उडानको समस्या र भिसा अवधि सकिएर नेपाली श्रमिक कोरिया जान नपाउने अवस्था नरहेको दाबी गरेका छन् । उनका अनुसार कोरियाका रोजगारदाता कम्पनीले तत्काल कामदार नचाहिएको भनेर कामदार नलैजाने निर्णय लिँदा केही श्रमिकको भिसा रद्द भएको हो । साथै उनले भिसा लागेका सबै श्रमिक आफ्नो भिसा अवधिभित्रै कोरिया जान पाउने र त्यसका लागि सम्बन्धित निकायसँग आफूहरूले समन्वय गरिरहेको विश्वास दिलाए ।
‘श्रमिकले भिसा अवधि सकिएर कोरिया उड्न नपाएको अवस्था छैन । एकादुईको भिसा यसअघि पनि रद्द हुँदै आएको हो,’ श्रेष्ठले कर्पोरेट खबरसँगको टेलिफोन कुराकानीमा भने, ‘कतिपय रोजगारदाता कम्पनीले तत्काल कामदार नचाहिएको भनेर नलैजाँदा पनि यस्तो हुने गरेको हो ।’
उनका अनुसार मार्च महिनाको पहिलो र दोस्रो हप्ता गरी ९८० जना श्रमिकलाई कोरिया उडाउने तय भइसकेको छ । त्यस्तै, तेस्रो र चौथो हप्ता गरी करिब ८०० श्रमिकलाई कोरिया उडाउने तयारी छ ।
FACEBOOK COMMENTS